close

गुगल म्याप्सको विकल्पमा नेपालमै तयार भएको ‘गल्ली म्याप्स’

टेकपाना टेकपाना

चैत ४, २०७९ १४:१७

गुगल म्याप्सको विकल्पमा नेपालमै तयार भएको ‘गल्ली म्याप्स’

काठमाडौं । कुनै ठाउँ जानुअघि वा गइरहँदा गुगल म्याप्स हेर्नु सामान्य भइसकेको छ । तर गुगल म्याप्समा सहरका सबै गल्लीहरु देखिँदैनन् । यसकारण भनेकै ठाउँमा कतिपय अवस्थामा समस्या आइरहेको हुन्छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवा प्रयोग गर्दा यस्तो समस्या आउने गरेको छ ।

सहरी क्षेत्रमा म्याप हेर्दै भित्री गल्लीहरुमा जान निकै सकस छ । यही सकस हल गर्न विद्यालय तहदेखिका तीन साथी राज विक्रम महर्जन, जनम महर्जन र अशोन शाक्यले सुरु गरेका छन्, गल्ली म्याप्स

नेपालको आफ्नै म्याप बनाउन उनीहरू लागिपरेका छन् । नेपालका स्थानीय ठाउँहरूको लोकेसन हेर्न विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउने  उनीहरूकाे लक्ष्य छ । त्यस्तै ती ठाउँहरू पुग्न आफूले बनाएको म्यापलाई अझ 'एकुरेट' बनाउने उद्देश्य कम्पनीले लिएको छ ।

कसरी सुरु भयो गल्ली म्याप्स ?

राजविक्रम महर्जनले कोरोना महामारीका बेला आफ्नो घरमा अनलाइनबाट अक्सिमिटर मगाएका थिए । तर लोकेसनका कारण समयमा डेलिभरी भएन । डेलिभरी पाउन उनलाई गाह्रो भयो । 

“डेलिभरी गर्ने मान्छे लोकेसनमा छु भन्छ, तर घरि यता छु भन्छ, घरि उता । सामान पाउन धेरै समस्या भयो,” उनले उक्त क्षण सुनाउँदै भने, “त्यही आवश्यकताले गल्ली म्याप्सको अवधारणा जन्मिएको हो ।”

त्यसपछि उनले १५ वर्षदेखि चिनजान रहेका आफ्ना दुई साथीहरूलाई योजना सुनाए । याेजना अनुसार नै गल्ली म्याप्स बनाउन लागिपरे । गल्ली म्याप्समा राजविक्रम महर्जन म्यापिङका काम गर्छन् भने जनम महर्जन र अशोन शाक्य कोडिङको काम गर्छन् । 

हाल गल्ली म्याप्स परीक्षणकालमा नै छ । यसकारण अहिले यसको बेटा भर्सनको एन्ड्रोइड एपमात्र उपलब्ध छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एपमा कीर्तिपुर नगरपालिका, कागेश्वरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका घर नम्बरहरू उपलब्ध छन् । त्यस्तै रिङ्गरोड भित्रका ‍धेरै ठाउँहरू ३६० डिग्रीमा हेर्न सकिन्छ ।

एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरुलाई लोकेसन शेयर गर्न सक्छन् । यसले घर गर्दा कुनै नयाँ मान्छे गल्ली म्याप्स हेर्दै सो घरमा पुग्न सक्छन् । एपमा ड्रोन भ्यु र भित्री गल्लीहरुको सबै विवरण समेत रहेको छ ।

सुरुवाती चरणमा नै रहेको गल्ली म्याप्सको अहिले तीन ओटा कम्पनी ग्राहक रहेका छन् । गल्ली म्याप्सले ‘सफ्टवेयर एज अ सर्भिस’ (सास) स्वरुप आफ्नो म्याप्सको एपीआई ती कम्पनीहरुलाई उपलब्ध गराउँछ । 

तीन जनाबाट सुरु गरेको कम्पनीमा अहिले १५ जनाले काम गरिरहेका छन् । अहिले कम्पनीको मूल्याङ्कन चार करोड रुपैयाँ रहेको छ । 

शब्द- चित्रमा कम्पनी

कम्पनी: गल्ली म्याप्स प्रालि

सेवा क्षेत्रः एप/प्रोडक्ट

सुरुवाती लगानीः ५ लाख रुपैयाँ

मूल्याङ्कनः चार करोड रुपैयाँ

संस्थापक:  राज बिक्रम महर्जन, जनम महर्जन र अशोन शाक्य

सीईओ:  राज विक्रम महर्जन

स्थापना: सन् २०२०/५/६

ठेगाना: झटापोल बलिफल मार्ग, ललितपुर 

सम्पर्क: [email protected]

वेबसाइट: www.gallimaps.com

फोन:  ९८४७३३७८६५

संस्थागत ग्राहक सङ्ख्या: १५

सेवा: सफ्टवेयर एज अ सर्भिस

उत्पादन: म्याप्स एपीआई सर्भिसेस

यूएसपीः म्याप भित्र ३६० डिग्री भ्यु, ड्रोन म्याप, घर नम्बर र भित्री गल्लीहरुको पूर्ण विवरण

उद्देश्य तथा लक्ष्य: नेपाली म्यापलाई अझ सही (accurate) बनाउनु र विदेशी कम्पनीले बनाएको म्यापको निर्भरता हटाउनु

प्रत्यक्ष रोजगारी: १५ बढी

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १४:१७