close

टेलिकम र बैंकको लापरवाहीको फाइदा उठाउँदै अनिलले यसरी निकाल्थे नक्कली सिम

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख ९, २०८० २३:१९

टेलिकम र बैंकको लापरवाहीको फाइदा उठाउँदै अनिलले यसरी निकाल्थे नक्कली सिम

काठमाडौं । सिन्धुपाल्चोकका अनिल थापा, आफ्नो फोनमा काका पर्ने व्यक्तिको नाममा रहेको सिम प्रयोग गरिरहेका थिए । अहिले २३ वर्ष पुगेका थापाले केही वर्षअघिसम्म नागरिकता बनाएका थिएनन् । त्यसैले उनी काकाको नामबाट सिम निकाली प्रयोग गरिरहेका थिए ।

समय बित्दै जाँदा दुई वर्षअघि उनको फोन हरायो । केही दिन बितिसक्दा पनि हराएको फोन नभेटिएपछि उनले सोही नम्बरको अर्को सिम लिने विचार गरे । त्यसका लागि उनले सबैभन्दा पहिले हराएको सिम प्राप्त गर्न के गर्नुपर्छ भनेर बुझ्न आफ्नो नागरिकता लिएर टेलिकमको कार्यालय पुगे ।

कार्यालयमा पुगेपछि उनले उक्त सिमको वास्तविकताबारे केही नखुलाएर सिम आफ्नै नाममा भएको भन्दै सोही नम्बरको सिम निकालिदिन अनुरोध गरे । टेलिकम कार्यालयले पनि उनलाई सोही नम्बरको सिम दिएर पठायो ।

यसबाट उनले कुनै अर्को व्यक्तिको सिम निकाल्न आफ्नै कागजात लिएर जाँदा पनि सम्भव हुन्छ भन्ने कुरा पत्ता लगाए । आधिकारिक रुपमा टेलिकमका कर्मचारीले कागजात प्रमाणीकरण नगरी नागरिकतामा रहेको जात हेरेकै भरमा सिम दिएको उनले पत्ता लगाए । जसबाट थापालाई अन्य व्यक्तिको नाममा रहेको सिम पनि निकाल्न सकिन्छ भन्ने भान भयो ।

उनले कार्यालयबाट आफ्नो नागरिकता देखाएर काकाको नामको सिम निकालेपछि कोठामा गए । त्यसरी सामान्य तरिकाले उनको दैनिकी चलिरहेको थियो । 

त्यसको केही समयपछि सामाजिक सञ्जाल तथा इन्टरनेटमा सक्रिय भइरहँदा उनी भाइबर पनि प्रयोग गर्न थालेका थिए । फोनमा इन्टरनेट प्रयोग गरिरहँदा एक दिन उनको भाइबरमा एनआईसी एसिया बैंकको विज्ञापन आयो । उनले नोटिफिकेसन खोलेर उक्त भाइबर ग्रुप जोइन गरे । ग्रुपमा जोइन भइसकेपछि थापाले त्यहाँ मोबाइल बैंकिङ सुविधा भएको देखे ।

त्यसपछि थापाले आफ्नो नम्बर राखेर सेन्ड गरे । नम्बर पठाइसकेपछि उनको भाइबर मेसेजमा बैंकबाट सो नम्बरमा ओटीपी कोड पठाइको जानकारी गयो । र, उनको नम्बरमा ओटीपी कोड आयो । यसबाट उनले कुनै पनि नम्बरमा सो बैंकको मोबाइल बैंकिङ रहे नरहेको कुरा पत्ता लगाउन सकिन्छ भन्ने थाहा पाए । र, विभिन्न नम्बर राखेर ती नम्बरमा मोबाइल बैंकिङ भए नभएको यकिन गरे । 

