close

१४ लाखको लेन्स बोक्ने फोटोग्राफर

सञ्जीवन राई सञ्जीवन राई

चैत १४, २०७९ १५:५३

१४ लाखको लेन्स बोक्ने फोटोग्राफर

काठमाडौं । लक्ष्मीप्रसाद ङाखुसी नेपालका एक चर्चित फाेटाेग्राफर हुन् । धेरैले उनलाई ‘कल्चर फोटोग्राफर’ का रूपमा चिन्छन् ।

ल्यान्डस्केप र पोट्रेट फोटोग्राफीमा पनि उनको क्यामेरा त्यसरी नै चल्छ, जसरी कुनै संस्कृति झल्काउने बेला उनले आफ्नो उत्कृष्टता देखाउँछन् ।

ङाखुसीले नेपालमा मनाइने तीन सयभन्दा बढी पर्वलाई फोटोग्राफीमार्फत डकुमेन्टेसन गरिसकेका छन् । 

पहिलो क्यामेरा 

ललितपुर निवासी ङाखुसी मध्यम आय भएको परिवारमा जन्मे/हुर्के । बुवा डकर्मीको काम गर्थे । मध्यम आय भएका कारण घरको खर्च धान्न उनी पनि बुवाजस्तै डकर्मी काम गर्न जान्थे ।

बचतमा विश्वास गर्ने ङाखुसीले  दिनको ७० रुपैयाँ ज्यालामा काम गर्दा पनि आफ्नो कमाइलाई बचत गर्न सिकेका थिए ।

यसरी बचत गरेको पैसाले उनी आफ्नो क्याम्पसको शुल्क तिर्थे । त्यो समयमा उनी ललितकला क्याम्पसमा अध्ययनरत थिए । यसरी उनले पैसा जम्मा गरेर नै आफ्नो पहिलो फिल्म क्यामेरा (रिलबाट फोटो खिच्ने) खरिद गरेका थिए । 

“मैले ९०० रुपैयाँमा आफ्नो पहिलो क्यामेरा किनेँ । त्यसबेला ५०/७० रुपैयाँमा रिल पाउँथ्यो । त्यसबाट ३६ ओटा फोटो खिच्न मिल्थ्यो । तीमध्ये धेरै फोटो बिग्रेका हुन्थे,” उनी पुराना दिनहरु सम्झन्छन्, “त्यसलाई डेभलप गर्नुपर्ने हुन्थ्यो । त्यसबेला एउटा फोटो प्रिन्ट गर्न चार/पाँच रुपैयाँ लाग्थ्यो । अनि म आफूले खिचेको फोटो प्रिन्ट गरेर त्यसलाई हेर्दै चित्र बनाउथेँ ।” 

फोटोग्राफी र चित्रकला

खासमा आफू फोटोग्राफर बन्नुमा चित्रकलाले ठूलो भूमिका खेलेको उनी सुनाउँछन् । चित्र बनाउनकै लागि उनी फोटो खिच्न निस्कन्थे । कतै गएर त्यहाँको फोटो खिच्ने, अनि उक्त फोटोलाई चित्रमा उतार्ने उनको काम थियो । त्यस्तै उनी त्यो समयमा तेक्वान्दो लगायतका अन्य खेल पनि खेल्ने गर्थे ।

कहिलेकाहीँ उनी आफ्ना साथीहरुले ती खेल खेल्दै गरेको फोटो खिच्थे । त्यसबाट पनि आफूले केही कमाइ गरेको उनी सम्झन्छन् । यसरी नै आफ्नो चित्रकलालाई धान्न फोटो खिच्न सुरु गरेका ङाखुसीलाई विस्तारै फोटोग्राफीमा मन बस्न थाल्याे ।

