close

सर्च इन्जिनमा एआई बट समावेश गर्दै गुगल

टेकपाना टेकपाना

चैत २६, २०७९ १२:५८

सर्च इन्जिनमा एआई बट समावेश गर्दै गुगल

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) टुल समावेश गर्ने भएको छ । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले  'द वाल स्ट्रिट जर्नल' अन्तर्वार्ता दिँदै गुगलको सर्च इन्जिनमा एआई टुल उपलब्ध हुने बताएका हुन् । 

प्रयोगकर्ताले सोझै गुगलको सर्चबारबाट एआई च्याटबट प्रयोग गर्न सक्ने भन्दै कम्पनीले यस्तो सुविधा ल्याउन लागेको उनले बताए । 

गुगलले दुई साताअघि एआईलाई आफ्नो सर्च इन्जिनमा इन्ट्रिगेट (एकिकृत) गर्ने सङ्केत दिएको थियो । यसका माध्यमबाट सोझै ओपन एआईको च्याटजीपीटी जस्तै गुगलको बार्डमा प्रयोगकर्ताले पहुँच पाउन सक्ने गुगलले बताएको थियो । 

संसारको सबैभन्दा बढी ट्राफिक भएको सर्च इन्जिन गुगलबाट अहिले केही कुरा सर्च गर्‍यो भने सामग्रीहरू लिङ्कका रूपमा आउँछन् । जसलाई मानिसहरूले सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गरिरहेका छन् ।

अब एआई बट गुगल सर्चमा ल्याइ सकेपछि लिङ्कका साथसाथै तपाईँले सोधेका प्रश्नको सटीक जवाफ पनि देखिने कम्पनीको भनाइ छ । 

यसो त 'बार्ड' नै सबै प्रयोगकर्तामाझ उपलब्ध भइसकेको छैन । यस्तो अवस्थामा 'गुगल सर्च'मा एआई च्याटबट प्रणाली कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा भने पिचाईले केही बताएका छैनन् ।

च्याजीपीटीको चर्चासँगै गुगलले गत फेब्रुअरीमा आफ्नो एआई च्याटबट 'बार्ड' सार्वजनिक गरेको थियो । मानिसकै शैलीमा प्रश्नको जवाफ दिनसक्ने च्याटबटले त्यसबाहेक पनि प्रोग्रामिङ कोड तयार पार्ने, कथा, कविता वा अन्य विधाका लेख लेख्न सक्छ । 

कम्पनीको यही विशेषताले पनि सार्वजनिक भएको दुई महिनामै च्याटजीपीटीका मासिक १० करोड सक्रिय प्रयोगकर्ता बनेका थिए । जसले गर्दा च्याटजीपीटी छोटो समयमा सबैभन्दा बढी सक्रिय प्रयोगकर्ता पाउने वेब प्लेटफर्म बनेको थियो ।

पछिल्लो समय गुगलले एआई टुललाई आफ्ना विभिन्न प्लेटफर्ममा परीक्षण गरिरहेको छ । डक्स तथा जिमेल जस्ता प्लेटफर्ममा कम्पनिले एआई च्याटबट उपलब्ध गराइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १२:५८