close

साओमीका यी फोनहरूले पाउनेछन् ६ वर्षको सेक्युरिटी अपडेट

टेकपाना टेकपाना

भदौ ५, २०८२ १६:३६

साओमीका यी फोनहरूले पाउनेछन् ६ वर्षको सेक्युरिटी अपडेट

काठमाडौँ । साओमीले आफ्नो सफ्टवेयर अपडेट नीतिमा महत्त्वपूर्ण सुधार गर्दै केही डिभाइसहरूका लागि ६ वर्षसम्मको सफ्टवेयर अपडेट दिने घोषणा गरेको छ । फ्ल्यागशिप फोनहरूमा मात्र सीमित नभई मिड-रेन्ज फोनहरूलाई पनि समेट्ने गरी यो नीति ल्याइएको हो ।

जसले प्रयोगकर्ताहरूलाई लामो समयसम्म सुरक्षित र नवीनतम सुविधाहरूमा पहुँच प्रदान गर्नेछ । गत वर्ष घोषणा गरिएको यो नीतिले साओमीका फोनहरू नयाँ खतराहरूबाट सुरक्षित रहने र लामो समयसम्म सान्दर्भिक रहने कुराको सुनिश्चित गर्दछ । जसले प्रयोगकर्ताहरूलाई बारम्बार नयाँ फोन खरिद गर्नुपर्ने बाध्यताबाट बचाउनेछ ।

सा‌ओमीले हाललाई साओमी १५, साओमी १५ अल्ट्रा, साओमी प्याड ७, साओमी प्याड ७ प्रो, पोको एफ ७, पोको एफ ७ प्रो, पोको एफ ७ अल्ट्रा र रेडमी नोट १४ (फोरजी) मा ६ वर्षको सफ्टवेयर अपडेट दिने बाचा गरेको छ ।

यी डिभाइसहरूले कुल ६ वर्षसम्म सेक्युरिटी अपडेटहरू प्राप्त गर्नेछन् । सेक्युरिटी अपडेटहरूले नयाँ सुविधाहरू वा भिजुअल परिवर्तन नल्याए पनि नयाँ पत्ता लागेका कमजोरीहरूबाट डिभाइसलाई जोगाउने कुराको सुनिश्चित गर्छन् ।

यसका अतिरिक्त माथि उल्लिखित सबै साओमी डिभाइसहरूले चार वटा प्रमुख ओएस (अपरेटिङ सिस्टम) अपडेटहरू पाउने छन् । यस प्रकारका अपडेटहरूले धेरै नयाँ सुविधा र सुधार ल्याउँछन् । उदाहरणका लागि आगामी एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३ अपग्रेड ।

साओमीको यो ६ वर्षको सफ्टवेयर अपडेट नीति एन्ड्रोइड डिभाइसहरूको हकमै उल्लेखनीय मानिएको छ । कम्पनीले रेड्मी प्याड २ जस्ता केही डिभाइसहरूमा भने सात वर्षसम्मको अपडेट पनि प्रदान गरिरहेको छ ।

यो सामसङ र गुगलसहित कुनै पनि एन्ड्रोइड ब्रान्डले प्रदान गर्ने अधिकतम सुरक्षा अपडेट हो । यो सुधारले रेड्मी नोट १४ (फोरजी) र पोको एफ ७ जस्ता मिडरेन्ज फोनहरूले पनि फ्ल्यागशिप स्तरको लामो सफ्टवेयर सपोर्ट प्राप्त गरिरहेको देखाउँछ । साओमीको यो नीतिले अन्य मिडरेन्ज र सस्ता मोडलका फोनमा समेत लामो समयको सेक्युरिटी अपडेट दिने आशा गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १६:३६