close

३६ हजार रुपैयाँमै ल्यापटपको काम समेत गर्ने ट्याब्लेट ‘ब्ल्याकभ्यु मेगा थ्री’, जान्नुहोस् मुख्य विशेषता

टेकपाना टेकपाना

भदौ ६, २०८२ १४:५९

३६ हजार रुपैयाँमै ल्यापटपको काम समेत गर्ने ट्याब्लेट ‘ब्ल्याकभ्यु मेगा थ्री’, जान्नुहोस् मुख्य विशेषता

काठमाडौँ । आजको डिजिटल युगमा, काम, अध्ययन र मनोरञ्जनका लागि एउटै डिभाइसले धेरै काम गरोस् भन्ने चाहना सबैको हुन्छ । यस्तै आवश्यकतालाई मध्यनजर गर्दै बजारमा विभिन्न ट्याब्लेट (ट्याब) उपलब्ध छन् जसले ल्यापटपको जस्तै पर्फमेन्स दिने दाबी गर्छन् । 

यही दौडमा ब्ल्याकभ्यु नामक कम्पनीले आफ्नो नयाँ ट्याब्लेट ‘मेगा थ्री’ (Mega 3) नेपाली बजारमा ल्याएको छ । ब्ल्याकभ्युले विगत पाँच वर्षदेखि नेपाली बजारमा ट्याबलेट, स्मार्टवाच, स्मार्टफोन बिक्री गर्दै आएको छ ।  के ब्ल्याकभ्युले ल्याएको यो नयाँ  ट्याबलेटले ट्याब्लेट र ल्यापटप दुवैको काम गर्न सक्छ ? के यो आफ्नो मूल्यअनुसार अब्बल छ ? यस लेखमा मेगा थ्रीका विभिन्न पक्षबारे चर्चा गरिएको छ ।

आकर्षक डिजाइन र बनावट

ब्ल्याकभ्यु मेगा थ्री (Blackview Mega 3) पहिलो नजरमै प्रिमियचम देखिन्छ । यसको म्याट फिनिस र स्लिक डिजाइनले यसलाई आकर्षक बनाएको छ । करिब ५५५ ग्राम तौल भएकोले यसलाई बोकेर हिँड्न वा हातमा राखेर काम गर्न सहज महसुस हुन्छ । हार्ड प्लास्टिक मटेरियलबाट बनेको भए पनि यसको बनावट मजबुत छ । यद्यपि म्याट फिनिसमा औंलाको दाग बस्ने सम्भावना भने रहन्छ । समग्रमा यसको डिजाइन र बनावटले निराश बनाउँदैन ।

ठुलो र आकर्षक डिस्प्ले

मेगा थ्रीमा १२.१ इन्चको एफएचडी प्लस आईपीएस (FHD+ IPS) डिस्प्ले छ जसले ९० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ । यसले गर्दा स्क्रोलिङ र गेमिङको अनुभव निकै सहज हुन्छ । ६०० निट्सको ब्राइटनेसले कोठाभित्र वा सामान्य प्रकाशमा काम गर्न पर्याप्त छ तर चर्को घाममा बाहिर प्रयोग गर्दा भने स्क्रिन हेर्न अलि असहज हुन सक्छ । यसमा १००० निट्सको पिक ब्राइटनेस आवश्यक भएको हाम्रो अनुभव छ । यसमा अलि मोटो बेजल्स दिइएको छ जसले ट्याब्लेट समाउन सजिलो बनाउँछ र झुक्किएर स्क्रिनमा छुनबाट पनि जोगाउँछ। सामान्यतयः भिडिओ हेर्न, इन्टरनेट चलाउन वा डिजाइनको काम गर्न यसको डिस्प्ले अनुभव सन्तोषजनक छ ।

पर्फमेन्स र सफ्टवेयर

यो ट्याब्लेट पछिल्लो एन्ड्रोइड १५ मा आधारित छ र यसमा सन् २०२४ मा लन्च भएको मिडियाटेक जी१०० (Mediatek G100) अक्टा-कोर प्रोसेसर प्रयोग गरिएको छ । यो एक मिड-रेन्ज चिपसेट हो जसले दैनिक कामकाज, इन्टरनेट ब्राउजिङ र सामान्य मल्टिटास्किङ सहजै ह्यान्डल गर्न सक्छ । 

  • दैनिक प्रयोग: अफिसका सामान्य काम, विद्यार्थीका लागि अनलाइन क्लास र नोट बनाउने जस्ता काममा यसले कुनै ल्याग बिना राम्रो पर्फमेन्स दिन्छ ।