यसरी आफूले राखेको नम्बरमा मोबाइल बैंकिङ छ भन्ने पहिचान गरेपछि थापा टेलिकममा पुगे । टेलिकममा गएर उनले त्यहाँका कर्मचारीलाई उक्त नम्बर हराएको सूचना दिए । र, आफूलाई उक्त नम्बरको सिम आवश्यक परेकाले सिम कसको नाममा छ भन्ने जानकारी दिन अनुरोध गरे ।

टेलिकमका कर्मचारीले पनि उनले दिएको नम्बर जुन व्यक्तिको नामबाट निकालिएको छ उसको नाम दिए । र, सोही व्यक्तिको नागरिकता ल्याएको खण्डमा सिम पाउन सकिने बताए । 

यसरी फोन नम्बर र नाम पत्ता लगाइसकेपछि उनी आफ्नो लक्ष्यको माथिल्लो चरणमा पुगे । जहाँ उनले सो व्यक्तिको नामको कागजात खोज्नुपर्ने थियो । नाम पत्ता लगाइसकेपछि उनी गुगल, फेसबुक जस्ता प्लेटफर्ममा ती व्यक्तिले राखेका कागजात खोज्थे ।

यदि भेटिएको खण्डमा त्यसैलाई डाउनलोड गरी प्रिन्ट गर्थे । यदि भेटिएन भने गुगलमा भएको कुनै पनि नागरिकता डाउनलोड गर्थे । नागरिकता डाउनलोड गरिसकेपछि उनी त्यसमा फोन नम्बर रहेको व्यक्तिको नाम लेख्थे । र, बावुको नाम केही राखेर थर चाहिँ फोन नम्बर भएको व्यक्तिको राख्थे ।

यति सम्म कि उक्त नागरिकता भएको व्यक्ति आफैं हो भन्ने देखाउन नक्कली नागरिकतामा उनी आफ्नो पासपोर्ट साइजको फोटो राख्थे । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनी न उक्त नागरिकताको नागरिकता नम्बर परिवर्तन गर्थे, न ठाउँ परिवर्तन गर्थे न कुनै अन्य विवरण नै ।

सिम भएको व्यक्तिको नाम, उसैको थर राखेर बाबुको नयाँ नाम राख्ने र पहिलेको फोटो रहेको ठाउँमा आफ्नै फोटो राखेपछि उनको कागजातको काम सम्पन्न हुन्थ्यो । यसरी एडिट गरिएको कागजातलाई उनी प्रिन्ट गर्थे । र, पुनः टेलिकमको कार्यालयमा जान्थे ।

कार्यालयमा गएर नागरिकताको फोटोकपी बुझाइसकेपछि उनी सहजै सिम प्राप्त गर्थे । र, पहिले सक्रिय भएको सिम स्वतः ब्लक हुन्थ्यो । टेलिकमका कर्मचारीले उनलाई सिम दिँदा व्यक्तिको नाम पुष्टि गर्थे र त्यसैका आधारमा थापालाई सिम दिएर पठाउँथे ।

उनी यो काम शुक्रबार दुईदेखि तीन बजेभित्र गर्थे, ताकि पीडितले आफ्नो सिम ब्लक भएको कुरा टेलिकममा उजुरी दिन नसकोस् । र, शुक्रबार तथा शनिबार सोही नम्बरको मोबाइल बैंकिङ प्रयोग गरेर पैसा निकाल्ने योजना बनाउँथे ।

सिम प्राप्त गरिसकेपछि थापालाई सो नम्बरबाट खोलिएको बैंकको अकाउन्ट नम्बर आवश्यक पर्थ्यो । त्यसका लागि उनी एनआईसी एसिया बैंकको शाखामा पुग्थे । र, पैसा जम्मा गर्ने नाटक गर्थे ।

