सामाजिक सञ्जालसँगै जिमेल प्रतिबन्ध भए सम्पूर्ण एन्ड्रोइड फोन र एपमा समेत समस्या आउन सक्ने
भदौ १९, २०८२ १२:१८
काठमाडौँ । सामाजिक सञ्जालसँगै जिमेल लगायतका गुगल सेवाहरूमाथि पनि प्रतिबन्ध लागेमा एन्ड्रोइड फोनको प्रयोगमा गम्भीर र दूरगामी असर पर्ने देखिएको छ । जिमेल एउटा ईमेल सेवा मात्र नभई अधिकांश एन्ड्रोइड डिभाइसको आधारशिला नै भएकाले सम्पूर्ण गुगल इकोसिस्टममा अवरोध आउने देखिएको हो ।
सरकारले दिएको बुधबार राति १२ बजेसम्मको अन्तिम म्याद सकिए पनि सामाजिक सञ्जालहरू सूचीकरणमा आएका छैनन् । जसको प्रतिक्रिया स्वरूप सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्ने देखिएको छ ।
सरकारले जुन निर्देशिकालाई सामाजिक सञ्जाल प्रतिबन्धको आधार बनाइरहेको छ, त्यसमा सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषा गरिएको छ । जसअनुसार कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदान प्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित सार्वजनिक रूपमा उपलब्ध हुने गरी सञ्चालनमा ल्याइएका प्रणाली नै सामाजिक सञ्जाल हुन् । यो परिभाषाले जिमेल लगायतका अन्य ईमेल सेवालाई पनि समेट्ने देखिन्छ ।
यदि जिमेल प्रतिबन्ध भएमा नेपाली प्रयोगकर्ताले त्यसको एप वा वेब इन्टरफेस मार्फत इमेल पठाउन, प्राप्त गर्न वा पहुँच गर्न सक्ने छैनन् । एन्ड्रोइड प्रयोगकर्ताहरूले एप डाउनलोड र अपडेट गर्ने मुख्य माध्यम नै गुगल प्ले स्टोर भएकाले जिमेल बिना त्यसमा समेत पहुँच बन्द हुन सक्छ । यसले नयाँ एप डाउनलोड गर्न, भएका एप अपडेट गर्न र इन-एप खरिद गर्न समस्या निम्त्याउन सक्छ ।
गुगल सेवामा प्रतिबन्ध लागेमा जिमेल र प्ले स्टोर बाहेकका गुगलका अन्य डिफल्ट एपहरूले पनि काम गर्न छोड्ने वा तिनीहरूको महत्त्वपूर्ण कार्यक्षमता गुम्ने जोखिम छ । जसमा गुगल म्याप, गुगल ड्राइभ, फोटो र डक्स, युट्युब, गुगल असिस्टेन्ट लगायतले काम नगर्ने हुन सक्छ ।
प्रयोगकर्ताको गुगल अकाउन्टमा आधारित ईमेल, कन्ट्याक्ट, क्यालेन्डर, ड्राइभ तथा फोटो ब्याकअप र डिभाइस सेटिङ सिङ्क्रोनाइजेसन बन्द हुन सक्छ । गुगल क्लाउडमा स्टोर गरिएका डेटामा प्रयोगकर्ताले पहुँच गुमाउने जोखिम पनि बढ्नेछ ।
यति मात्र होइन, गुगलमार्फतै विभिन्न अन्य वेबसाइट तथा एपहरूमा प्रयोगकर्ताले साइन इन गरिरहेका हुन्छन् । त्यस्ता कयौँ एपहरू र कर्पोरेट सेवाले गुगललाई अथेन्टिकेटरको रूपमा प्रयोग गर्छन् । गुगलको अथेन्टिकेटर पोइन्टहरूमा पहुँच नहुँदा प्रयोगकर्ताहरूले ती एपहरूमा साइन इन गर्न वा अथेन्टिकेसनमा आधारित लगइन गर्दा समस्याको सामना गर्नुपर्नेछ ।
मेसेजिङ एप, सामाजिक सञ्जाल, पात्रो, वालेट लगायतका एपहरू पुश नोटिफिकेसन पठाउन गुगल क्लाउड मेसेजिङ (फायरबेस क्लाउड मेसेजिङ) मा भर पर्छन् । यो सेवा बिना प्रयोगकर्ताहरूले म्यानुअली एप खोल्दा मात्र सूचनाहरू प्राप्त गर्नेछन् ।
अधिकांश एपहरू गुगल मोबाइल सर्भिस तथा एन्ड्रोइडमै कोड गरिएका छन् । जसले गर्दा ती एपहरूमा "App won't run without google play services" जस्ता त्रुटि देखिन सक्छन् र प्रयोग विहीन हुन सक्छन् । यसमा कयौँ बैङ्किङ एप, राइड-शेयरिङ सेवा र गेमहरू पर्छन् ।
जीपीएसले काम गरे पनि छिटो र प्रिसाइज लोकेसन सर्भिस बिग्रन सक्छ । जसले सटीक लोकेसन डेटा चाहिने एपहरूलाई असर गर्न सक्छ ।
यस्तै गुगल प्ले प्रोटेक्ट (मालवेयर स्क्यान गर्ने) र स्वचालित प्रणाली अपडेटहरू पनि निष्क्रिय हुनेछन् । महत्त्वपूर्ण सेक्युरिटी प्याच प्राप्त गर्न नसक्दा फोनहरूमा असुरक्षाको जोखिम बढ्न सक्छ ।
यसरी हेर्दा सामाजिक सञ्जाल र जिमेलमाथि प्रतिबन्ध लागेमा धेरै प्रयोगकर्तालाई एन्ड्रोइड फोनहरूको उपयोगितामा ह्रास आउनेछ । आफ्नो कुनै पनि डिजिटल इकोसिस्टम नभएको नेपालका लागि यसले गम्भीर सङ्कट निम्त्याउन सक्छ ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १२:१८