यही क्रममा समय अघि बढ्दै गयो र उनी रिल क्यामेराबाट डिजिटलमा अपग्रेड भए ।

“विस्तारै डिजिटल फोटोग्राफीमा रुचि बढ्दै गयो,” विगत सम्झिदै उनी भन्छन्, “त्यो हुँदा हुँदै अहिले क्यानन (क्यामेरा कम्पनी) को उत्कृष्ट क्यामेरा चलाउन सक्ने भएको छु ।” 

१२ लाखको क्यामेरा

ङाखुसी पछिल्लो छ/सात वर्षदेखि क्याननको ‘वान डी एक्स मार्क टु’ (1D X mark II) प्रयोग गरिरहेका छन् । उनीसँग यो क्यामेराको अर्को मोडेल आरथ्री (R3) पनि छ ।

हालै मात्र उनले करिब १२ लाख रुपैयाँमा यो क्यामेरा र  ‘२८-७० एफ टु’ (27-70 F2) लेन्स खरिद गरेका छन् । योसँगै उनले आफूले प्रयोग गरेका सबैजस्तो क्यामेरा सङ्कलन गरेर राखेका छन् ।

लेन्स

उनीसँग क्यामेराका थुप्रै लेन्स छन् । तर उनी बढीजसो क्याननको ‘३०० एमएम एफ २.०’ र ‘८०० एमएम’को लेन्स प्रयोग गर्छन् । उनले ३०० एमएमको लेन्स किनेको तीन वर्ष बढी भइसकेको छ । उनले त्यसलाई आफ्नो दोस्रो लेन्सका रुपमा प्रयोग गर्ने गरेका छन् । त्यस लेन्सको मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । 

उनले बढी प्रयोग गर्ने लेन्स ८०० एमएमको हो । यसको मूल्य करिब १४ लाख रुपैयाँ छ । यस्ता लेन्स विशेष प्रकारका हुने भएका कारण नेपालमा थोरैले मात्र बाेक्ने गरेकाे उनी बताउँछन् । 

“यस्तो लेन्स धेरैले प्रयोग गर्दैनन् । यी विशेष खालका लेन्स हुन् । धेरैले यी लेन्सलाई स्पोर्ट्स र वाइल्ड लाइफ फोटोग्राफीका लागि प्रयोग गर्छन्,” उनी अगाडि भन्छन्, “तर मैले चैं कल्चर र पोट्रेट फोटोग्राफीका लागि प्रयोग गर्छु ।”

ल्यान्डस्केप र ब्याकग्राउण्डमा अलि भिन्न शटहरु राखेर फोटो खिच्नलाई लेन्समा लगानी गरेको उनी सुनाउँछन् ।

“हुन त पोट्रेटका लागि धेरैले ७० एमएम प्रयोग गर्ने गर्छन् । तर अनुहार नजिकै गएर खिच्दा मान्छेहरुको एक्सप्रेसन परिवर्तन हुन्छ,” उनी थप्छन्, “यसैले टाढैबाट खिच्न र ‘डेप्थ अफ फिल्ड’ दिन धेरै एमएम भएकाे लेन्स प्रयोग गर्छु ।” 

मोबाइल फोटोग्राफी

महँगा डिभाइसहरु हुँदाहुँदै पनि उनी मोबाइल फोटोग्राफीबाट राम्रो काम गर्न सकिने बताउँछन् । आफूले पनि केही परियोजनामा मोबाइल फोटोग्राफी गरेको उनी सुनाउँछन् ।

“हुम्लामा पाँच दिनमा सक्नुपर्ने एउटा प्रोजेक्ट थियो । मैले दुईओटा क्यामेरा बोकेको थिएँ । एउटामा कार्ड र अर्कोमा क्यामेराको समस्या आयो,” उनी भन्छन्, “तर अझै दुई दिनको काम बाँकी नै थियो । त्यहाँ काठमाडौंबाट क्यामेरा मगाउने कुरा सम्भव थिएन । अनि मैले आईफोनबाटै फोटो खिचेर काम सकेको थिएँ ।” 