पैसा जम्मा गर्नुपर्ने भन्दै उनी भौचर लिएर कर्मचारीकहाँ पुग्थे । र, आफूले रकम जम्मा गर्न लागेको भन्दै बैंकका कर्मचारीलाई आफ्नै अकाउन्ट भएको विश्वस्त बनाउँथे । आफ्नो मोबाइल नम्बर देखाएर उक्त नम्बरबाट खोलिएको अकाउन्ट नम्बर बिर्सेँ भनेर अकाउन्ट नम्बर लेख्दिन अनुरोध गर्थे । र, कर्मचारीले पनि अकाउन्ट नम्बर लेखेर पठाउँथे ।

भौचरमा अकाउन्ट नम्बर पाइसकेपछि उनी उक्त अकाउन्टमा पैसा भए नभएको जानकारी पनि लिन्थे । यदि त्यस अकाउन्टमा धेरै रकम छैन भने उनी त्यसलाई त्यत्तिकै छाडि पहिलेकै प्रक्रियाबाट अर्को नम्बरको सिम प्राप्त गर्नतर्फ लाग्थे । यदि धेरै रकम डिपोजिट छ भने उनी त्यही अकाउन्टको पैसा निकाल्ने जुक्तिमा काम गर्थे । 

यसरी बैंक अकाउन्ट नम्बर, अकाउन्ट होल्डरको नाम, मोबाइल बैंकिङमा प्राप्त भएको नम्बरको सिमकार्ड सबै उनको हातमा हुन्थ्यो । यति जानकारी प्राप्त भएपछि उनी पैसा निकाल्ने काम अघि बढाउँथे । यतिबेला उनी घरमा बस्दैनथे । घरमा दिदीले थापामाथि निगरानी गरिरहने भएपछि उनलाई आफूले गरेको काम दिदीले थाहा पाउँछन् भन्ने लाग्थ्यो । जसले गर्दा उनी कुनै होटेलमा बस्थे ।

मोबाइलमा बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्थे । उनी यहाँ मोबाइल बैंकिङमार्फत सोझै अर्को अकाउन्टमा पैसा पठाउने काम गर्दैनथे ।

पैसा निकाल्नका लागि उनी बैंकको नयाँ सुविधा 'कार्डलेस एटीएम' प्रयोग गर्थे । जहाँ मोबाइल नम्बर राखेको अवस्थामा त्यहाँ आएको कोड दिएपछि एटीएमबाट रकम निकाल्न सकिन्छ । यसरी पैसा निकालेपछि त्यसलाई खर्च गर्न उनी काठमाडौं बाहिरका विभिन्न ठाउँमा घुम्न जान्थे ।

दुई वर्षको अवधिमा १२ जनाबाट करिब पाँच लाख रुपैयाँ ठगी

उनले ठगी गर्नकै लागि यस्तो काम गरेको विश्वास हुँदैन । विशेषगरी उनी पक्राउ परेपछि प्रहरीलाई दिएको बयानलाई हेर्ने हो भने उनले आफूले गरेको गल्तीलाई महसुस नै गरेका छैनन् ।

बरु उल्टै टेलिकम र बैंकको कमजोरी भएको तर्क दिने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको साइबर पिल्लरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीले बताएका छन् ।

"उसको पारिवारिक पृष्ठभूमि राम्रो छ । र, कुनै लतमा पनि परेको देखिँदैन । उ आफैंले पनि ठगी गर्नका लागि नभई टेलिकम र बैंकको कमजोरी बाहिर ल्याउन यस्तो गरेको भनिरहेको छ," डीएसपी डाँगीले भने, "उसले आरोप स्वीकारेर घटनाको बेलिविस्तार लगाएको छ । र, जसबाट उसलाई आफ्नो गल्ती भएको महसुस नै छैन भन्ने सकिन्छ । बरु बैंक र टेलिकमको लापरवाहीले यस्तो भएको हो भनिरहेको छ ।" 

