close

सिस्टम नै ध्वस्त भएपछि विभागले यातायात कार्यालयलाई भन्योः ढड्डाबाटै भए पनि सेवा प्रवाह गर्नू

टेकपाना टेकपाना

असोज २३, २०८२ १७:८

सिस्टम नै ध्वस्त भएपछि विभागले यातायात कार्यालयलाई भन्योः ढड्डाबाटै भए पनि सेवा प्रवाह गर्नू

काठमाडौँ । यातायात व्यवस्था विभागमा २३-२४ भदाैमा भएको तोडफोड र आगजनीका कारण सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ताको विद्युतीय प्रणाली (ईडीएलभीआरएस-EDLVRS) पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेश मातहतका यातायात कार्यालयहरूलाई वैकल्पिक विधिबाट सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।

बिहीबार एक सूचना जारी गर्दै विभागले ईडीएलभीआरएस प्रणाली सञ्चालनमा नआएसम्म मौजुदा रेकर्ड वा सम्बन्धित व्यक्तिका कागजातका आधारमा सेवा दिन अनुरोध गरेको हो ।

विभागले प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूलाई आफ्नो तालुक प्रदेश मन्त्रालयसँग समन्वय गरी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन आग्रह गरेको छ । यस विषम परिस्थितिमा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै यथासम्भव सेवा निरन्तरता दिन विभागले जोड दिएको हो ।

जेनजी प्रदर्शनको आडमा यातायात व्यवस्था विभागको कार्यालयमा तोडफोड र आगजनी हुँदा भौतिक संरचना, विद्युतीय प्रणाली र विशेषगरी ईडीएलभीआरएस प्रणालीमा गम्भीर क्षति पुगेको विभागको भनाइ छ । यसबाट विभागबाट प्रवाह हुने सम्पूर्ण सेवा एक महिनायता अवरुद्ध छन् ।

 


 

विभागले उक्त प्रणालीहरू पुनर्स्थापित गरी सेवा प्रवाहलाई यथाशीघ्र सामान्यीकरण गर्न तीव्र गतिमा काम भइरहेको जनाएको छ ।

नेपालको संविधान र कार्य विस्तृतीकरण प्रतिवेदन, २०७५ बमोजिम सवारी चालक अनुमतिपत्र वितरण र सवारी दर्तासम्बन्धी कार्य प्रदेश सरकारको जिम्मेवारीमा पर्छ । प्रदेश मातहतका यातायात कार्यालयहरूबाटै यी सेवाहरू सञ्चालन हुँदै आएका छन् । विभागको ईडीएलभीआरएस प्रणाली अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर प्रदेश सरकार मातहतका कार्यालयहरूमा परेको छ ।

 


 


पछिल्लो अध्यावधिक: असोज २३, २०८२ १७:२५