close

सिलिकन भ्यालीको साइबर सुरक्षा कम्पनी 'सेक्युरिटी पाल' को कार्यालय नेपालमा पनि

टेकपाना टेकपाना

फागुन १०, २०७९ १८:४१

सिलिकन भ्यालीको साइबर सुरक्षा कम्पनी 'सेक्युरिटी पाल' को कार्यालय नेपालमा पनि

काठमाडौं । नेपाली मूलका उद्यमी पुकारचन्द्र हमालले अमेरिकामा स्थापना गरेको साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालले नेपालबाट पनि औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीले आधुनिक सुविधासहितको 'सेक्युरिटी अपरेसन कमान्ड सेन्टर' मंगलबारदेखि काठमाडौंमा सञ्चालनमा आएको हो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले कम्पनीकाे कार्यालय उद्घाटन गरे । साे अवसरमा बाेल्दै राजदूत थम्प्सनले सेक्युरिटी पालजस्ता कम्पनीमार्फत नेपालका गतिशील उद्यमी तथा कम्पनीलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । 

कम्पनीले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा दुई करोड १० लाख अमेरिकी डलरको सिरिज 'ए' को लगानी घोषणा गरेको थियो । सोहीअन्तर्गत कमान्ड सेन्टर खाेलिएको कम्पनीले जानकारी दिएकाे छ । सेक्युरिटी पालमा हाल एप्टियो इंक, हाईहेल्लो इंक, मटेरियल सेक्युरिटी इंक लगायतका क्लाइन्ट छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका हमालले सिलिकन भ्यालीमा दुई वर्षअघि सेक्युरिटी पाल स्थापना गरेका थिए । नेपाली बजारमा पनि सेवा सरु गर्न पाउँदा उत्साहित रहेकाे उनले बताए ।

उनका अनुसार अनुभवी सुरक्षा विश्लेषकहरू आवद्ध कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज, फ्रेन्चलगायतका भाषामा समेत सेवा प्रवाह गरिरहेकाे छ । सेक्युरिटी पालले स्केलिङ कम्पनी र उद्यमहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीहरूको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्ने उनले उल्लेख गरे ।

कमान्ड सेन्टरले क्लाइन्ट कम्पनीका सुरक्षा कर्मचारीहरूलाई सहयोग गर्ने बताउँदै उनले ग्राहकहरूको सुरक्षासम्बन्धी आवश्यकता सेक्युरिटी पालले पूरा गरिदिएपछि क्लाइन्ट कम्पनीले आफ्नो मुख्य व्यवसाय सञ्चालनमा ध्यान पुर्‍याउनसक्ने उल्लेख गरे ।

हमालका अनुसार कम्पनीकाे सेवा सातै दिन, चाैबिसै घण्टा सञ्चालनमा रहनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १८:५६