close

यसकारण जोखिमपूर्ण छ कारमा भएको टचस्क्रिन फिचर

टेकपाना टेकपाना

चैत १२, २०७९ १५:३८

यसकारण जोखिमपूर्ण छ कारमा भएको टचस्क्रिन फिचर

काठमाडौं । अधिकांश नयाँ कारमा टचस्क्रिन इन्फोटेन्मेन्ट डिभाइस जडान गरिएको हुन्छ । इन्फोटेन्मेन्ट डिभाइस भनेको त्यस्तो डिभाइस हो जसमा मनोरञ्जनका सामग्रीका साथसाथै सूचना पनि समावेश हुन्छ । विशेषगरी मोबाइल वा ट्याबलेट जस्तो देखिने यस्तो डिभाइसमा प्रायः टचस्क्रिन फिचर हुन्छ ।

कारमा उपलब्ध हुने इन्फोटेन्मेन्ट डिभाइसमा जीपीएस नेभिगेसन, म्युजिक तथा अडियो प्लेब्याक, इन्टरनेट तथा ब्लुटुथ कनेक्टिभिटी लगायत अन्य सुविधाहरू उपलब्ध हुन्छन् । कतिपय डिभाइसलाई त टचस्क्रिनबाट नै कन्ट्रोल गर्न पनि सकिन्छ भने केहीमा बटनबाट कन्ट्रोल गर्नुपर्ने हुनसक्छ ।

इन्फोटेन्मेन्ट डिभाइसकै कारण पनि धेरैको रोजाइमा टचस्क्रिन सुविधा भएको कार पर्ने गरेको छ । तर के गाडीमा यस्तो टचस्क्रिन फिचर भएको इन्फोटेन्मेन्ट डिभाइस हुनु राम्रो कुरा हो ? 

सुरक्षाका दृष्टिकोणले गाडिमा टचस्क्रिन इन्फोटेन्मेन्ट डिभाइस हुनु राम्रो कुरा भने होइन । हुन त टचस्क्रिन डिस्प्ले हुनुले डिभाइस कन्ट्रोल गर्न वा मल्टिटास्किङ गर्न सहज बनाउँछ । तर, सुरक्षाका हिसाबले हेर्ने हो भने यसका थुप्रै बेफाइदा छन् ।

यहाँ हामी गाडीमा टचस्क्रिन इन्फोटेन्मेन्ट डिभाइस हुनुका बेफाइदा के के छन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।

१) चालकको ध्यान भड्किने सम्भावना धेरै हुन्छ

तपाईँको गाडीमा ठूलो तथा अत्याधुनिक सुविधा भएको इन्फोटेन्मेन्ट डिस्प्ले छ भने त्यसले गाडी चलाइरहँदा तपाईँको ध्यान भड्काउन सक्ने सम्भावना धेरै हुन्छ । विशेषगरी गाडीले पठाउने विभिन्न नोटिफिकेसनले तपाईँको ध्यान भङ्ग गर्न सक्छ ।

साथै तपाईँले गाडीमा आफ्नो फोन कनेक्ट गर्नु भएको हुनसक्छ । जसले गर्दा फोनमा आएका नोटिफिकेसन, कल वा मेसेजहरू सोही डिस्प्लेमा देखिन सक्छन् । यदि फोन गाडीमा कनेक्ट भएको छैन भने पनि सो डिभाइसले अन्य कुराको नोटिफिकेसन देखाइरहेको हुनसक्छ । यसरी डिस्प्लेमा देखिएको नोटिफिकेसनले गर्दा बाटोमा ध्यान केन्द्रित नहुँदा दुर्घटना हुने जोखिम उच्च हुन्छ ।

२) प्रयोग गर्न गाह्रो हुन्छ

केही टचस्क्रिन इन्फोटेन्मेन्ट डिभाइसको युजर इन्टरफेस त्यति सहज हुदैँन । विशेषगरी उपयुक्त युजर इन्टरफेस नहुनाले यस्तो डिभाइस प्रयोग गर्न गाह्रो हुने गरेको छ । यसले गर्दा गाडी चलाइरहेको बेला ड्राइभरलाई उक्त डिभाइस प्रयोग गर्न वा त्यसमा ध्यान केन्द्रित गर्न सकस पर्नसक्छ । अधिकांश कार निर्माता कम्पनीहरूले इन्फोटेन्मेन्ट डिभाइसमा बढी प्राथमिकता दिएका हुँदैनन् । यसले गर्दा पनि गाडी दुर्घटनामा पर्ने सम्भावना उच्च हुन्छ ।

३) ब्राइटनेस र भिजिबिलिटीमा समस्या

टचस्क्रिन इन्फोटेनमेन्ट डिभाइसको डिस्प्ले दिनको समयमा हेर्न गाह्रो हुनसक्छ । विशेषगरी चर्को घाम लागेको बेला उक्त डिभाइसको डिस्प्ले मधुरो देखिन सक्छ । यसले पनि ड्राइभ गरिरहेको बेला सो डिभाइस प्रयोग गर्न समस्या निम्त्याउँछ ।

४) कहिलेकाहीँ टचले काम नगर्न सक्छ

टचस्क्रिन इन्फोटेनमेन्ट डिभाइसको टच केही गरी बिग्रिएमा अन्य अप्सनबाट कन्ट्रोल गर्ने सुविधा हुँदैन । त्यस्तै कहिलेकाहीँ ड्राइभरलाई सो डिभाइसको टच बिग्रिएको थाहा नहुन पनि सक्छ । यस्तोमा आफूले गर्न खोजेको काम गर्न नपाउँदा ड्राइभर फ्रस्टेड हुनसक्छ । जसले गर्दा ड्राइभर विचलन भइ सम्भावित सुरक्षा जोखिम निम्तिन सक्छ ।

५) उच्च शुल्क

टच स्क्रिन इन्फोटेन्मेन्ट सिम्टम शुल्कका हिसाबले महँगो हुन्छ । यस्तोमा डिभाइस केही गरी बिग्रियो वा त्यसलाई बदल्नु पर्‍यो भने उक्त डिभाइसको शुल्क महँगो पर्न जान्छ । यो अतिरिक्त खर्च जस्तै हो । 

अधिकांश कार निर्माता कम्पनीहरूले ठूलो स्क्रिन भएका इन्फोटेन्मेन्ट डिभाइसलाई प्रोत्साहन गरिरहेको अवस्थामा यसका जोखिमहरू पनि देखा पर्न थालेका छन् । गाडी धनी र अधिकांश अटोमोटिभ पत्रकारले यो डिभाइससम्बन्धी नकारात्मक प्रतिक्रिया दिएका छन् ।

सन् २०२२ को अन्त्यतिर फक्सवागनले पुनः भौतिक बटन भएको इन्फोटेन्मेन्ट डिभाइस सार्वजनिक गरेको थियो । यो समस्याको समाधानका लागि भौतिक बटन राख्नु नै उपयुक्त विकल्प भने होइन ।

पछिल्लो समय प्रविधिको क्षेत्रमा उदायका अग्मेन्टेड रियालिटी भएको डिस्प्ले, एआईद्वारा सञ्चालित भ्वाइस असिस्टेन्ट, गेस्चर कन्ट्रोल तथा होलोग्राम जस्ता प्रविधिले इन्फोटेन्मेन्ट डिभाइसलाई सुरक्षित र प्रयोग गर्न सहज बनाउन सक्छन् । केही अत्याधुनिक सुविधा भएका गाडीमा यी प्रविधिको प्रयोग पनि बढ्न थालेको छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १५:३८