close

एसीसी प्रिमियर कपका मुख्य प्रायोजक नै प्रतिबन्धित अनलाइन बेटिङ साइट, मुकदर्शक नेपाल सरकार

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख ५, २०८० १९:५२

एसीसी प्रिमियर कपका मुख्य प्रायोजक नै प्रतिबन्धित अनलाइन बेटिङ साइट, मुकदर्शक नेपाल सरकार

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजीको खुलेयाम प्रचार हुन थालेको छ । मङ्गलबारदेखि काठमाडौंमा सुरु भएको एसीसी प्रिमियर क्रिकेट प्रतियोगितामा बेटिङ साइट वनएक्स बेट, डाफा बेट र स्काई एक्सचेञ्ज प्रमुख प्रायोजकको रुपमा ‘सरोगेसी’ विज्ञापनमा जुटेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले वनएक्स बेटको साइटमाथि नेपालमा प्रतिबन्ध लगाएको छ । यसको अर्थ नेपालमा सामान्य तरिकाले वनएक्स बेटको साइटमा पुग्न सकिँदैन । यद्यपि भीपीएन लगायतका उपायबाट वनएक्स बेटिङमार्फत सट्टेबाजीमा संलग्न हुने नेपालीहरूको सङ्ख्या ठूलै भएको अनुमान छ ।  

अझ  डाफा बेट तथा स्काई एक्सचेन्जमा भने कुनै रोकटोक नै छैन । जसले गर्दा प्रयोगकर्ताहरू सहजै यस्ता प्लेटफर्ममा गएर बेटिङमा संलग्न हुन सक्छन् ।

त्यसो त पछिल्लो समय नेपालसहितका कतिपय देशमा हुने खेल प्रतियोगितामा आर्थिक सहायता दिने अधिकांश विदेशी विज्ञापनदाताको पृष्ठभूमि अनलाइन बेटिङ (सट्टेबाजी) सँग जोडिएको छ । वनएक्सब्याट, डाफान्युज, स्काई एक्स्चको पृष्ठभूमि अनलाइन सट्टेबाजीसँग जोडिएको देखिन्छ ।

तीन ओटै प्रमुख विज्ञापनदाताले आफूलाई न्युज पोर्टल भएको दाबी गरेका छन् । तर यी साइटहरूको माध्यमबाट सट्टेबाजीमा संलग्न गराइन्छ ।

त्यसो त यी कम्पनीले प्रत्यक्ष रूपमा बेटिङ प्लेटफर्मको रुपमा आफ्नो प्रचार नगरेको जस्तो देखाएका छन् । तर अप्रत्यक्ष रूपमा भने यी माध्यमहरू बेटिङमै संलग्न भएका तमाम् तथ्यहरू भेटिएका छन् । 

हालसालै पाकिस्तानमा भइरहेको पीएसएलमा पनि यस्तै घटना घटेको थियो । डाफाबेटले सहायक कम्पनी डाफा न्युजको प्रयोग गरी आफ्नो प्रमुख व्यवसायको प्रवर्द्धन गरेको भन्दै पाकिस्तानी सरकारले विज्ञापन विभागलाई त्यस्ता विज्ञापन हटाउन चेतावनी दिइएको थियो । 

हुन त बेटिङ साइटमाथि विभिन्न राष्ट्रहरूले प्रतिबन्ध लगाउन सक्छन् । यस्तोमा प्रतिबन्ध लगाउने मुलुकबाट त्यस्ता बेटिङ साइटमा सट्टेबाजी गर्न नसकिने कतिपयको तर्क हुन सक्छ । तर, यस्ता विज्ञापनले अप्रत्यक्ष रूपमा देशको इज्जतमा आँच आउने काम गरेको भन्दै पाकिस्तानी नियामकले विज्ञापन हटाउन निर्देशन दिएको थियो । 

बेटिङ कम्पनीहरू यति धेरै प्रभावशाली हुँदै गएका छन् कि कतिपय खेलहरूमा ‘स्पट फिक्सिङ’ समेत गराउन सक्छन् । 

क्रिकेट सङ्घ नेपाल (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले जारी क्रिकेट प्रतियोगिता एसीसीले आयोजना गरेको बताए । उनका अनुसार सम्पूर्ण विज्ञापनको बन्दोबस्त समेत एसीसीले नै मिलाएको हो ।

यद्यपि डाफान्युज, स्काई एक्सचेन्ज तथा वनएक्सब्याट ‘सरोगेट’ कम्पनी भएकाले नेपालमा यस्ता कुरा प्रतिबन्ध नभएको पाठकको तर्क  छ । यसमा क्यानको कुनै संलग्नता नभएको र खेल एसीसीले आयोजना गरेकाले विज्ञापन पनि उनीहरूले नै व्यवस्था गरेको उनले बताए ।

"यसमा हाम्रो कुनै संलग्नता छैन । यो एसीसीले नै आयोजना गरेको हो," पाठकले भने, "एसीसीले सोझै आयोजना गरेकाले यी प्रायोजकका विज्ञापन उनीहरूले नै ल्याएका हुन् । सरोगेट भएकाले नेपालमा पनि गैरकानूनी भन्न मिल्दैन ।"

नेपालमा यस्ता प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको भए एसीसीले यस्ता प्लेटफर्मको विज्ञापन नै नगर्ने उनले दाबी गरे । कानूनी भएरै त्यस्ता विज्ञापन राखिएको उनको तर्क छ ।

पाठकले भने, “नेपालमा नपाउने भए एसीसीले किन ल्याउँथ्यो र ? नेपालमा पाउने भएरै त ल्याएको हो नि । वनएक्स ब्याट खेलाडीका लागि सरसामान बनाउने कम्पनी हो । अर्को कुरा यो सरोगेट कम्पनी हो ।"

