शेयर बजार विश्लेषण गरी नाफा बढाउन सकिने नेप्से एआई एपको भ्रममा नपर्नुः माछापुच्छ्रे बैँक
साउन २९, २०८२ १३:२२
काठमाडौँ । माछापुच्छ्रे बैँकले नेप्से एआई एपको नाममा ठगी कार्य भइरहेको जानकारी गराउँदै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । नेप्से एआई जस्ता शंकास्पद एपबारे जरुरी सूचना निकाल्दै बैँले आफ्नो रकम जोगाउने कुरामा सचेत रहन अनुरोध गरेको हो ।
"हाल फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमार्फत नेप्से एआई जस्ता एपहरूबाट शेयर बजारको विश्लेषण गरी नाफा कमाउन सकिन्छ भन्ने भ्रामक सूचना फैलिरहेको छ," बैँकले भनेको छ, "सो एप डाउनलोड वा इन्स्टल गर्दा रिमोट सेसन खोलिने, खातामा रहेको रकम तत्काल अन्यत्र ट्रान्सफर हुने र प्रयोगकर्ताको डिभाइसमा रहेको सम्पूर्ण डेटा मेटिने खतरा रहन्छ ।"
त्यसैले कुनै पनि अपरिचित लिङ्क वा नेप्से एआई जस्ता एपको प्रलोभनमा नपरी आफ्नो डिजिटल सुरक्षा र वित्तीय जानकारी सुरक्षित राख्न सतर्क रहन भन्दै बैँकले सचेत गराएको हो ।
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १३:४०
