close

ईभी दुर्घटना कम गर्न पहिलो चरणमा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई तालिम दिँदै भिजी मोटर्स

टेकपाना टेकपाना

साउन ८, २०८२ १९:४३

ईभी दुर्घटना कम गर्न पहिलो चरणमा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई तालिम दिँदै भिजी मोटर्स

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बढ्दो प्रयोगसँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ भीजी मोटर्सले सरोकारवालाहरूलाई प्रशिक्षण दिने भएको छ । यस अन्तर्गत पहिलो चरणमा कम्पनीले साउन १० गते ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिने भएको छ ।    

नेपाली बजारमा कम्पनीले विद्युतीय माइक्रोबस एसआरएम र जोयलङ गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् । यिनै कुरालाई ध्यानमा राख्दै विद्यालय तथा सार्वजनिक सेवाका सवारी चालकहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार बनाउने उद्देश्य सहित कम्पनीले यो तालिम आयोजना गर्न लागेको जनाएको छ । 

नेपालमा पछिल्ला दिनमा व्यावसायिक ईभीको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार, गएको आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालमा तीन हजार १३२ ओटा विद्युतीय माइक्रोबस तथा बस आयात भएका छन् । दुई पाङ्ग्रेसहित कुल ४४ हजार ५०० युनिट ईभी आयात भएकोमा १३ हजार ५७८ युनिट विद्युतीय कार, जीप र भ्यान छन् ।

वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ । गएको वर्षको साउनदेखि यही जेठ मसान्तसम्मको ११ महिनामा देशभर भएका ३८ हजार ७७४ सवारी दुर्घटनामध्ये एक हजार ३३९ ओटा ईभी दुर्घटना थिए । ईभी प्रविधि आफैँले दुर्घटना नगराए पनि यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले चालकहरूलाई तालिमको जरुरी पर्ने कम्पनीको दाबी छ ।

यही आवश्यकतालाई सम्बोधन गर्न भीजी मोटर्सले 'ट्रेनिङ अफ ट्रेनर्स' (टीओटी) कार्यक्रम आयोजना गर्ने भएको हो । यो तालिम शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा हुँदैछ । भीजी मोटर्स प्रालीका अनुसन्धान तथा विकास विभाग प्रमुख एवम् तालिमका संयोजक सम्राट गौतमले पूर्वको धरानदेखि पश्चिमको दिपायलसम्मका प्रशिक्षकहरूलाई सहभागी गराइने जानकारी दिएका छन् । 

एक दिने तालिममा सहभागीहरूलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने गौतमले बताए । तालिममा ईभीको सुरक्षित सञ्चालन, विद्यालय सवारी तथा सार्वजनिक सवारी सुरक्षामा आवश्यक सावधानी र व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिने उनको भनाइ छ ।

विशेष गरी ईभीको इन्स्ट्यान्ट टर्क तथा सुरक्षित गति नियन्त्रण, उकालो-ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग र आवाज ननिस्किने भएकाले उत्पन्न हुने जोखिम तथा अपनाउनु पर्ने सजगताका विषयमा सिकाइनेछ । साथै स्टेरिङ तथा ब्रेकिङको संवेदनशीलता, ड्यासबोर्डका सङ्केत आदि विषय समेत तालिममा समेटिनेछन् ।

यस तालिमबाट तालिम प्राप्त प्रशिक्षकहरूले पहिलो चरणमा विद्यालयका साथै नयाँ सवारी धनी तथा चालकहरूलाई लक्षित गरी तालिम दिने योजना बनाइएको छ । दोस्रो चरणमा भने उनीहरूले सार्वजनिक सवारी साधन चलाउने चालकहरूलाई प्रशिक्षण दिनेछन् । भीजी मोटर्सले देशका विभिन्न सहरबाट ईभी बिक्री गरेपछि उक्त गाडी चलाउने चालकलाई अनिवार्य ५ घन्टाको तालिम दिनेछ, जुन तालिम बनेपामा प्रशिक्षित भएका प्रशिक्षकले नै दिने कम्पनीले जनाएको छ ।

गौतमले पुराना र म्यानुअल प्रविधिका गाडी चलाएका चालकले कुनै तालिमबिना एड्भान्स प्रविधिका ईभी चलाउँदा दुर्घटना हुने गरेको बताए । त्यसैले नेपालमा गाडी भित्र्याउने सबै कम्पनीले यसरी नै तालिम दिनुपर्नेमा उनको जोड छ ।

भीजी मोटर्सले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुऱ्याउने योजना अगाडि सारेको छ । भविष्यमा विभिन्न जिल्लामा रहेका यातायात व्यवसायीका सङ्घ सङ्गठनसँग सहकार्य गरेर पनि तालिम दिने योजना रहेको गौतमले सुनाए ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १९:४८