दुबई, भारत, पाकिस्तान, ओमान लगायत विभिन्न खाडी मुलुकमा यिनै कम्पनीले प्रायोजन गरिरहेको सन्दर्भमा नेपालमा पनि यस्ता कम्पनीको विज्ञापन हुनु सामान्य भएको उनले सुनाए । उनले अगाडि भने, "अब हाम्रोमा मिल्दैन भन्ने कुरा हुँदैन । मुख्य कम्पनीलाई प्रतिबन्ध लगाए पनि ‘सरोगेसी’ कम्पनीलाई नेपालले प्रतिबन्ध लगाएको छैन ।"

डाफा न्युजले आफ्नै प्लेटफर्मबाट सट्टेबाजी खेलाइरहेको घटनाबारे चर्चा गर्दै पाठकले भने, "यो कम्पनीले दुबईमा हुने खेललाई पनि स्पोन्सर गरेको हुन्छ । दुबई जस्तो देशमा पनि यसले अनुमति पाएको छ । दुबईभन्दा कडा कानून त कतै पनि छैन । यो बेटिङ हुँदो हो त कतै पनि यसलाई प्रोत्साहन मिल्दैनथ्यो ।"

त्यसो त नेपालमा आयोजित क्रिकेट प्रतियोगितामा बेटिङसँग सम्बन्धित कम्पनीको विज्ञापन गरिएको यो नै पहिलो घटना भने होइन । यसअघि भएका विभिन्न लिगहरूमा बेटिङसँग जोडिएका कम्पनीहरूले विज्ञापन दिँदै आएका छन् । 

नेपालका लागि अहिले थपिएको स्काई एक्सचेन्ज भने सरोगेट एड्भटाइजिङ मार्फत बेटिङ प्रोत्साहन गर्ने नयाँ कम्पनी हो ।

नेपालमा जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, "कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।"

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ ।

तर, कानूनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टेबाजीको ‘सरोगेट एडभटाइजिङ’ भइरहेको छ । स्पष्ट कानूनको अभावमा यस्ता गतिविधिलाई नियमन गर्न नसकिएको विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमको भनाई छ ।

"सरोगेट एड्भटाइजिङ हाम्रो कानुनले चिन्दैन," गौतमले भने, "कानूनमा कही कतै ‘सरोगेट एड्भटाइजिङ’को बारेमा उल्लेख छैन । त्यसैले यो विषयमा सबै मौन छन् ।"

प्रस्ट देखिने गरी बेटिङलाई प्रशय दिएको छ भने सम्बन्धित निकायसँग स्पष्टीकरण सोध्न सकिने उनको भनाई छ ।

 

अनुसन्धानको तयारीमा प्रहरी

कानूनले जुवा खेल्ने वा खेलाउने सबै कार्यमाथि प्रतिबन्ध लगाएको छ । साथै यस्ता कार्यको विज्ञापन गर्न पनि नपाइने व्यवस्था छ । 

यसरी अप्रत्यक्ष रूपमा विज्ञापन भइरहेको विषयमा अनुसन्धान गर्नु आवश्यक रहेको केन्द्रिय प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डीआईजी दीपेन्द्र जीसीले बताए । "यस बारे हामी सम्बन्धित निकायलाई खबर गर्न लगाएर तत्कालै अनुसन्धान अगाडि बढाउँछौं," उनले भने । 

 

के हो सरोगेट एड्भटाइजिङ ?

सरोगेट एड्भटाइजिङ बजारीकरण गर्ने त्यस्तो तरिका हो, जहाँ कम्पनी आफ्ना उत्पादनको विज्ञापन गर्दैन । तर, कम्पनीको नाम वा फोटो राखेर त्यसलाई मात्र प्रचार गर्छ ।

विशेष गरी सोही नामसँग मिल्दोजुल्दो नामको अर्को कम्पनी सञ्चालन वा उत्पादन निर्माण गरेर सरोगेट एड्भटाइजिङ गर्ने प्रवृत्ति बढ्दो छ । उदाहरणका लागि मान्नुस् एउटा कखग अल्कोहल कम्पनीको मुख्य उत्पादन मदिरा जन्य पदार्थ हो ।

उक्त कम्पनीले सरोगेट एड्भटाइजिङमार्फत आफ्नो मदिराजन्य पदार्थको विज्ञापनका लागि कखग मिनरल वाटर वा सोडा नाम राख्छ । यसरी कखग मिनरल वाटरको प्रचार भइरहँदा अप्रत्यक्ष रूपमा कखग अल्कोहलको पनि प्रचार भइरहेको हुन्छ ।

किनभने यस्ता कम्पनीहरूले आफ्नो मुख्य कम्पनीबाटै आम्दानी गरिरहेका हुन्छन् । कानूनबाट बच्नका लागि धेरैजसो कम्पनीले यस्तो तरिका अपनाउने गरेको पाइन्छ ।

बेटिङको सन्दर्भमा पनि सरोगेट एड्भटाइजिङ हानिकारक हुने विश्लेषकहरूले औँल्याएका छन् । नेपालमा जुवामाथि प्रतिबन्ध लागेको अवस्थामा त्यस्ता कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न थुप्रै तरिका अपनाइरहेका छन् ।

अनलाइन बेटिङ गैर कानूनी भएकाले सरकारले विभिन्न बेटिङ साइटमाथि प्रतिबन्ध पनि लगाएको छ । यस्तो अवस्थामा ती कम्पनीले सरोगेट एड्भटाइजिङको प्रक्रिया अपनाएर आफूमाथि लागेका प्रतिबन्धलाई खुइल्याइरहेका छन् । तर नेपाल सरकार भने यस्ता कम्पनीलाई कानूनको दायरामा ल्याउन सकिरहेको छैन । 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १४:२१