भुक्तानी कार्डको सुरक्षा मूल्यांकन अब नेपालमै, बिजसर्भ आईटीले पायो अन्तर्राष्ट्रिय मान्यता
साउन १४, २०८२ ९:३०
काठमाडौँ । नेपाली सूचना प्रविधि कम्पनी बिजसर्भ आईटीले विश्वका प्रमुख भुक्तानी कार्ड कम्पनीहरूद्वारा स्थापित ‘पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल’ (PCI SSC) बाट ‘क्वालिफाइड सेक्युरिटी एसेसर’ (QSA) को आधिकारिक मान्यता प्राप्त गरेको छ ।
यो मान्यतासँगै बिजसर्भले नेपालमै विश्वव्यापी रूपमा स्वीकृत ‘पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड’ (PCI DSS) को अनुपालन (कम्प्लायन्स) मूल्यांकन सेवा प्रदान गर्ने अनुमति पाएको छ ।
अमेरिकन एक्स्प्रेस, भिसा, मास्टरकार्ड, डिस्कभर, जेसीबी जस्ता चर्चित भुक्तानी प्रदायकहरूले स्थापना गरेको पीसीआई एसएससीले भुक्तानी कार्डको कारोबारमा कार्डधनीको डेटा सुरक्षित राख्न आवश्यक सुरक्षा मापदण्डको विकास र मूल्यांकनको जिम्मेवारी लिने गर्दछ । पीसीआई क्यूएसएको मान्यता पाउन कुनै पनि कम्पनीले प्राविधिक क्षमता, प्रशासनिक संरचना र व्यावसायिक निष्ठा जस्ता कडा योग्यताका मापदण्ड पूरा गर्नुपर्छ ।
यो उपलब्धिसँगै पीसीआई डीएसएस मूल्यांकन गर्ने आधिकारिक कम्पनी भएका ५० भन्दा कम देशहरूको समूहमा आफू सामेल भएको बिजसर्भ आईटीले जनाएको छ ।
सन् २०१३ देखि इन्फर्मेसन सेक्युरिटीअन्तर्गत गभर्नेन्स, रिस्क र कम्प्लायन्स (जीआरसी) को क्षेत्रमा काम गर्दै आएको बिजसर्भले यो मान्यतालाई नेपालको साइबर सुरक्षा परिप्रेक्ष्यमा एक महत्त्वपूर्ण कदम भनेको छ ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ ९:४१
