close

मङ्गल ग्रह जाने एलन मस्कको परियोजना पैसाको बर्बादी मात्रै: बिल गेट्स

टेकपाना टेकपाना

माघ २१, २०७९ १४:४६

मङ्गल ग्रह जाने एलन मस्कको परियोजना पैसाको बर्बादी मात्रै: बिल गेट्स

काठमाडौँ । अर्बपति तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले स्पेसएक्सका मालिक एलन मस्कको मङ्गल ग्रहमा जाने परियोजना पैसाको बर्बादी मात्रै भएको तर्क गरेका छन् ।

हालै बीबीसीले लिएको अन्तर्वातामा गेट्सले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले मस्कलाई ‘महान दाता’ का रुपमा नलिएको भनाइ समेत राखे ।

बीबीसीले धनाढ्य दाताहरूको क्लबमा के मस्क सामेल हुनेछन् भन्ने प्रश्नमा उनले भने, “कुनै दिन मस्क महान दाता हुन सक्लान् । तर मङ्गल ग्रहमा जाने उद्देश्यले उनी आफ्नो पैसा दानमा खर्चेलान् जस्तो लाग्दैन ।”

उनले मङ्गल ग्रहमा जानका लागि पैसा खर्चनुभन्दा आवश्यकता परेको मान्छेलाई खोप उपलब्ध गराउनु बढी महत्त्वपूर्ण भएको बताए ।

“मंगलमा जान धेरै खर्चिलो छ । तर हजार डलर पर्ने दादुराको खोप किनेर कसैको जीवन बचाउन सकिन्छ,” उनले भने । यसअघि पनि गेट्स र मस्कबीच मतभेद भएको थियो ।

गेट्सले जलवायु परिवर्तन समाधानका लागि सहकार्यको कुरा राख्दा टेस्लाले जलवायु परिवर्तन समाधान गर्न सबैभन्दा बढी भूमिका खेलेको भन्दै मस्कले प्रस्ताव अस्वीकार गरेका थिए ।

मस्क आफ्नो कम्पनी स्पेसएक्सबाट मङ्गल ग्रहमा मावन सभ्यताको सुरुवात गर्न चाहन्छन् । उनको यो अन्तरिक्षप्रतिको यात्रालाई पछ्याउँदै अर्का अर्बपति जेफ बेजोस समेत ‘ब्लु ओरिजिन’ खडा गरेर जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ ११:३०