आगलागीले भायानेटको संवेदनशील पूर्वाधारमा क्षति, इन्टरनेट आंशिक रूपमा चल्यो, आईपीटिभी कहिले ?
भदौ २६, २०८२ १२:२३
काठमाडौँ । भायानेटको डेटा सेन्टरमा लागेको आगलागीका कारण अवरुद्ध बनेको सेवा पुनः सञ्चालनमा आउन थालेको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क (जहाँ कान्तिपुर मिडिया ग्रुप पनि रहेको छ) मा मंगलबार अपराह्न ४:४५ बजे आगलागी हुँदा त्यहाँ रहेको भायानेटको डेटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो ।
भायानेटसँग ब्याकअप डेटा सेन्टर भए पनि थापाथलीस्थित क्रिटिकल पूर्वाधारमा क्षति पुग्दा ग्राहकको चाप धान्न नसकेर इन्टरनेट र भायाटिभी दुबै सेवा प्रभावित भएका हुन् ।
संवेदनशील पूर्वाधारमा क्षति पुगेको थाहा पाएलगत्तै भायानेटले प्राविधिक टोली खटाए पनि आगलागीका कारण तत्काल भवनभित्र प्रवेश गर्न सकिने अवस्था थिएन । केही प्रयासपछि इन्टरनेट सेवा आंशिक रूपमा सुचारु भए पनि भायाटिभी भने अवरुद्ध नै रह्यो ।
२५ भदौ बिहान मात्र नेपाली सेना र प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएपछि भायानेटको प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सफल भएको थियो । यसपछि प्राविधिक टोली डेटा सेन्टरमा पुगेर क्षतिग्रस्त संरचना निरीक्षण गरेको भायानेटले जनाएको छ ।
धुँवा र फुटेका सिसा हटाउँदै इन्जिनियरहरूले संवेदनशील सर्भर तथा वैकल्पिक डेटा सेन्टरसँग जडानको काम सुरु गरेका थिए । त्यसयता कम्पनीले क्रमिक रूपमा इन्टरनेट र भायाटिभी सेवा पुनःस्थापनाको काम अघि बढाइरहेको छ ।
भायानेटका अनुसार बिहीबारसम्ममा इन्टरनेट सेवा पूर्ण रूपमा सञ्चालनमा आउने छ भने इन्टरनेट स्थिर भएपछि मात्र भायाटिभी सेवा सुरु गरिनेछ ।
“हाम्रो इन्टरनेट र भायाटिभी सेवा अवरुद्ध हुन पुगेकोमा हामी क्षमा चाहन्छौं । अहिलेको विषम परिस्थितिमा समाचारको पहुँच पाउनु र आफन्तसँग सम्पर्कमा रहनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो भन्ने हामी बुझ्छौं । त्यसैले हाम्रो प्राविधिक टोली जतिसक्दो छिटो सेवा पुनः सुरु गर्न लागिपरेको छ,” भायानेटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १२:३१
