close

आईफोनपछि अब घर-घरमा रोबोट ल्याउने एप्पलको तयारी, काम चैँ के गर्ला ?

टेकपाना टेकपाना

भदौ ३, २०८२ २१:५६

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । एप्पलले घरमै प्रयोग गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रोबोट असिस्टेन्ट विकास गरिरहेको खबर सार्वजनिक भएको छ । यसअघि गत मे महिनामा कम्पनीले दुई ओटा स्मार्ट रोबोटमा काम गरिरहेको र तीमध्ये एकमा रोबोटिक आर्म (हात) रहेको रिपोर्ट बाहिरिएको थियो । ब्लुमबर्गको पछिल्लो रिपोर्टले उक्त जानकारीलाई थप पुष्टि गरेको हो ।

नयाँ रिपोर्टअनुसार एप्पल एक मात्र नभई धेरै रोबोट प्रोजेक्टमा काम गरिरहेको छ । त्यसमा उपभोक्तालाई चासो हुने प्रमुख प्रोजेक्ट भनेको ट्याब्लेट (आईप्याड) जस्तै डिभाइस हो । जसमा रोबोटिक आर्म जडान गरिएको छ ।

यो उपकरणले मानवीय अन्तरक्रियामा प्राकृतिक प्रतिक्रिया दिन सक्ने र बोल्ने व्यक्तितर्फ फर्केर संवाद गर्न सक्ने बताइएको छ ।

एप्पलको यो सानो रोबोटले फेसटाइम कलमा प्रयोगकर्तालाई ट्र्याक गर्दै सधैं फ्रेमभित्र राख्ने क्षमता राख्नेछ । यसलाई अझ जीवन्त बनाउन कम्पनीले सुधारिएको भर्सनको ‘सिरी’ प्रयोग गर्ने तयारी गरिरहेको छ ।

नयाँ सिरीले प्राकृतिक शैलीमा संवाद गर्नुका साथै दुई व्यक्तिबिचको कुराकानीमा उचित बेला सन्दर्भ दिन सक्ने बताइएको छ । यदि दुई जना डिनर योजनाबारे कुरा गर्दै छन् भने रोबोटले नजिकैको रेस्टुरेन्ट सुझाव दिन सक्ने ब्लुमबर्गले उल्लेख गरेको छ ।

रोबोटलाई अझ आत्मीय बनाउन एप्पलले म्याकओएसमा देखिने ‘फाइन्डर’ लोगोको हाँसो देखिने अनुहार प्रयोग गर्ने सम्भावना पनि छ ।

यी प्रोजेक्टमा हार्डवेयर, सफ्टवेयर, एआई तथा इन्टरफेस डिजाइन लगायतका विभिन्न टोली संलग्न छन् । यसमा नेतृत्व भने स्मार्टवाच सफ्टवेयर र अटोमोटिभ प्रोजेक्टमा काम गरेका केभिन लिन्चले गरिरहेका छन् ।

भविष्यमा एप्पल रोबोटिक आर्ममा सीमित नभई पाङ्ग्रा भएको रोबोट (अमेज़नको एस्ट्रो जस्तै) र मानव आकृतिको ह्युमनोइड रोबोटबारे पनि छलफल भइरहेको रिपोर्टमा उल्लेख छ । यस्तै, कम्पनीले निर्माण उद्योगका लागि पनि ठुलो रोबोटिक आर्म (कोडनेम T1333) विकास गरिरहेको जनाएको छ ।

तर, यी प्रोजेक्टमध्ये सबै सार्वजनिक हुने वा व्यावसायिक उत्पादनमा आउने पक्का छैन । एप्पलको असफल ‘प्रोजेक्ट टाइटन’ (बजारमा नआएको कार प्रोजेक्ट) जस्तै यो पनि रोकिन सक्ने अनुमान छ । तैपनि रोबोटिक आर्मसहितको एआई ट्याब्लेट बजारमा आउने सम्भावना बलियो देखिएको ब्लुमबर्गले लेखेको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ २२:११