close

विद्युतीय सवारीको बजारमा कसले गर्दैछ राज ? यसो भन्छन् फोर्डका सीईओ ?

टेकपाना टेकपाना

जेठ १३, २०८० १७:२

विद्युतीय सवारीको बजारमा कसले गर्दैछ राज ? यसो भन्छन् फोर्डका सीईओ ?

काठमाडौं । लामो समयदेखि सवारी उद्योगमा केही सीमित ठूला कम्पनीहरूको मात्र राज थियो । समयसँगै विद्युतीय सवारीको उदयले यस उद्योगमा नयाँ लहर ल्याएको छ ।

विगत दुई दशकमा केही नयाँ सवारी निर्माता कम्पनीहरूको उदय भएको छ, जसले पछिल्लो १०० वर्षदेखि सवारी उद्योगमा प्रभुत्व जमाएका कम्पनीलाई चुनौती दिएका छन् । यसकाे एउटा कारण हाे, विद्युतीय सवारी ।

अहिले विश्वभर नै विद्युतीय सवारीको बजार द्रुत गतिमा बढिरहेको छ  । यस्तोमा प्रश्न आउनुसक्छ 'यो द्रुत गतिमा बढिरहेको विद्युतीय सवारीको बजारमा को सबैभन्दा अगाडि छ ?'

यसमा धेरै जनाको मुखमा टेस्ला भन्ने जवाफ आउनसक्छ । किनभने सबैभन्दा धेरै चर्चामा टेस्ला नै रहने गर्छ । तर यदि तपाईँको जवाफ पनि टेस्ला हो भने तपाईँ गलत हुनुहुन्छ ।

किनभने पछिल्लो समयमा विश्वमा सबैभन्दा धेरै विद्युतीय सवारी बिक्री गर्ने कम्पनीमा चीनको बीवाईडी रहेको छ । कम्पनीले विद्यु्तीय सवारीमा लामो समयदेखि धेरै लगानी गर्दै आएको छ ।

यसैबीच विश्वको अर्का चर्चित सवारी कम्पनी फोर्डले भविष्यमा चीनले विद्युतीय सवारीको नेतृत्व गर्ने अभिव्यक्ति दिएका छन् । फोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम फार्लेले चीनको बीवाईडी कम्पनीलाई आफ्नो कम्पनीको मुख्य प्रतिस्पर्धीको रुपमा हेरेको अभिव्यक्ति दिएका हुन् ।

उनले चिनियाँ अटो कम्पनीहरूले पछिल्ला केही वर्षहरूमा विद्युतीय सवारीमा गरिरहेको लगानीको विषयमा आफू जानकार भएको र आफूले पनि उनीहरूले जस्तै गर्नुपर्ने भनाइ राखेका छन् ।

चिनियाँ कम्पनीहरूले गाडी मात्र निर्माण नगरेर आफ्नै ब्याट्री प्रविधि तयार पारेको जुन सस्तो र उपयुक्त पनि भएको उनी बताउँछन् । यसले चिनियाँ अटो कम्पनीलाई विद्युतीय सवारीको बजारको प्रतिस्पर्धामा एक कदम अगाडि बढाउने अनकाे अनुमान छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १७:२३