थापाका दाइ अमेरिकामा बस्छन् । घरमा उनलाई आवश्यक खर्चको बन्दोबस्त दाइले नै गरिदिने रहेछन् । थापाको अध्ययनको पृष्ठभूमि हेर्दा उनी प्लस टुपछि पढ्न छोडेको देखिएको छ । "आफूले कमजोरी पत्ता लगाइसकेपछि के हुन्छ विचार गरी हेरौं न त भन्दा थोरै थोरै गरी दुई वर्षको अवधिमा पाँच लाख जति ठगी गरेको देखिन्छ," डीएसपी डाँगीले अगाडि भने  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सम्बन्धित बैंकका कर्मचारी, मोबाइल सेवा प्रदायक कम्पनीका सम्बन्धित व्यक्ति र थापालाई राखेर उक्त घटना कसरी भइरहेको छ । र, कसको कमजोरी कहाँ छ भनेर उनीहरूकै अघि देखाएको डाँगीले बताएका छन् ।

पक्राउ परेका अनिल थापाको तर्क

उनी आफूले गरेको गल्तीलाई गल्ती नै मान्न तयार नदेखिएको अनुसन्धानमा खटिएका प्रहरीले सुनाए । आफूले उल्टै बैंक तथा टेलिकमको कमजोरी पत्ता लगाएर उनीहरूलाई सचेत बनाएको उनको तर्क छ ।

"यदि ह्याकरले यस्तो फेला पारेको भए सबै सिस्टम नै खराब बनाउने थियो । मैले त उनीहरूलाई सचेत बनाइदिएको छु," घटनाको अनुसन्धानका क्रममा थापाले प्रहरीलाई भने । 

टेलिकमको कमजोरी

टेलिकमका कर्मचारीले हराएको नम्बरको नयाँ सिम दिँदा कागजात प्रमाणीकरण नगर्दा यस्तो समस्या देखिएको डाँगीले बताएका छन् । भन्छन्, "यो घटनामा नाम मात्र पुष्टि गरेर सिम दिएको देखिन्छ । कम्तीमा नागरिकता नम्बर, ठेगाना, नागरिकता जारी भएको मिति, प्रशासन अधिकृतको नाम पुष्टि गरेर मात्र सिम दिँदा यस्तो समस्या देखिँदैन थ्यो ।"

टेलिकमको डेटाबेसमा सो नम्बरको सिम भएको व्यक्तिको सबै विवरणहरू राखिएको हुन्छ । यस्तोमा नयाँ सिम दिँदा यी विवरणहरू राम्रोसँग पुष्टि गरेको खण्डमा सिम डुप्लिकेसनका घटना कम हुने डाँगीको भनाइ छ । पछिल्लो समय कार्यालयमा दर्ता भएका निवेदनमा सिम डुप्लिकेसनका घटना बढी देखिएको कार्यालयको तथ्याङ्कले पनि देखाएको छ ।

कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पुष महिनासम्म नौ ओटा निवेदन परेको थियो । जसबाट कूल १७ लाख ९५ हजार २१५ रुपैयाँ ठगी भएको निवेदनले उल्लेख गरेका थिए । त्यस्तै फागुन र चैत महिनामा पनि कार्यालयमा चार ओटा सिम डुप्लिकेसनका उजुरी परेका छन् । यसअघि १६२ ओटा सिम डुप्लिकेसन गरेर ठगी गरेका व्यक्ति पक्राउ परेको कार्यालयले जनाएको छ ।

यसरी दिनानुदिन सिम डुप्लिकेसनका घटना बढ्दै जानुले टेलिकम कार्यालयको प्रणाली कमजोर भएको वा उनीहरूले लापरवाही गरेको सङ्केत दिन्छ ।

यसो त टेलिकमले कुनै पनि व्यक्तिलाई पुरानो नम्बरको नयाँ सिम दिँदै विभिन्न संयन्त्र अपनाउने गरेको टेलिकमका सह-प्रवक्ता परमात्मा भट्टराईले बताएका छन् ।