फोटोको बजार

उनले आफ्नो काम प्राय: जसो सामाजिक सञ्जालमा राख्ने गर्छन् । त्यहाँबाट उनले खिचेका केही फोटो बिक्रीसमेत भएका छन् ।

“अहिले म टिकटकमा मैले खिचेका फोटोको प्रिन्ट उपलब्ध छ भनेर भिडिओ राख्छु,” उनी थप्छन्, “त्यसरी राखेर बिक्री पनि भइरहेको छ । कसैले घरमा राख्छन्  । कसै होटलमा राख्छन् ।” 

योसँगै वेबसाइट र युट्युबमा पनि उनले आफ्ना काम राख्ने गर्छन् । त्यसो त उनले आफ्नो कामको विभिन्न प्रदर्शनीसमेत गर्ने गरेका छन् ।

“मेरो जो जतिसँग भेट हुन्छ, उहाँहरूलाई मसँग यस्तो फोटो छ, यस्तो गर्छु भनेर जानकारी दिन्छु,” उनी भन्छन्, “त्यसरी पनि मैले मेरो बजार विस्तार गरिरहेको हुन्छु ।”

ज्यानभन्दा फोटोको माया !

फोटोग्राफी सुन्दा र देख्दा सामान्य लागेपनि यो आफैंमा जटिल काम हो । कहिलेकाहीँ फोटोग्राफीका दौरान धेरै चुनौती आइपर्छन् । उनीसँग पनि यस्ता थुप्रै अुनुभव छन्, जहाँ उनले आफ्नो ज्यान नै जोखिममा राख्नुपरेको थियो । यद्यपि उनका लागि ज्यानभन्दा फोटो प्यारो छ । 

उनी प्राय: यात्रामा एउटा क्यामेरालाई बाहिरै बोकेर हिँड्ने गर्छन् । जति बेला जे पनि हुनसक्ने भएकाले क्यामेरालाई उनले पहिल्यै तयारी अवस्थामा राख्छन् ।

एकपटक उनी एउटा कुम्भ मेलाको फोटो खिच्न भारत गएका थिए । मेला हुने ठाउँमा साढे १ बजेतिर उनी चढेको प्लेन ल्यान्ड भयो । तर वर्षाका कारण प्लेन चिप्लियर रनवेबाट २२ मिटर पर गयो । त्यसबेला पनि उनी फोटो नै खिचिरहेका थिए । त्यो बेलामा उनले खिचेको फोटो ‘इन्डिया टुडे’ले आफ्नो पहिलो पृष्ठमा प्रकाशन गरेको थियो ।

त्यति मात्र होइन, बारा जिल्लामा प्रत्येक वर्ष हुने गढिमाई मेलामा फोटो खिच्न प्रतिबन्ध भएको समयमा पनि उनले फोटो खिच्न भ्याए । १४ वर्षअघि पहिलो पटक गढिमाई मेलामा फोटो खिच्न जाँदा त्यहाँ कसैलाई पनि फोटो खिच्न दिइएको थिएन । केहीले लुकीलुकी खिचिरहेका थिए ।

उनलाई आफू ‘फेस्टिभल फोटोग्राफर’ भएकाले जसरी पनि खिच्नुपर्छ भन्ने लागेको थियो । यो कुराले गर्दा उनले त्यहाँको दृश्य खिच्ने अठोट गरे । यसका लागि आफूले लगाइरहेको ज्याकेटभित्र क्यामेरा लुकाएर करिब ८ फिट अग्लो पर्खाल चढे । पर्खालपारी प्रहरीको समूह तैनाथ थियो भने  करिब ७० जना खुँडा/तरबार लिएर राँगो काट्न तयार थिए । 

“एकैचोटी त कोही पनि पिट्न आउँदैनन् भन्ने लागेर मैलै फोटो खिच्न सुरु गरे,” उनले भने, “एउटा फोटो खिच्दासम्म कसैले केही भनेनन् । फेरि अर्को फोटो खिचेँ, कसैले केही भनेनन् । त्यसपछि विस्तारै आरामले फोटो खिचेँ ।”

