close

टिकटकमा भाइरल भिडिओका कारण नर्सहरू आन्दोलनमा, के हो विवादको विषय ?

टेकपाना टेकपाना

जेठ ९, २०८० ९:४७

टिकटकमा भाइरल भिडिओका कारण नर्सहरू आन्दोलनमा, के हो विवादको विषय ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले टिकटकर गिभिना मगर र नर्सहरू बीचको विवाद भाइरल छ । विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलनमै उत्रिएका छन् । 

यो घटनाको वास्तविकता के हो त ? किन टिकटकर गिभिना र नर्सहरूबीचको विवाद अहिले चर्चामा छ ? 

यो घटनाबारे बुझ्न हामी केही समयअघि जानुपर्ने हुन्छ, जब गिभिनाको भेट १६ वर्षीया अर्चना मगरसँग हुन्छ । गिभिना पेसाले एक शिक्षिका हुन् । तर उनी समाजसेवीको रूपमा सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा आफूले मानिसहरूलाई सहयोग गरेको भिडिओ राखिरहेकी हुन्छिन् ।

विशेषगरी टिकटक लाइभमा बसेर बेसहारा तथा बिरामी भएका बालबालिका तथा अन्य मानिसहरूका लागि उनी सहयोग जुटाउने काम गर्छिन् । उनको त्यही व्यवहार देखेर कसैले अर्चनाको भेट गिभिनासँग गराइदिएको हुन्छ ।

यता अर्चना क्यान्सर रोगसँग लडिरहेकी हुन्छिन् । अर्चनाले एक भिडिओमा भने अनुसार उनका बुबा उनी नौ वर्षकी हुँदा नै बितेका थिए । त्यसपछि उनकी आमाले अर्कै ठाउँमा बिहे गरेर गइन् र अर्चनालाई पनि आफूसँगै राखेर पालनपोषण गर्न थालिन् ।

तर, समय बित्दै जाँदा अर्चनालाई क्यान्सर भएको थाहा हुन्छ । गिभिनाको टिकटक अकाउन्टबाट अपलोड भएको एउटा भिडिओमा अर्चनाले भनेकी छिन्, "ममीले मलाई हेरिराख्नु भएको थियो ।

सबै पैसा सकिएपछि केही पनि उपाय नभएर म तपाईंहरूको सामु हात जोड्न आएकी छु । केही उपाय नलागेपछि दिदीको अगाडि म सहयोग गरिदिनु भनेर आएकी थिएँ । गिभिना दिदी अहिले मेरो साथमा हुनुहुन्छ । र, मलाई एकदमै धेरै बाँच्न मन छ ।"

गिभिनाले टिकटक भिडिओमा भने अनुसार उनी विभिन्न तरिकाले अर्चनाको उपचारका लागि सहयोग जुटाइएकी थिइन् । गिभिनाले राखेको एउटा भिडिओमा अर्चनाको उपचारका लागि उनले ११ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको बताएकी छिन् ।

रकम संकलन गरेपछि अर्चनालाई चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ल्याइयो । त्यहाँ उनको उपचार भइरहेको थियो ।

यसैबीच २८ बैशाखमा गिभिनाको टिकटक अकाउन्टबाट (@givina18) बाट एउटा भिडिओ अपलोड भयो । उक्त भिडिओमा गिभिनाले भने अनुसार अर्चनालाई राति दुई बजे सुई लगाउने भनिएको थियो ।

तर साढे चार बजे मात्र सुई लगाइयो र यसरी ढिलो गर्दा बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै गिभिनाले भिडिओमा बोलेको सुनिन्छ । उनको अकाउन्टमा अपलोड भएपछि उक्त भिडिओ भाइरल भयो ।

भिडिओ भाइरल भइसकेपछि सम्बन्धित नर्स र गिभिनाबीच विवाद सुरु हुन्छ । गिभिनाले एउटा टिकटक भिडिओमा भने अनुसार जेठ ४ गते करिब दुई बजे उनीहरू यही विवाद सुल्झाउन जिल्ला प्रहरी कार्यालय चितवन गए ।

"तपाईंहरू यताउति मिलिसक्नु भएछ, माफी मागी पनि सक्नुभएछ सिद्धियो भनेर प्रहरीले छोड्दिनु भयो । सबै कुरा सिद्धि सकेको थियो । फोन गरेर घरिघरि टर्चर दिन पाइँदैन," आक्रोश पोख्दै गिभिनाले एक भिडिओमा भनेकी छिन् । 