"हराएको वा बिग्रिएको सिम लिन आउँदा सक्कली कागजात र सम्बन्धित व्यक्ति उपस्थित नभएसम्म हामी सिम उपलब्ध गराउँदैनौं," भट्टराईले भने, "कहिलेकाहीँ व्यवस्थाभन्दा पनि वाध्यतालाई हेरेर सहजीकरण गर्दा खोज्दा यस्ता कमजोरी भएका हुनसक्छन् ।"

उनी अगाडि भन्छन्, "गलत व्यक्तिले अनधिकृत रूपमा अर्काको नामको सिम लिन नसकोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, यस्तो गर्दा वैधानिक मान्छेलाई पनि प्रक्रिया लामो लाग्न सक्छन् । जसले गर्दा हामीले सहजीकरण गर्न खोजिरहेका हुन्छौं ।"

पछिल्लो समय अर्कैको नाममा सिम निकाल्ने गरेका घटनाहरू बढ्दै गरेपछि कडा व्यवस्था ल्याइरहेको उनले सुनाएका छन् । विशेषगरी ई-केवाईसीका अवधारणा अघि सारेको उनको भनाइ छ । 

बैंकको कमजोरी

बैंकले कसैले नम्बर दिएकै भरमा अकाउन्ट नम्बर टिपाइदिने प्रवृत्ति पनि गलत भएको डाँगीले बताएका छन् । "हामीले (प्रहरी) ले त्यसरी अकाउन्टको विवरण माग गर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्छ, निवेदन ल्याउनुपर्छ भन्ने तर सर्वसाधारणले मागेकै भरमा किन माग्यो भन्ने कुराको हेक्का नगरी विवरण दिने ।

बैंकहरूको यस्तो कमजोरीले पनि ठगी गर्नेहरूलाई सहज बनाएको देखिन्छ," डाँगीले अगाडि भने । यस्तोमा बैंकले कस्तो मान्छेले माग गरेको हो, किन माग गरेको हो भन्ने कुरालाई मध्यनजर गरेर मात्र आवश्यक परेको खण्डमा मात्र विवरण उपलब्ध गराउनु राम्रो हुने भन्दै सुझाव दिएका छन् ।

यसरी पक्राउ परे थापा

थापाले लामो समयदेखि डुप्लिकेट सिम निकालेर ठगी गरिरहेको थिए । तर, फागुन र चैत महिनामा कार्यालयमा सिम डुप्लिकेट गरेर ठगी गरेका चार ओटा निवेदन परेका थिए ।

चार ओटै निवेदनलाई लिएर अनुसन्धान गर्दै जाँदा उक्त घटना एउटै व्यक्तिले गरेको देखियो । र, त्यसैका आधारमा प्रहरीले निगरानी अगाडि बढायो । यसरी प्रहरीको निगरानीमा रहेका थापा शुक्रबार भक्तपुर सूर्यविनायकबाट पक्राउ परेका हुन् ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ । उनलाई ठगी बाहेक कागजात दुरुपयोग गरेको कसुर पनि लाग्ने बताइएको छ ।

सर्वसाधारण सचेत हुनुपर्ने अवस्था

अर्को व्यक्तिको नाममा रहेको सिम अर्को व्यक्तिले निकाल्न सक्ने घटनामा टेलिकमको मात्र कमजोरी भने हुँदैन । हामीले हाम्रा कागजात कहाँ, कसरी राखेका छौं भन्ने कुराले त्यसको दुरुपयोग हुने जोखिम बढाएको हुन्छ ।

विशेषगरी सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत कागजात राख्दा यस्ता समस्या बढी निम्तिन सक्ने प्रहरी र टेलिकमका कर्मचारीको तर्क छ । त्यस्तै कसैले कागजात माग गरेको अवस्थामा किन माग्यो, उसलाई दिनु कत्तिको राम्रो हो, कत्तिको विश्वास गर्न सकिन्छ भन्ने कुरालाई ख्याल गर्न टेलिकमका सह-प्रवक्ता भट्टराइले सुझाव दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० ०:५