नेप्सेले सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका आधारमा लगानी नगर्न र शेयर कारोबार गर्दा लाइसेन्स प्राप्त शेयर ब्रोकरमार्फत गर्नको लागि सूचना जारी गरेको छ । तर, आफ्नो संस्थाको नामसँग मिल्दो नाममा सञ्चालनमा आएको नेप्से एआई एपबारे ऊ मौन छ ।
नामै जुध्ने गरी आएको घातक ‘नेप्से एआई’ एपले लगानीकर्ताको करोडौं लुट्दासमेत नेप्से चुप
साउन २९, २०८२ १५:५३
काठमाडौँ । ‘नेप्से एआई’ नामको एपका कारण ८० करोड रुपैयाँ बढी गायब भएको घटना बाहिरिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने मौन देखिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी शेयर बजारबाट अत्यधिक नाफा कमाउने प्रलोभन देखाउँदै एप डाउनलोड गर्न लगाउने र त्यसपछि पीडितको मोबाइल रिमोट कन्ट्रोलमा लिई बैंक खाता रित्याउने काम भइरहँदा पुँजी बजारको नियामक निकाय बेफिक्री देखिएको हो ।
कतिपय शेयर लगानीकर्ता नेप्सेकै आधिकारिक मोबाइल एप ठानेर नक्कली लिङ्क क्लिक गर्न पुगेको प्रहरी बताउँछ । तर, घटना बाहिरिएको तीन दिन भइसक्दा पनि नेप्सेले यसबारे आधिकारिक सूचना वा जानकारी प्रवाह गर्न उचित ठानेको छैन । आफ्नै नाम मिल्नेगरी एपबाट करोडौं ठगी भइरहेको विषयमा नेप्सेले नेपाल प्रहरीले जारी गरेको सूचना आधिकारिक फेसबुक पेजमा मात्रै शेयर गरेको छ ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले नेप्से एआईको ठगीको विषयमा आफूहरू जानकार रहेको बताए । उनले नेप्सेको आधिकारिक फेसबुक पेजबाट मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जारी गरेको अनुरोध आफूहरूले पनि शेयर गरेको सुनाए ।
“हामीले विभिन्न समयमा लगानीकर्तालाई सचेत हुने खालका सूचना जारी गर्छौं । नेप्से एआईको विषयमा हामी जानकार छौँ । त्यसैले सीआईबीले जारी गरेको अनुरोध हामीले नेप्सेको आधिकारिक फेसबुक पेजमा पनि पोस्ट गरेका छौँ,” पराजुलीले टेकपानासँग भने ।
प्रहरीको अनुरोध मात्रै शेयर गरेर पुग्छ त ? भन्ने प्रश्नमा उनले बेलामौकामा नेप्सेले लगानीकर्तालाई सचेत गराउने किसिमका सूचना दिइराख्ने बताए ।
नेप्से एआई नामक मोबाइल एपमार्फत लाखौं रुपैयाँ ठगी भइरहेको भन्दै प्रहरीले मंगलबार सर्वसाधारणलाई सचेत गराएको थियो । नेप्सेले प्रहरीको सचेत गराउने विवरणसहितको सूचना मात्रै आफ्नो फेसबुक पेजमा राखेको छ । आधिकारिक रूपमा नेप्से एआई आफ्नो होइन, डाउनलोड नगर्नुस् भन्ने व्यहोरा खुल्ने गरी उसले कुनै औपचारिक सूचना निकालेको छैन ।
सामाजिक सञ्जालमा एक प्रयोगकर्ता लेख्छन्, “यति गम्भीर विषयमा नेप्सेले आफ्नो वेबसाइटमै जानकारी गराउन सक्थ्यो वा ब्रोकरहरूमार्फत लाखौं शेयर कारोबारीसम्म सचेत रहन आग्रहसहित पत्राचार गर्न सक्थ्यो । तर, त्यसो नगरिँदा धेरै लगानीकर्ता झुक्यानमा परेका छन् ।”
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १६:२७
