close

ह्वावेलाई फोरजी, एआई, वाईफाई तथा क्लाउड प्रविधिमा समेत प्रतिबन्ध लगाउँदै अमेरिका

टेकपाना टेकपाना

माघ १७, २०७९ १२:२

ह्वावेलाई फोरजी, एआई, वाईफाई तथा क्लाउड प्रविधिमा समेत प्रतिबन्ध लगाउँदै अमेरिका

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ प्रविधि कम्पनी ह्वावेलाई फोरजी, एआई, वाईफाई तथा क्लाउड प्रविधिमा समेत प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले ह्वावेलाई फोरजी, एआई, वाईफाई तथा क्लाउड प्रविधिमा आवश्यक पर्ने सामान निर्यातका लागि आवश्यक अनुमतीमा रोक लगाउन लागेको हो ।

विगत केही वर्ष देखि ह्वावेले फाइभजीमा प्रतिबन्ध खेप्दै आएको छ । जसमा अमेरिकी कम्पनीले ह्वावेलाई फाइभजीका लागि आवश्यक कुनै पनि प्रविधि बिक्री गर्न पाउँदैनन् ।

यसका साथै ह्वावेले गुगलको कुनै पनि सेवा प्रयोगमा ल्याउन पाउँदैन । गुगलका साथै अन्य फाइभजी प्रविधिमा लागेको प्रतिबन्धका कारण विगत केही वर्षयता ह्वावेले आफ्नो बजार गुमाउँदै गएको छ ।

यसैबिच अब फोरजी लगायतका प्रविधिमा समेत ह्वावेलाइ प्रतिबन्ध लगाउने गरी नीतिगत व्यवस्था गर्ने तयारी भइरहेको बाइडेन प्रशासनका एकजना प्रतिनिधिले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनीहरूका अनुसार ह्वावेलाई फाइभजी लेवल, फोरजी, वाई–फाई सिक्स तथा सेभेन र एआई, उच्च क्षमताका कम्प्युटर तथा क्लाउड प्रविधिमा समेत प्रतिबन्ध लाग्नेछ । ह्वावेलाई थप कडाइ गर्ने बाइडेन प्रशासनको योजना अनुरूप यो प्रक्रिया अघि बढेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १२:२२