close

पुरानो फोटो राखेर नागरिकता लिन लाइन लागेको भन्दै सामाजिक सञ्जालमा रवि लामिछाने प्रशंसा

टेकपाना टेकपाना

माघ १६, २०७९ ११:३२

पुरानो फोटो राखेर नागरिकता लिन लाइन लागेको भन्दै सामाजिक सञ्जालमा रवि लामिछाने प्रशंसा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा यतिबेला पूर्वगृहमन्त्री रवि लामिछाने लाइनमा लागेको फोटो भाइरल भइरहेको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका लामिछाने सेवाग्राही जस्तै लाममा लागेको भन्दै प्रशंसा हुन थालेको हो ।

त्यही फोटोलाई लिएर कतिपयले लामिछानेले स्टन्ट गरेको भन्दै आलोचना समेत गरेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लाम लागेको भनिए पनि उक्त फोटो वास्तवमा पुरानो हो ।

लाममा लागेको उक्त फोटोमा लामिछानेले सेतो शर्ट लगाएको देखिन्छ, जुन कुनै गर्मी यामको समयमा लिइएको फोटो हो । किन भने लामिछानेसँगै लाइनमा देखिने अन्य व्यक्तिले पनि टी-शर्ट लगाएका छन् ।

आइतबार भने लामिछानेले सोझै कार्यालयमा गइ आवश्यक प्रक्रिया पूरा गरी नागरिकता लिएका हुन् ।  त्यसक्रममा उनले खैरौ शर्ट र बाहिर आस्कोटमा लगाएका थिए र साथमा सुरक्षाकर्मी समेत रहेका थिए ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा लामिछानेको नयाँ भनिएको नागरिकता पनि भाइरल छ । सामाजिक सञ्जालमा भाइरल उक्त नागरिकतामा नाम, जन्म मिति, जन्मस्थान, बाबु आमाको नाम ब्लर गरिएको छ ।

तर नागरिकता नम्बर भने ब्लर गरिएको छैन । त्यसैलाई लामिछानेको आधिकारिक नयाँ नागरिकता भन्दै चर्चा भइरहेको छ ।

तर, वास्तवमा उक्त नागरिकता एडिट गरिएको नागरिकता हो । एडिटरले उक्त नागरिकताको नाम राम्रोसँग ब्लर गरेका छैनन् ।

जसमा सो नागरिकता शान्ति रहेको देखिन्छ । त्यस्तै भाइरल भएको उक्त फोटोको लिङ्ग केहीमा पुरुष राखिएको छ भने केहीमा एडिट नगरी महिला नै रहेको देख्न सकिन्छ ।

त्यसैलाई लिएर केही मानिसहरूले जिल्ला प्रशासन कार्यालयले गल्ती गरेको आरोप पनि लगाएका छन् । 

 

 

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ ११:३२