close

अर्काको नाममा डेटिङ एप आईडी बनाइ सोझा पुरुषहरूलाई ठगी गर्ने महिलालाई २ वर्षको जेल सजाय

टेकपाना टेकपाना

साउन २३, २०८२ ९:५५

अर्काको नाममा डेटिङ एप आईडी बनाइ सोझा पुरुषहरूलाई ठगी गर्ने महिलालाई २ वर्षको जेल सजाय

काठमाडौँ । डेटिङ एपहरूमा नक्कली परिचय प्रयोग गरी तीन जना पुरुषहरूबाट ११,००० पाउन्डभन्दा बढी (करिब २१ लाख रुपैयाँ) ठगी गरेको ठहर गर्दै एक ३७ वर्षीया महिलालाई जेल सजाय सुनाइएको छ । यस्तो सजाय पाउने केरी ग्रे नाम गरेकी एक महिला बेलायती महिला हुन् ।

यो घटनाले अनलाइन डेटिङ प्लेटफर्महरूमा बढ्दो सुरक्षा चुनौतीहरू र 'क्याटफिशिङ' जस्ता ठगीका प्रकरणलाई सतहमा ल्याइदिएको छ । जसले डिजिटल युगमा प्रयोगकर्ताहरूलाई सतर्क रहन सचेत समेत गराएको छ ।

अदालतको सुनुवाइ अनुसार केरी ग्रेले प्लेन्टी अफ फिश र बम्बल जस्ता लोकप्रिय डेटिङ एपहरूमा झुटा नाम र परिचय प्रयोग गरी कमजोर पुरुषहरूलाई निशाना बनाएकी थिइन् । उनले आफ्ना आमा-बुबा भर्खरै बितेको जस्ता भावनात्मक कुराहरू सुनाएर पीडितहरूबाट पैसा माग्न सुरु गर्थिन् । सन् २०२२ मा उनले एक जना पुरुषलाई निशाना बनाइन् । डेटिङ एपमा भेटिएपछि उनीहरू तुरुन्तै ह्वाट्सएपमा जोडिए । केही महिनाको कुराकानीपछि पीडित पुरुषबाट ३ हजार ३८४ पाउन्ड ठगी गरिन् ।

उनलाई सन् २०२४ को फेब्रुअरीमा प्रहरीले पक्राउ गर्‍यो । तर ग्रेले अर्का पुरुषलाई निशाना बनाइन् । जुलाई २०२४ मा उनले आफू एक प्रमुख नर्स भएको र डेबिट कार्ड ठगीको शिकार भई बैँक खातामा पहुँच गुमाएको बहाना बनाइन् । सुरुमा पेट्रोल खर्चको लागि ३० पाउन्ड मागेकी उनले पछि थप पैसा मागिन् । ती पीडितले आफ्नो बचत प्रयोग गरी उनको माग पूरा गरे । ती महिलाले थप रकम माग्न थालेपछि पीडितले आफ्नो बैँक खाता रित्तो भएको स्क्रिनशट पठाए । त्यसपछि सम्बन्ध नै अन्त्य भयो ।

ग्रेले 'हन्ना लिटिल' को झुटो नाम दिएर तेस्रो पीडितबाट ११९ पल्टमा गरेर ६ हजार ६२६ पाउन्ड ठगी गरिन् । यो रकम जुटाउन पीडितले ऋण समेत लिनुपरेको थियो । सम्बन्ध अन्त्य गर्न खोज्दा ग्रेले आत्महत्या गर्ने धम्की दिएको र आफ्नो भाइले दुर्व्यवहार गरेको समेत दाबी गरेकी थिइन् । पीडितले प्रहरीलाई दिएको बयानमा आफू ग्रेसँग साँचो सम्बन्धमा रहेको विश्वास गरेको बताएका छन् ।

अदालतले ग्रेले ठगी गरेको कूल ११ हजार ३४९ रकम जुवा, खाना-खाजा अर्डर, लागुपदार्थ र रक्सीमा खर्च गरेको खुलासा गरेको छ । चेलम्सफोर्ड क्राउन अदालतमा ग्रे तीन वटा ठगी आरोपमा दोषी ठहर भएपछि दुई वर्षको जेल सजाय सुनाइएको छ । न्यायाधीशले ग्रेलाई पीडितहरूलाई आगामी दुई वर्षभित्र केही रकम फिर्ता गर्न पनि आदेश दिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ ९:५५