close

विद्यार्थी प्रोजेक्टः अन्डरग्राउन्ड पार्किङको समस्या हल गर्न 'स्मार्ट पार्किङ'

सञ्जीवन राई सञ्जीवन राई

माघ १८, २०७९ १६:४२

विद्यार्थी प्रोजेक्टः अन्डरग्राउन्ड पार्किङको समस्या हल गर्न 'स्मार्ट पार्किङ'

काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यमान समस्यामध्ये अव्यवस्थित पार्किङ पनि एक हो । याे समस्यालाई समाधान गर्न धेरैपटक प्रयास भए, तर अवस्था फेरिएन ।

अव्यवस्थित पार्किङलाई प्रविधिमार्फत सहजीकरण गर्न ललितपुरस्थित भिरिन्ची कलेजका विद्यार्थी निश्चल तामाङलाई एउटा आइडिया आयो । उनले साथीहरु सुजल ताम्राकार, अनिता न्यौपाने र सौरभ श्रेष्ठलाई आइडिया सुनाए ।

गफैगफमा उनीहरूले परियाेजना सुरु गर्ने अठाेट लिए । बीआईसीटी दोस्रो सेमेस्टर अध्ययनरत यी विद्यार्थीले एक महिना लगाएर ‘स्मार्ट पार्किङ’ को प्रोटोटाइप तयार पारेका छन् ।

भिरिन्ची कलेजमा हालै सम्पन्न आईसीटी मेलामा याे प्राेटाेटाइप प्रदर्शनीमा राखिएको थियो । अन्डरग्राउन्ड पार्किङलाई व्यवस्थित बनाउन सहयोग गर्नेगरी याे परियाेजना तयार पारेकाे तामाङले सुनाए ।

“काठमाडौंमा भएका अन्डरग्राउन्ड पार्किङहरुमा कति गाडी पार्किङमा छन् थाहा हुँदैन । त्यहाँ क्षमताभन्दा धेरै गाडी पार्किङमा राखिएको हुन्छ । यसो हुँदा दुर्घटना पनि हुनसक्छ,” उनले भने, “यिनै समस्याको समाधानस्वरुप ‘स्मार्ट पार्किङ’ को अवधारणामा काम गरेका छौँ । यस परियोजनामा कसरी पार्किङको समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा देखाइएकाे छ । पार्किङको समस्या समाधान गर्न सरकारले नै याे अवधारणा प्रयोग गर्नुपर्ने हुन्छ।” 

यस परियोजनामा ढोका बाहिर र भित्र गरी दुई सेन्सर प्रयोग गरिएकाे छ । ढोका बाहिरको सेन्सरले गाडी आए/नआएको पत्ता लगाउने र स्वत: ढोका खेल्ने परियाेजना टाेलीका सदस्य सुजल ताम्राकारले सुनाए । 

सो सेन्सरले कति ओटा गाडी भित्र गयो, कति बाहिर गयो भन्ने पनि मापन गर्ने उनले जानकारी दिए । तर अहिले यो परियोजनामा धेरै कमजोरी रहेको उनीहरू स्वीकार गर्छन् ।

“यो प्रोटोटाइपमा प्रयोग भएको सेन्सरले छायाँ र प्रकाश पहिचान गर्छ । त्यसैले कुनै पनि वस्तु आउनासाथ पार्किङका लागि ढोका खोलिदिन्छ,” तामाङ थप्छन्, “त्यस्तै गाडी कति समय पार्किङमा रह्यो भन्ने मापन हुँदैन । यी कुरामा सुधार गर्नुपर्ने छ,” ताम्राकारले भने ।

यस परियोजनाकी अर्की सदस्य अनिता न्यौपाने 'स्मार्ट पार्किङ' लाई थप परिमार्जनसहित लागू गर्न नसके पार्किङका धेरै समस्या कम हुनेमा आशावादी छिन् । “यो प्रोटाेटाइपमा भएको समस्या समाधान गरेर यसलाई बजारीकरण गर्न सक्छौं,” उनी भन्छिन्, “तर लगानी धेरै लाग्ने भएकाले हामी प्रोटोटाइपमा मात्र सीमित छाैंँ ।”

परियोजनाको तत्काल बजारीकरण गर्न नसके पनि यसमा भएका गल्तीहरु सुधार गरेर अझ राम्रो प्रोटोटाइप बनाउने यी विद्यार्थीहरूकाे याेजना छ ।

“परियोजनालाई वास्तविक जीवनमा प्रयोग गर्न अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसमा प्रयोग हुने प्रविधि बनाउँदा खर्च निकै लाग्छ,” निश्चल तामाङले भने, “आवश्यक लगानी पाए हामीले यस परियोजनालाई बिजनेसमा लान सक्छौँ । ”

स्मार्ट पार्किङलाई वास्तविक जीवनमा प्रयोग गर्न सके पार्किङ गर्ने कार्य व्यवस्थित हुने उनी सुनाउँछन् । यसले कम जनशक्तिमा पनि स्तरीय पार्किङ गर्न मद्दत गर्नसक्ने उनकाे भनाइ छ ।

अन्डर ग्राउन्ड पार्किङका लागि तयार पारिएकाे प्रोटोटाइपमा निश्चल तामाङले कोडिङ र सुजल ताम्राकारले एसेम्ब्लिङ (जडान) काे काम गरेका छन् । त्यस्तै अनिता न्यौपाने र सौरभ श्रेष्ठले डिजाइनिङमा काम गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १६:४९