काठमाडौँ । मनसुनजन्य विपद् र चाडपर्वको मौका छोपेर राइड शेयरिङ प्लेटफर्मले यात्रुहरूसँग चर्को भाडा असुल्न थालेका छन् । सीमित राइडरको बहाना बनाउँदै चर्को शुल्क लिने तथा यात्रुलाई अफलाइन माध्यमबाट सेवा लिन बाध्य पार्ने प्रवृत्ति बढेको हो ।
विशेषगरी इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड शेयरिङ प्लेटफर्महरूले साविकको भन्दा अत्यन्त चर्को मूल्य लिई यात्रुहरूलाई ठगी गरिरहेको गुनासो आएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिँदै कार्यालयले ठगी गर्ने व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
“हाल मनसुनजन्य विपद्को अवस्थामा इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड शेयरिङ गर्ने सवारी साधनहरूले सेवा प्रदान गर्ने कममा यात्रुहरुलाई साविकको भन्दा अत्यन्त चर्को मूल्य लिएको भनि गुनासो प्राप्त हुन आएको छ । अतः यसरी कोही कसैलाई ठगी नगर्नु नगराउनुहुन अनुरोध छ । यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाण सहित यस जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैलाई आह्वान गरिएको छ ।”
कतिपय राइडरहरूले एपमा राइड स्वीकार गरेपछि यात्रुलाई राइड रद्द गर्न लगाएर वा एपमा उपलब्ध भाडाभन्दा बढी शुल्क लिएर अफलाइनमा सेवा दिन बाध्य पारेको गुनासो पनि बढेको छ । यसरी अफलाइनमा सेवा लिँदा सुरक्षाको जोखिम बढ्ने र भाडामा मनपरी हुने समस्या थपिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १९:४२