  • डिजाइनरका लागि: डिजाइनर, आर्किटेक्ट वा कार्टुनिस्टका लागि पनि यो उपयोगी छ । यसमा डिजाइन-कम्प्याटिबल एप सहज रूपमा चलेको हामीले पायौं ।

  • गेमिङ: सामान्य गेम बिना कुनै समस्या चल्छन् भने हाई इन्ड गेम पनि तल्लो सेटिङ्समा खेल्न सकिन्छ ।

यसको साथमा पाइने स्टाइलस पेनले डिजाइन वा नोट लेख्न निकै सहयोग पुर्‍याउँछ । स्केचिङ गर्दा कहिलेकाहीँ मिलिसेकेन्डको ल्याग महसुस भए पनि त्यो खासै ठुलो समस्या नहोला ।

यो ट्याब्लेटको सबैभन्दा उत्कृष्ट फिचरमध्ये एक ‘पीसी मोड’ हो । किबोर्ड र माउस जोडेर यसलाई मिनी-ल्यापटप जस्तै प्रयोग गर्न सकिन्छ जसले उत्पादकत्व बढाउन मद्दत गर्छ । यसमा जेमिनाई एआई, इमेज एडिटर र म्युजिक कम्पोजर जस्ता केही एआई टुल्स पनि प्रि-इन्स्टल गरिएका छन् । यी एआई टुलका आधारभूत फिचर भने निःशुल्क प्रयोग गर्न सकिन्छ । 

क्यामेरा

ट्याब्लेटमा क्यामेरालाई खासै प्राथमिकता दिइएको पाइँदैन । तर मेगा थ्री भने यस पक्षमा केही अघि छ । यसमा सोनी आईएमएक्स ३६२ सेन्सर सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । सेल्फी र भिडिओ कलका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । पर्याप्त प्रकाशमा खिचिएका फोटो कामचलाउ र सामाजिक सञ्जालका लागि उपयुक्त हुन्छन् । साथै यसबाट राम्रो गुणस्तरको फुल एचडी भिडिओ पनि रेकर्ड गर्न सकिन्छ ।

ब्याट्री र चार्जिङ

ब्ल्याकभ्यु मेगा थ्रीमा ८८००एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ । यसले सामान्य प्रयोगमा २ देखि ३ दिनसम्मको ब्याकअप दिने कम्पनीको दाबी छ । साथै ३३ वाटको फास्ट चार्जिङ सपोर्टले यसलाई छिट्टै चार्ज गर्न मद्दत गर्छ ।

स्टोरेज र कनेक्टिभिटी

यसमा १२ जीबी एलपीडीडीआर फोर एक्स (LPDDR4X) र्‍याम छ जसलाई भर्चुअल र्‍याममार्फत २४ जीबीसम्म बढाउन सकिन्छ । २५६ जीबीको इन्टर्नल स्टोरेजले तपाईंका फाइल, फोटो र एपका लागि पर्याप्त ठाउँ प्रदान गर्छ । 

कनेक्टिभिटीका लागि यसमा डुअल सिम र डुअल-ब्यान्ड वाईफाईको सुविधा पनि छ । यसमा रहेको बक्स स्पिकरको साउन्ड क्वालिटी भने औसत मात्र छ ।

मूल्य र विशेष अफर

नेपाली बजारमा ब्ल्याकभ्यु मेगा थ्रीको मूल्य ३५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो मूल्यमा यति धेरै फिचर पाउनु राम्रो कुरा हो । अझ आकर्षक कुरा त के छ भने लन्च अफर अन्तर्गत यो ट्याब्लेट किन्दा ग्राहकले एउटा ब्लुटुथ किबोर्ड र ब्ल्याकभ्यु आर५० (Blackview R50) स्मार्टवाच उपहार स्वरूप निःशुल्क पाउनेछन् । यो अफरले पनि यस ट्याबलेटलाई थप आकर्षक र किफायती बनाएको छ ।

समग्रमा ब्ल्याकभ्यु मेगा थ्री एउटा आकर्षक र राम्रो पर्फमेन्स ट्याब्लेट हो जुन विद्यार्थी, व्यवसायी, डिजाइनर र सामान्य प्रयोगकर्ता सबैका लागि उपयुक्त छ । यसको ठुलो स्क्रिन, पीसी मोड, स्टाइलिस पेन र लन्च अफरमा पाइने निःशुल्क किबोर्डले यसलाई मिनी-ल्यापटपको उत्कृष्ट विकल्प बनाउँछ । यदि तपाईं ४० हजारभन्दा कम मूल्यमा काम र मनोरञ्जन दुवैका लागि एउटा भरपर्दो ट्याब्लेट खोज्दै हुनुहुन्छ भने ब्ल्याकभ्यु मेगा थ्री एक उत्तम विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १४:५९