काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइतेहरूको सबै उपचार निःशुल्क गर्न अस्पतालहरूलाई परिपत्र गरेको छ ।
सोमबार भएको आन्दोलनमा देशभरका कम्तीमा १९ जना युवाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । घाइते भएकाहरूको जीवनरक्षाका लागि नि:शुल्क उपचार गर्न परिपत्र गरेको मन्त्रालयले जनाएको हो ।
उपचार भइरहेका अस्पतालका आकस्मिक कक्षमा बिरामीको चाप बढेकाले स्वास्थ्यकर्मीको व्यवस्थापन समेत गरिएको मन्त्रालयले जनाएको छ । सिभिल अस्पतालको आकस्मिक कक्षमा ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले उल्लेख गरेको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार भइरहेको जनाएको छ ।
यस्तै, रगत अभाव हुन नदिन २४सै घण्टा हटलाइन १११५ सक्रिय गराइएको मन्त्रालयले जनाएको छ । बिरामी र अस्पतालले उक्त नम्बरमा फोन गरेर रगत अभावको जानकारी गराउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २१:२०
