close

२४० वाटको फास्ट चार्जर ल्याउँदै रियलमी, केही मिनेटमै मोबाइल फुल चार्ज हुने

टेकपाना टेकपाना

माघ १६, २०७९ १५:३४

२४० वाटको फास्ट चार्जर ल्याउँदै रियलमी, केही मिनेटमै मोबाइल फुल चार्ज हुने

काठमाडौं । पछिल्ला केही वर्षदेखि स्मार्टफोन निर्माता कम्पनीहरू चार्जिङ स्पिड बढाउने दौडमा छन् । ६५ देखि १०० वाट हुँदै अहिले १५० वाट क्षमताका चार्जरहरू सार्वजनिक भइसकेका छन् ।

त्यति स्पिडको चार्जरले पनि नपुगेर चिनियाँ कम्पनी रियलमीले आगामी फोनका लागि यीभन्दा फास्ट चार्जर ल्याउने घोषणा गरेको छ । कम्पनीले सम्भवतः 'रियलमी जीटी नियो फाइभ' फोनका लागि २४० वाट चार्जिङ स्पिडको चार्जर उपलब्ध गराउनेछ ।

रियलमीका अनुसार टाइप-सी पोर्टले सपोर्ट गर्ने यो सबैभन्दा बढी स्पिड नै हो । तर चार्जरले फोन कति मिनेटमा फुल चार्ज गर्छ भन्ने कुरा कम्पनीले खुलाएको छैन । 

तर, अर्को कम्पनी ओप्पोले भने २४० वाटको फास्ट चार्जरले ४४०० एमएएच क्षमताको ब्याट्री भएको फोन जम्मा नौ मिनेटमा फुल चार्ज हुने दाबी गरेको छ । त्यसैले रियलमीको चार्जरले पनि फुल चार्ज गर्न यति नै समय लगाउनसक्ने अनुमान गरिएको छ ।​

यूएसबी स्टान्डर्ड बडी (यूएसबी आईएफ) ले पनि २४० वाट नै टाइप-सी इन्टरफेसमा उपलब्ध हुने उच्च स्पिड भएको जनाएको छ ।

''कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ ।

यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ, जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।

यसअघि रियलमीले २०२१  मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै  मिड-रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो ।

त्यस्तै २०२२ मा पनि रियलमी जीटी नियो थ्रीमार्फत मोबाइल उद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शतप्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो ।

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ १५:३४