close

४०% नेपालीले चलाउँछन् अरूकै सिम, तपाईँको आफ्नै नाममा छ ?

टेकपाना टेकपाना

साउन १, २०८२ १८:५१

४०% नेपालीले चलाउँछन् अरूकै सिम, तपाईँको आफ्नै नाममा छ ?

काठमाडौँ । नेपालमा ४० प्रतिशतभन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अरूको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्ने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘द ग्लोबल फाइन्डेक्स डेटाबेस २०२५’ प्रतिवेदनले यो चिन्ताजनक तथ्याङ्क बाहिर ल्याएको हो ।

प्रतिवेदन अनुसार कंगो, कोमोरस, मोरक्को, तान्जानिया र जोर्डनमा पनि ४० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले अरूको नामको सिमकार्ड चलाउने गरेका छन् । यो अवस्थाले मोबाइल बैंकिङ, डिजिटल भुक्तानी र अन्य वित्तीय सेवाहरूमा नागरिकको पहुँचलाई प्रत्यक्ष रूपमा असर गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

अरूको नामको सिमकार्ड प्रयोग गर्दा प्रयोगकर्ताहरू डिजिटल वित्तीय सेवाबाट वञ्चित हुनसक्ने प्रतिवेदनमा ‍औंल्याइएको छ । बैंकिङ तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) प्रमाणीकरणका लागि सिमकार्ड प्रयोगकर्ताकै नाममा हुनुपर्ने प्रावधान राखेका हुन्छन् । आफ्नो नाममा सिम नहुँदा मोबाइल वालेट खोल्न, डिजिटल ऋण लिन र सामाजिक सुरक्षा भत्ता जस्ता सुविधा प्राप्त गर्न कठिनाइ हुने प्रतिवेदनले संकेत गरेको छ ।

नेपाल सरकारले राष्ट्रिय परिचयपत्र र नागरिक एप दुवैलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने बताइसकेको छ । यसरी सिमकार्डसँग प्रयोगकर्ताको धेरै कुरा जोडिने भएकाले पनि आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने बाध्यता भएको छ ।

अर्कोतर्फ नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि एक जना व्यक्तिको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड राख्न नपाउने व्यवस्था गरेको छ ।

त्योभन्दा पनि महत्त्वपूर्ण कुरा तपाईंको सिमकार्ड तपाईंको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले पनि सुरक्षाको हिसाबले सिमकार्ड आफ्नै नाममा हुन जरुरी छ ।

त्यसैले यहाँ हामी तपाईंलाई अन्य व्यक्तिको नाममा रहेको तर, तपाईंले लामो समयदेखि प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्ने तरिका सिकाउँदै छौं ।

यो प्रक्रिया सेवा प्रदायक अनुसार केही फरक हुने भएकाले सेवाप्रदायक अनुसार नै तपाईंले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकम

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरू कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि सुरुमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।

१. प्रिपेड

टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैँले प्रयोग गरिरहेको हुनुपर्छ ।

यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।

२. पोस्टपेड

पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी तोकिएको शुल्क तिरेर ‍तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।

एनसेल

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरू कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।

साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।

पछिल्लो ६ देखि ८ महिनाअघि डायल गरेका १० देखि १५ ओटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ । साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।

यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:२९