काठमाडौं । ताइवान सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारी निकायहरू तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई डिपसिकको एआई प्रविधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । ताइवानको डिजिटल मामिला मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डिपसिकले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै यसको प्रयोगमा रोक लगाएको जनाएको छ ।
विज्ञप्तिमा डिपसिक चिनियाँ मूलको प्रविधि भएकाले कुनै पनि आधिकारिक वा गोप्य जानकारी यसमार्फत आदानप्रदान गर्न नहुने चेतावनी दिइएको छ । राष्ट्रिय सूचना सुरक्षाका दृष्टिकोणले यो प्रविधि खतरापूर्ण भएको मन्त्रालयको ठहर छ ।
"डिपसिकको एआई सेवा चिनियाँ उत्पादन हो । यसको सञ्चालनमा सीमापार डेटा प्रसारण र सूचना चुहावट जस्ता गम्भीर सूचना सुरक्षासम्बन्धी चिन्ताहरू छन् । यसले देशको सूचना सुरक्षालाई जोखिममा पार्न सक्छ," विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ स्टार्टअप डिपसिकले गत जनवरीमा नयाँ ओपनसोर्स एआई प्लेटफर्म सार्वजनिक गरेको थियो । मानिसको तर्कशक्ति नक्कल गर्न सक्ने क्षमताका कारण यो प्लेटफर्म विश्वव्यापी रूपमा चर्चित छ । विशेषगरी अर्बौं डलरको लगानीमा निर्माण भएका अन्य एआई प्लेटफर्महरूको तुलनामा न्यून लागतमा तयार भएको डिपसिकको मोडेलले प्रविधि क्षेत्रमा चुनौती प्रस्तुत गरेको छ ।
डिपसिकको मोडेल प्रतिस्पर्धी प्लेटफर्महरूको तुलनामा निकै कम लागतमा विकास भएको दाबी गरिएको छ । यसले अत्याधुनिक एआई एप विकास गर्न महँगो हार्डवेयरमा अर्बौं डलरको लगानी आवश्यक नपर्ने सम्भावना देखाएको छ । कम्पनीको यो एप विश्वका विभिन्न देशहरूमा सर्वाधिक डाउनलोड हुने निःशुल्क एपहरूको सूचीमा परेको छ ।
तर, डिपसिकले निम्त्याउन सक्ने सुरक्षा चुनौतीहरूबारे विश्वव्यापी रूपमा चिन्ता व्यक्त हुन थालेको छ । विभिन्न देशहरूले यसले साइबर सुरक्षामा जोखिम पैदा गर्न सक्ने र चीनको हाङ्झाउमा रहेको कम्पनीले सङ्कलन गरेको डेटा चिनियाँ सरकारलाई हस्तान्तरण गर्न सक्ने सम्भावनालाई लिएर आशंका व्यक्त गरेका छन् ।
इटालीको गोपनीयता नियामकले पनि यस एपमा प्रतिबन्ध लगाएको छ भने बेलायतले आफ्ना नागरिक तथा व्यवसायीहरूलाई सतर्क रहन चेतावनी जारी गरेको छ । अमेरिकी रक्षा विभागले समेत यसको पहुँचमा रोक लगाइसकेको छ । कानुनी फर्महरू लगायत सयौं कम्पनीहरूले आफ्ना कर्मचारीलाई डिपसिकका टुलहरू प्रयोग गर्नबाट रोकेका छन् ।