जुकरबर्गको नयाँ घोषणा: अब सबैका लागि पर्सनल सुपरइन्टेलिजेन्स, भविष्यका लागि तयार हुनुहुन्छ ?
साउन १५, २०८२ ६:५०
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सबैका लागि ‘व्यक्तिगत सुपरइन्टेलिजेन्स’ (Personal Superintelligence) र एआई-सञ्चालित स्मार्ट चस्मा बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । कम्पनीको त्रैमासिक आम्दानीको रिपोर्ट सार्वजनिक हुनुभन्दा केही घण्टाअघि उनले यो योजना सार्वजनिक गरेका हुन् । जुकरबर्गले यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भविष्यको रूपमा व्याख्या गरेका छन् ।
एक सार्वजनिक पत्र र भिडिओमार्फत जुकरबर्गले आफ्नो लक्ष्य स्पष्ट पारेका छन् । उनको लक्ष्य हरेक व्यक्तिसामु एआई टुल पुगोस् र यसको सहयोगमा मानिसहरूले आफ्नो लक्ष्य हासिल गर्न, संसारमा आफूले चाहेको कुरा सिर्जना गर्न, कुनै पनि साहसिक कार्यको अनुभव गर्न, आफ्ना साथीहरूसँग अझ राम्रो सम्बन्ध बनाउन र आफूले बन्न चाहेको व्यक्ति बन्न मद्दत गरोस् भन्ने रहेको छ । “मेटाको दृष्टिकोण सबैका लागि पर्सनल सुपर इन्टेलिजेन्स ल्याउनु हो,” उनले भने ।
यता, जुकरबर्गले आफ्नो फेसबुक स्टाटसमा कम्पनीको त्रैमासिक रिपोर्ट निकै बलियो रहेको बताएका छन् । उनका अनुसार, मेटाका एपहरू दैनिक ३.४ अर्बभन्दा बढी मानिसहरूले प्रयोग गरिरहेका छन् । यही बलियो व्यापारिक प्रदर्शनले गर्दा कम्पनीले एआईमा ठुलो लगानी गर्न सकेको उनको भनाइ छ ।
उनले भनेका छन्, “सुपरइन्टेलिजेन्सको विकास अब हाम्रो नजरमा छ ।” सुपरइन्टेलिजेन्सलाई उनले मानव बुद्धिमत्तालाई हरेक तरिकाले उछिन्न सक्ने एआईको रूपमा परिभाषित गरेका छन् । यो भविष्य निर्माण गर्न, मेटाले ‘मेटा सुपरइन्टेलिजेन्स ल्याब्स’ स्थापना गरेको छ, जसमा कम्पनीका विभिन्न टिमहरू समावेश छन् ।
जुकरबर्गले एआईले मेटाको व्यवसायका पाँच प्रमुख क्षेत्रमा सुधार गरिरहेको बताएका छन्:
विज्ञापन: एआईले विज्ञापन प्रणालीलाई थप प्रभावकारी बनाएको छ । पछिल्लो त्रैमासमा इन्स्टाग्राममा विज्ञापनबाट हुने खरिदबिक्री (ad conversions) मा लगभग ५% र फेसबुकमा ३% ले वृद्धि भएको छ ।
आकर्षक अनुभव: एआईले प्रयोगकर्तालाई उनीहरूको रुचिको सामग्री देखाउने क्षमतामा सुधार गरेको जुकरबर्गको भनाइ छ । जसका कारण यही त्रैमासमा फेसबुकमा बिताउने समय ५% र इन्स्टाग्राममा ६% ले बढेको छ ।
व्यावसायिक मेसेजिङ: जुकरबर्गको विश्वास छ कि हरेक व्यवसायसँग चाँडै नै इमेल र वेबसाइट जस्तै आफ्नै ‘बिजनेस एआई’ हुनेछ ।
मेटा एआई: यसका मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या एक अर्बभन्दा बढी पुगिसकेको छ । यसलाई विश्वको अग्रणी पर्सनल एआई बनाउने कम्पनीको लक्ष्य छ ।
एआई टुलहरू: रे-ब्यान मेटा स्मार्ट चस्माको बिक्री तीव्र गतिमा बढिरहेको जुकरबर्गको दाबी छ । उनको विचारमा एआई चस्मा नै दैनिक जीवनमा सुपरइन्टेलिजेन्सलाई एकीकृत गर्ने मुख्य माध्यम बन्नेछ ।
कम्पनीले आफ्नो रियालिटी ल्याब्सको कामबारे आगामी १७ सेप्टेम्बरमा हुने ‘कनेक्ट’ कार्यक्रममा थप जानकारी दिने बताएको छ ।
पछिल्लो अध्यावधिक: साउन १५, २०८२ ८:०
