close

कर्णाली प्रदेशका सबै जिल्लामा फाइबर इन्टरनेट पुर्‍याउँदै छौँ: वर्ल्डलिङ्क

टेकपाना टेकपाना

चैत १, २०७९ १७:१

कर्णाली प्रदेशका सबै जिल्लामा फाइबर इन्टरनेट पुर्‍याउँदै छौँ: वर्ल्डलिङ्क

जुम्ला । देशकाे ठूलाे इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले कर्णाली प्रदेशका सबै जिल्लामा फाइबर टु दी हाेम (एफटीटीएच) सेवा विस्तार गर्ने भएकाे छ । कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले कर्णालीमा फाइबर इन्टरनेट विस्तार गर्ने काम भइरहेकाे जानकारी दिएका हुन् ।

जुम्लामा बुधबारदेखि औपचारिक रुपमा सुरु भएको फाइबर इन्टरनेट सेवाको उद्घाटन कार्यक्रममा बोल्दै अग्रवालले जुम्लामा मात्र नभई कर्णाली प्रदेशका सबै जिल्लामा तीव्र गतिकाे फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने योजना ल्याएकाे सुनाए ।

"२७ वर्षदेखि हामीले यो क्षेत्रमा काम गरिरहेका छौं । वायरलेस इन्टरनेट सेवाबाट सुरु गरेर अहिले हामीले जुम्लामा फाइबर इन्टरनेट ल्याएका छौं," उनले भने, "यो सेवालाई कर्णालीभर पुर्‍याउने लक्ष्य छ ।"

कम्पनीले नाफाभन्दा पनि दुर्गम क्षेत्रको विकास चाहेका कारण फाइबर इन्टरनेट सेवा लाँदा जति नै महँगो परेपनि प्रतिफल नहेरी सेवा पुर्‍याउन तयार रहेको उनकाे भनाइ थियाे ।

जुम्लामा विगत पाँच वर्षदेखि वर्ल्डलिंकले वायरलेस इन्टरनेट सेवा दिइरहेको छ भने गत एक वर्षदेखि फाइबर इन्टरनेट सेवा दिन सुरु गरेको हो । करिब १५ करोड लगानीमा कम्पनीले २३५ किलोमिटरमा फाइबर बिछ्याएर जुम्लामा इन्टरनेट सेवा दिएको कम्पनीका जुम्ला शाखाका प्रबन्धक राम शाहीले बताए ।

"फाइबर ल्याउन सजिलो नभएपनि यस क्षेत्रमा तीव्र गतिकाे इन्टरनेट सेवा दिन सफल भएका छाैँ," उनले भने, "यसले गर्दा यहाँका जनता खुशी छन् । इन्टरनेटको शुल्क पनि पहिलेभन्दा सस्तो भएको छ । यसले उहाँहरूलाई राहत दिएको छ ।" 

हाल जुम्लामा फाइबर इन्टरनेटका ५०० भन्दा बढी ग्राहक रहेको र कम्पनीले आउँदो वर्ष यो संख्यालाई २५०० पुर्‍याउने लक्ष्य राखेको शाहीले बताए । कम्पनीले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) को लगानीमा देशका विकट स्थानमा इन्टरनेट पूर्वाधार निर्माण गर्ने काम गरिरहेको छ ।

इन्टरनेटको पहुँचले कुनै पनि ठाउँ विकास हुन मद्दत पुग्छ भन्ने विश्वासका साथ बीआईआईले वर्ल्डलिंकलाई लगानी दिएर यो काम अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए ।

सोही अवसरमा बोल्दै बीआईआईका दक्षिण एसिया प्रमुख श्रिनी नागराजनले भने, "हाम्रो लगानीले यहाँको कम्पनीको लागत कम गर्छ, जसले गर्दा ग्राहकका लागि सर्वसुलभ सेवा दिन मद्दत पुग्छ ।''

उनले अगाडि भने, "काठमाडौं उपत्यकाबाहिर सेवा दिनु भनेको धेरै मानिसहरू इन्टरनेटमा जोडिनु हो । यसले मानिसको उत्पादकत्त्व पनि बढाउँछ । यसैले हामीले वर्ल्डलिङ्कसँग धेरै नजिक रहेर काम गरिरहेका छौँ ।"दुर्गम स्थानमा गरिएकाे लगानीको प्रतिफल ढिला आउने भएपनि सो स्थानको विकासको लागि प्रतिफल कुर्न तयार भएको उनकाे भनाइ थियाे ।


 

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १७:२१