काठमाडौँ । प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले पाएको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र खारेजी प्रक्रियामा गएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(४) बमोजिम उक्त कम्पनीको अनुमतिपत्र नवीकरण नगरिएको जानकारी दिएको हो ।
प्रभु बैंक लिमिटेडसँग सम्बद्ध प्रभु टेक्नोलोजीले २०७६ फागुन ११ मा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लिई डिजिटल वालेट प्रभु पे सञ्चालन गर्दै आएको थियो । यसअन्तर्गत मोबाइल एपमार्फत रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी जस्ता सेवा दिएको कम्पनीले पछिल्लो समय आफ्नो प्लेटफर्मलाई सक्रिय राखेको छैन ।
कानुनबमोजिम नवीकरण प्रक्रिया पूरा नभएपछि नियामक राष्ट्र बैंकले उक्त कम्पनीको अनुमतिपत्र खारेज गरेको हो ।
राष्ट्र बैंकले प्रभु टेक्नोलोजीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूलाई ध्यानाकर्षण गराउँदै उक्त संस्थासँग कुनै पनि किसिमको लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

*शीर्षक परिमार्जन गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १४:१७