उनले त्यहाँ खिचेका फोटोहरुलाई अन्तर्राष्ट्रिय मिडियाले समेत स्थान दिएका थिए ।

लकडाउन फोटोग्राफी 

काेराेना महामारीकाे समयमा सरकारले लकडाउन घाेषणा गर्‍याे । ङाखुसीका लागि भने याे छुट्टीको समय थिएन । उल्टै उनले यो समयमा झन् धेरै काम गर्नुपर्‍यो ।

त्यसबेला मौसम निकै सफा हुने गरेको थियो । सडक प्राय: खाली हुन्थ्यो । उनले यो कुराको फाइदा उठाए ।

उनले काठमाडौंबाट देखिने हिमालहरूको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे । तर धेरैले ती फोटोलाई पत्याएनन् । उनीहरुले ती फोटोहरु झुटो भएको दाबी गरे ।

“धेरैले यस्तो पनि हुन्छ ? यो नक्कली हो भने,” त्याे क्षण सम्झिदै उनी भन्छन्, “तर दिग्गज फोटोग्राफरले “यो सत्य हो, मौसम खुलेको बेला ती तस्वीरहरु खिचेका हुन्’ भनेपछि बल्ल उनीहरूले पत्याएका थिए ।”

यसका साथै कोरोना महामारीका बेलामा उनले रित्ता सडक र मन्दिरहरूको तस्वीर खिचे । त्यस्तो समय फेरि आउन नसक्ने उनकाे बुझाइ छ । 

“लकडाउनका बेलामा म कुनै पनि दिन घरमा थुनिएर बसिनँ । जोखिम उठाएरै एउटा मास्कलाई ४०० रुपैयाँ तिरेर फोटो खिच्न निस्केँ,” उनी अगाडि भन्छन्, “धेरैजसो फोटोपत्रकार कोहीलाई कोभिड लागेको, उपचार गरेको जस्ता फोटो खिचिरहेका थिए । म चैं रित्ता सडक, रित्ता मन्दिरहरूको फोटो खिच्न निस्केँ । कोरोनाका बेलामा मेरो काम नै त्यही थियो ।” 

अर्काइभ

उनी कुशल फोटोग्राफर मात्र होइनन्, कुशल अर्काइभकर्ता पनि हुन् । उनले आफ्नो फोटोग्राफीको सुरुवाती कामहरु सबै अर्काइभ गरेका छन् । स्टोरेजका लागि बनेका विविध प्रविधिहरूलाई उनले भरपुर प्रयोग गरेका छन् ।

रिल, सीडी, फ्लपी डिस्क आदि सबै प्रयोग गरेका छन् ।  “अहिले डिजिटल रुपमा अर्काइभ गरिरहेको छु,” उनी आफ्ना हार्ड डिस्कहरु देखाउँदै भन्छन्, “मलाई लाग्छ यी सबैमा ८० टेराबाइट जतिका फोटा होलान् ।” 

योसँगै आफूले क्लाउड प्रविधिमा राम्रा फोटोहरुको पनि अर्काइभ गर्न थालेको उनी सुनाउँछन् ।

फोटोग्राफीको भविष्य

आफ्नो कामका आधारमा उनी फोटोग्राफीमा लाग्नेहरूको भविष्य उज्ज्वल हुने बताउँछन् । अहिले उनले नेपालमा मनाइने ३०० भन्दा धेरै चाडपर्वहरूको फोटो खिचिरहेका छन् । उनले खिचेका फोटोहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रकाशन भएका छन् । 

उनी ऐतिहासिक ठाउँहरुको पनि फोटो खिचिरहेका हुन्छन् । विभिन्न ल्यान्डस्केपको फोटो खिचिरहेका हुन्छन् । यी कुराको महत्त्व बढिरहने भएकाले आफूले त्यस प्रकारका फोटोग्राफी गर्ने गरेको उनी सुनाउँछन् ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १८:५२