close

सरसफाइकर्मीको स्वास्थ्य सुरक्षा सम्बन्धी उत्कष्ट आइडिया दिनेलाई साढे ५२ लाख पुरस्कार

टेकपाना टेकपाना

चैत १४, २०७९ १३:५०

सरसफाइकर्मीको स्वास्थ्य सुरक्षा सम्बन्धी उत्कष्ट आइडिया दिनेलाई साढे ५२ लाख पुरस्कार

काठमाडौं । सरसफाइकर्मीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी प्रविधि विकास गर्न ह्याकाथन हुने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागको मुख्य आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सहआयोजनामा आउँदो अप्रिल २७ देखि २९ गतेसम्म हुने कार्यक्रममा सरसफाइकर्मीले भोगिरहेका समस्या प्रविधिबाट सम्बन्धन गर्न प्रयास गरिने बताइएकाे छ ।

ह्याकाथनमा एसियाली विकास बैंकको आर्थिक सहयोग रहेकाे छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रका सरसफाइकर्मीहरूको स्वास्थ्य अवस्थालाई प्रविधिको सहयोगबाट सम्बन्धन गर्न ह्याकाथन गर्न लागिएकाे आयोजक प्रतिनिधि ई. शंकर ढकालले जानकारी दिए ।

इच्छुक स्टार्टअप कम्पनी वा समूहले अप्रिल ८ सम्म आफ्नो आइडियासहित आवेदन दिनुपर्ने छ । कार्यक्रमबाट ‘उत्कृष्ट इनोभेटिभ टेक स्टार्टटप कम्पनी’ को खोजी गरिने उनकाे भनाइ छ, जसअन्तर्गत सरसफाइकर्मीहरूका लागि प्रविधि विकास गरिने उनले बताए ।

“हामीले त्यहाँ कस्ता कस्ता प्रकृतिको काम हुन्छ, कसरी काम भइरहेको छ, उहाँहरूको अवस्था कस्तो छ, कस्ता औजार प्रयोग गरिरहनु भएको छ, पीपी लगाउनु भएको छ/छैन? मास्क लगाउनु भएको छ/छैन? जस्ता विषयमा अध्ययन गरिरहेका छौँ,” उनले भने, “अध्ययन गर्दा उहाँहरूको स्वास्थ्य अवस्था र सम्मानको अवस्था एकदमै नाजुक भएको पायौँ । त्यही कुरालाई प्रविधिले सम्बोधन गर्न ह्याकाथन आयोजना गर्न लागेका हौँ ।”

यस ह्याकाथनमा कुनै पनि स्टार्टअप कम्पनी वा नवप्रवर्तनमा काम गर्ने स्टार्टअप/समूह सहभागी हुन सक्नेछन् । ह्याकाथनको पहिलो चरणमा सरसफाइकर्मीहरूकाे समस्यालाई समाधान गर्ने नवप्रवर्तन विचार भएको समहूलाई छनाेट गरी सबैलाई मोडेल बनाउन ५०० डलर बराबरको सहयोग रकम प्रदान गरिनेछ ।

त्यस्तै दोस्रो चरणमा उनीहरू सबैले आफ्नो विचार प्रस्तुत गर्नेछन् । त्यसपछि व्यापार, प्रविधि लगायतका क्षेत्रका विज्ञ सम्मिलित निर्णायक मण्डलले एक समूहलाई विजेता चयन गर्नेछ । विजेताले प्रविधि विकासमा सहयोग गर्दै त्यसको बजारीकरण गर्न ४० हजार डलर (५२ लाख रुपैयाँ बढी) बराबरको आर्थिक सहायता पाउनेछन् ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १३:१५