close

झापाली डेभलपरहरूको ‘पब्जी’ ह्याकाथन, वन्यजन्तु बचाउने आइडिया बन्यो विजेता

टेकपाना टेकपाना

भदौ ३, २०८२ १८:२६

झापाली डेभलपरहरूको ‘पब्जी’ ह्याकाथन, वन्यजन्तु बचाउने आइडिया बन्यो विजेता

बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ नामको ह्याकाथन आयोजना गरिएको छ । डेभलपर्स एसोसिएसन झापाको आयोजनामा २९ देखि ३१ साउनसम्म ४८ घण्टा चलेको यस ह्याकाथनमा भरतपुरको टोली ‘एरोमा ह्याकफोर्स’ ले उपाधि जितेको छ ।

गोमेन्द्र मल्टिपल कलेजको मुख्य प्रायोजन तथा आयोजना स्थल रहेको कार्यक्रममा नेपालका विभिन्न सहर तथा भारतको सिक्किमसहित क्षेत्रका १५ टोलीले सहभागिता जनाएका थिए । जसमध्ये १० टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।

विजेता बनेको भरतपुरको टोली ‘एरोमा ह्याकफोर्स’ (Aroma HackForce) ले वन्यजन्तु संरक्षण र फिल्ड अपरेसनका लागि सिमकार्ड वा इन्टरनेट बिना काम गर्ने लोकेसन ट्र्याकिङ र सञ्चार उपकरण तयार पारेको थियो ।

लो-रा (LoRa) प्रविधिमा आधारित यो उपकरणले नेटवर्क नभएको स्थानमा पनि टेक्स्ट मेसेज पठाउन र आपतकालीन अवस्थामा सूचना दिन सक्छ ।

त्यसैगरी, विभिन्न विधामा अन्य टोलीहरू पनि पुरस्कृत भएका छन् । सामाजिक प्रभाव (Social Impact) र ‘टेलिमेडिसिन’ विधामा ‘नेपडेभ’ उत्कृष्ट बन्यो भने संस्कृति सशक्तीकरण (Empowering Culture) विधामा झापाको वीर अमर सिंह माध्यमिक विद्यालयको टोली ‘फ्लुइड’ (Fluid) ले पुरस्कार जित्यो ।

‘ग्लोबल बिजनेस’ विधामा ‘नेलो’ र ‘बेस्ट आईओटी’ विधामा भरतपुरकै ‘बबज’ (Babuzz) पुरस्कृत भए ।

आयोजक समितिका सदस्य अविरल आचार्यले काठमाडौं केन्द्रित रहेको प्रविधिको इकोसिस्टमलाई विकेन्द्रीकरण गर्ने र पूर्वी नेपालका डेभलपरहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

“झापामा पहिलो पटक अन्तर्राष्ट्रिय ह्याकाथन आयोजना गर्नु एउटा सपना साकार हुनु जस्तै हो,” उनले भने, “यसले यहाँका युवा प्रतिभाहरूलाई उत्कृष्ट मञ्च प्रदान गरेको छ ।”

उनले विजेता टोली ‘एरोमा ह्याकफोर्स’ र ‘फ्लुइड’ का सदस्यहरू कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको जानकारी दिँदै युवाहरूको प्रविधिप्रतिको लगाव र विशेषज्ञता प्रेरणादायी रहेको सुनाए ।

आयोजक समितिमा अविरलसहित सोहन ढकाल, समीक्षा योङहाङ, सर्वेश अधिकारी, युगल निरौला, इशान पोखरेल, दीपक खनाल, विनायक कार्की, समिर निरौला, कौशल रिजाल लगायत थिए ।

कार्यक्रमलाई गोमेन्द्र मल्टिपल कलेजले मुख्य प्रायोजन तथा आरडी–वान स्टेप अहेडले सह-प्रायोजन गरेको थियो । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक, प्रथम आईटी सिस्टम, क्वालिटी कम्प्युटर लगायत विभिन्न संघसंस्थाले प्रायोजन तथा सहयोग गरेका थिए ।

कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय झापा, बिर्तामोड नगरपालिका र बिर्तामोड वडा नं. ४ ले पनि सहयोग गरेका थिए ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १९:४५