close

एआईको सहायताले भारतमा प्रहरीले ३६ घण्टामै सुल्झायो ‘हिट एन्ड रन’ घटना

टेकपाना टेकपाना

भदौ २, २०८२ १२:८

एआईको सहायताले भारतमा प्रहरीले ३६ घण्टामै सुल्झायो ‘हिट एन्ड रन’ घटना

काठमाडौँ । ९ अगस्ट, २०२५ रक्षा बन्धनको दिन । भारत महाराष्ट्रको नागपुरमा एक जोडी मोटरसाइकलमा यात्रा गरिरहेका थिए । त्यही क्रममा तीव्र गतिमा आएको एउटा ट्रकले उनीहरूलाई ठक्कर दियो ।

महिला सडकमा खसिन् र ट्रकले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भयो । तर ट्रक त्यहाँबाट भाग्यो । त्यसपछि ती व्यक्तिले आफ्नी श्रीमतीको शवलाई मोटरसाइकलमा बाँधेर मध्यप्रदेशस्थित आफ्नो गाउँ लैजान खोजे । यही घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

श्रीमतीको निधनले विक्षिप्‍त श्रीमानसँग ठक्कर दिने ट्रकमा रातो धर्सा थियो भन्नेबाहेक अरू कुनै जानकारी थिएन । मृत श्रीमतीको शव घरसम्म पुर्‍याइदिने पनि कोही नभएपछि उनले शवलाई मोटरसाइकलको पछाडि बाँधेर मध्यप्रदेशमा रहेको आफ्नो घरतर्फ लगे । कसैले यो दृश्यको भिडिओ खिचेर सामाजिक सञ्जालमा अपलोड गरिदिएपछि भिडिओ भाइरल बनेको थियो । यही घटना समाधान गर्न र आरोपी ट्रक चालकको पहिचान गर्न भारतीय प्रहरीले एआईको प्रयोग गर्‍यो ।

नागपुर ग्रामीणका प्रहरी उपरीक्षक (एसपी) हर्ष पोद्दारले एनडीटीभीलाई बताए अनुसार पीडितले ‘एकदमै थोरै जानकारी’ मात्र दिन सकेका थिए । यति कम जानकारीको आधारमा कसरी आरोपी पत्ता लगाइयो भन्ने प्रश्नमा पोद्दारले भने, “हामीले विभिन्न स्थानका सीसीटीभी फुटेज सङ्कलन गर्‍यौं र त्यसलाई एआई एल्गोरिदमको माध्यमबाट विश्लेषण गर्‍यौं ।”

पोद्दारले घटनाको बारेमा थप चर्चा गर्दै भने, “हामीले एकअर्काबाट १५-२० किलोमिटरको दूरीमा रहेका तीन ओटा फरक टोल प्लाजाका सीसीटीभी फुटेज (मेटाडेटा) सङ्कलन गर्‍यौं र त्यसलाई ‘कम्प्युटर भिजन’ प्रविधिमा आधारित दुई ओटा एआई एल्गोरिदमको प्रयोग गरी विश्लेषण गर्‍यौं ।” 

उनका अनुसार पहिलो एल्गोरिदमले सबै फुटेजबाट रातो रङको धर्सा भएका ट्रकलाई पहिचान गर्‍यो । दोस्रो एल्गोरिदमले ती सबै ट्रकको औसत गति विश्लेषण गरेर कुन ट्रक घटनामा सङ्लग्न हुन सक्छ भनेर सङ्केत दियो ।

यही आधारमा एउटा ट्रकको पहिचान भयो । नागपुर ग्रामीण प्रहरीको टोलीले नागपुरबाट करिब ७०० किलोमिटर टाढा ग्वालियर-कानपुर राजमार्गबाट आरोपीलाई पक्राउ गरी ट्रक बरामद गरेको छ । यसरी एआईको प्रयोग गरेर ३६ घण्टाभित्रै यो घटना सुल्झाइएको हो ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १३:७