close

यस्तो छ नेपाल भित्रिएको सुजुकीको पहिलो विद्युतीय गाडी ई-भिटारा

टेकपाना टेकपाना

भदौ १, २०८२ २०:१४

यस्तो छ नेपाल भित्रिएको सुजुकीको पहिलो विद्युतीय गाडी ई-भिटारा

काठमाडौँ । सुजुकीले पहिलो पटक आफ्नो विद्युतीय गाडी नेपाल भित्र्याएको छ । कम्पनीले परीक्षणका लागि भन्दै ई-भिटारा नेपालको नमुना युनिट नेपाल ल्याएको हो । 

यो गाडी यही भदौ ३ गतेदेखि काठमाडौँमा हुन लागेको नाडा अटो शोमा प्रदर्शनीका लागि राखिँदैछ । नेपालमा सुजुकीको आधिकारिक बिक्रेता चौधरी समूहको सीजी मोटोकर्पले व्यावसायिक रूपमा ई-भिटारालाई दुई वटा मोटर क्षमतामा भित्र्याइने बताएको छ । जसअनुसार यो गाडी १०५.८ र १२८ किलोवाट क्षमतामा आउनेछ । १०५.८ किलोवाट क्षमताको गाडीमा ४९ किलोवाट आवार र १२८ किलोवाटमा ६१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ ।

५०० किलोमिटर रेन्ज दिने दाबी गरिए पनि सिजी मोटोकर्पले नेपाली सडकमा यसको परीक्षण बाँकी रहेको जनाएको छ । ई-भिटारा अझै पनि परीक्षणकै क्रममा छ । यो गाडीको निर्माता मारुती सुजुकी इन्डिया लिमिटेडले अझै पनि परीक्षण गरिरहेको छ । परीक्षणकै क्रममा एउटा गाडी चौधरी समूहले नेपाल ल्याएको हो । यो गाडीको व्यावसायिक उत्पादन सुरु भइसकेको छैन ।

यो गाडीमा चार्ज गर्नका लागि एसी र डीसी दुवै विकल्प उपलब्ध हुनेछ । गाडीमा १८ इन्चको टायर छ भने यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । गाडीमा स्पेयर टायरसमेत उपलब्ध हुनेछ । 

भारतमा सुजुकीले यो गाडी अगस्ट २६ बाट व्यावसायिक रूपमा उत्पादन सुरु गर्दैछ । गुजरातको हन्सलपुर प्लान्टबाट सुजुकीले ई-भिटारा उत्पादन थाल्दैछ । भारतीय बजारमा सेप्टेम्बर ३ मा सार्वजनिक गर्ने तयारी रहेको यो गाडी बेलायतमा भने बिक्री हुन थालिसकेको छ ।

ई-भिटाराले हुन्डाई क्रेटा (इलेक्ट्रिक), महिन्द्रा बीई ६, एमजी जेडएस ईभीलगायतसँग प्रतिस्पर्धा गर्ने बुझिएको छ । गाडीको मूल्य र बुकिङ नाडाबाटै थाहा हुने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १, २०८२ २०:१८