यही कुरालाई समर्थन गर्दै आफूलाई सामाजिक अभियान्ता बताउने चितवन भरतपुरका एक युट्युबरले गिभिनाको लाइभ भिडिओमा भनेका छन्, "उहाँ आफैंले माफी मागिसकेको विषय पनि हो । गल्ती भयो, म क्षमा याचना गर्छु भनेर जिल्ला प्रहरी कार्यालयमा मिलिसकेको कुरा हो यो । त्यसपछि आज यो विषय किन उठ्यो भनेर टिकटकमा लाइभ देखेर आएका हौं ।"

विवाद मिलिसकेपछि सम्बन्धित नर्सको छोराले फोन गर्दै धम्की दिएको गिभिनाको आरोप छ ।

भन्छिन्, "ती नर्सको छोराले धम्की दिए । पुरै नर्सको बेइज्जत भयो, तँलाईँ पख भनेर भने । त्यस्तो भन्न मिल्छ ? मैले सबै नर्सहरूलाई भनेको छैन," उनले अर्को भिडिओमा भनेकी छिन्, "मैले बनाएको नर्सको भिडिओ भाइरल भएछ । अनि त्यही रिस छोपेर अर्चनालाई नराम्रो व्यवहार गर्ने ?"

त्यस्तै अर्चनालाई पनि उक्त टिमले दुःख दिएको गिभिनाको आरोप । भन्छिन्, "१६ वर्षको बच्चा बिरामी छ । उसलाई थाहा हुँदैन माया गरेको र नगरेको ।"

यसरी धम्की आउनु र बिरामी बालिकालाई दुःख दिएको भन्दै गिभिना केही मानिसहरू लिएर अस्पताल पुगेर लाइभ गर्छिन् । त्यसपछि त्यहाँ चर्किएको विवाद टिकटकभर फैलिएको हो । विवाद चर्किरहँदा दुवै पक्षबीच भनाभन समेत भयो । 

भनाभनकै क्रममा गिभिनामाथि नर्सको हुलबाट अनेक आरोपको वर्षा हुन्छ ।

"बच्चालाई देखाएर पैसा उठाउने ?” 

“तँलाई भिखारी !”

“मागी खाने भाँडो बनाएको छ बच्चालाई, आँसु देखाएर पैसा बटुल्न खोजेको हो !"

"विष्णु दिदीले कुनै हालतमा माफी माग्ने होइन है !"

"तिनीहरूले खुट्टा ढोगेर माफी माग्नु पर्छ ।"

यस्ता वाक्य सुनेपछि गिभिना लाइभ भिडिओमा त्यस्तो भन्न नहुने भन्दै आफ्ना समर्थकलाई उक्त अस्पताल आएर विरोध गर्न आग्रह गर्छिन् ।

उनको अकाउन्टबाट लाइभ भएको भिडिओमा उनले भनेकी छिन्, "मैले यत्रो सहयोग जुटाएर अन्जान व्यक्तिलाई सहयोग गर्दा भिखारी भन्ने यिनीहरूको कत्रो आँट ? यत्रा मानिसहरूको बीचमा नर्स आएर तँ भिकारी भन्दा मन दुख्छ । यस्तो गर्न पाइँदैन ।"

उनको सोही लाइभको स्क्रिनरेकर्डमा गिभिनाले भनेकी छन्, "एक दुई पैसा म दिनरात नभनेर खटेर दाजुभाइ दिदीबहिनी विदेशमा रहनु भएका सबैलाई दुई हात जोडेर अर्चनालाई बचाउनु पर्‍यो भनेर सहयोग मागेर आज यही हस्पिटलमा ल्याउँदा तैले मागेर गरिस् भनेर यिनीहरूले भन्न पाइन्छ ?"

उनले यस्ता भिडिओ राखेपछि उनको टिकटक अकाउन्टमाथि नै प्रतिबन्ध लागेको छ । गिभिनाले त्यसो गर्न नहुने भन्दै विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । नर्सहरू व्यक्तिमा भएको दोषलाई लिएर पेसालाई बदनाम गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । 

"मिडियामा भाइरल हुन पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन । कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस् । व्यक्ति गलत होला, सिङ्गो पेशा गलत छैन", 

"कसैको चरित्र हत्या गर्न पाइँदैन !"

"नर्समाथिको अत्याचार बन्द गरौं !"

"व्यक्ति गलत होला, सिङ्गो पेसा गलत छैन !"

"टिकटकरको कुरा सबैले सुन्ने, नर्सको कुरा कसले सुन्ने ?" 

यस्ता अनेकौं नारा सहितका पम्प्लेट बोकेर नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० ९:४७