close

नक्कली अकाउन्ट बनाएर पैसा उठाएपछि तोसिमा कार्कीले दिइन् उजुरी

टेकपाना टेकपाना

बैशाख १८, २०८० १४:५९

नक्कली अकाउन्ट बनाएर पैसा उठाएपछि तोसिमा कार्कीले दिइन् उजुरी

काठमाडौं । सांसद तोसीमा कार्कीले आफ्नो नाममा नक्कली अकाउन्ट बनाएर पैसा उठाएको थाहा पाएपछि साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । कार्कीले आइतबार राति 'तोसिमा कार्की फ्यान' नामको फेसबुक पेज बनाएर रकम मागेको खबर पाएपछि उक्त पेजविरुद्ध सोमबार उजुरी दिएकी हुन् ।

टेकपानासँग कुरा गर्दै कार्कीको सचिवालयले उक्त नक्कली फेसबुक पेजबाट रकम माग भइरहेको थाहा पाएपछि प्रमाण सङ्कलन गरी साइबर ब्यूरोमा उजुरी दिएको जानकारी दिएको छ । 

तोसिमा कार्कीको सचिवालयका सदस्य मनिष कार्कीले उक्त पेज २०२२ बाट सञ्चालनमा आइरहेको भए पनि पहिलो पटक आइतबार राति स्टोरी राखेर रकम माग गरेको देखिएको बताएका छन् । 

यसरी फोटो र नामको दुरुपयोग गर्ने अकाउन्टको विषयमा थप खोजी भइरहेको उनले बताएका छन् । त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि एक विज्ञप्ति राख्दै कार्की सचिवालयले उक्त नक्कली पेजका बारेमा जानकारी दिएको छ । 

"यो 'Toshima Karki Fan' भन्ने जस्ता फेक पेज बनाएर ठगि गर्दै रहेछन् । यस पेजमा केही दिनदेखि मेरा तस्वीर राख्ने र भ्रम फैलाउने काम भइरहेको रहेछ" कार्कीको आधिकारिक फेसबुक अकाउन्टमा लेखिएको छ, "आज यो पेजले मेरो नाम र तस्वीरको दुरुपयोग गर्दै पैसा समेत मागिरहेको रहेछ । कृपया यी  र यस्ता पेजहरूको भ्रममा नपर्नुहोला ।"

कार्की सचिवालयका अनुसार सो पेजबाट चितवनमा तोसिमा कार्की बोल्दै गरेको भिडिओ पनि लाइभ गरेर राखिएको छ । "यसरी कसैको नाम तस्वीर र प्रतिष्ठाको दुरुपयोग गरेर पैसो उठाउने अनैतिक काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनेछौँ ।"

यस्ता नक्कली पेज देखेमा तत्कालै रिपोर्ट गर्न कार्कीले अनुरोध गरेकी छिन् । यसअघि पनि कार्कीको नामबाट खोलिएका फेसबुक अकाउन्ट विरुद्ध साइबर ब्यूरोमा उजुरी दिइएको उनको सचिवालयले बताएको छ । तर, साइबर ब्यूरोले त्यसबारे प्रक्रिया अगाडि बढाएको बारे आफूलाई कुनै जानकारी नभएको सचिवालयको भनाइ छ । अहिले यो कार्कीको आधिकारिक फेसबुक अकाउन्ट र यो उनको सचिवालयको आधिकारिक फेसबुक पेज हो।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १४:१२