पैसा कमाउने लोभमा भ्रामक पोस्ट राख्दा गुम्न सक्छ फेसबुकको कन्टेन्ट मनिटाइजेसन
असोज २७, २०८२ १८:५७
-राजेन्द्र अर्याल
मेटाले नेपालमा पनि फेसबुकले कन्टेन्ट मनिटाइजेसन (फोटो, भिडिओ अपलोड गरेर वा अन्य सामग्री राखेर पैसा कमाउन सकिने सुविधा) हालसालै सुरु गरेको छ । यो सिर्जनात्मक काम गर्नेहरूका लागि पक्कै पनि खुसीको कुरा हो । तर, लामो समयदेखि सयौँ नेपाली कलाकार र पब्लिक फिगरका फेसबुक पेज व्यवस्थापन गरिरहँदा मैले यो सुविधासँगै ठुलो जोखिम पनि बढेको अनुभव गरेको छु ।
पैसा कमाउने हतारोमा धेरैले आफ्नो मुख्य लक्ष्य बिर्सेर इङ्गेजमेन्ट र रिचको पछि लाग्दा एकातर्फ भ्रामक सूचना फैलाएर समाज त्रसित बनाइरहेका छन् भने अर्को तर्फ पेजबाट हुने आम्दानीको बाटो बिगारिरहेका छन् । फेसबुकले क्रियटरका लागि आम्दानीको विकल्प दिन सन् २०१७ देखि मनिटाइजेसन सुरु गरेको भए पनि हालसम्म यो सुविधा विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध भइसकेको छैन ।
अहिले पनि विश्वका सीमित देशमा मात्र यो सुविधा उपलब्ध छ र त्यसमा नेपाल पनि परेको छ । प्रत्यक्ष रूपमा फेसबुकबाट आम्दानी नहुने भएकाले सुरुवाति समयमा फेसबुक पेज मुख्यगरी धेरै फलोअर बनाउने, आफ्नो ब्रान्ड स्थापना गर्ने, आफ्ना रुचिका विषयको जानकारी दिने उद्देश्यले सुरु हुन्थे । धेरै फलोअर भएका विश्वसनीय पेजले स्थानीय विज्ञापन लिने र त्यसैबाट केही आम्दानी गर्न सक्थे । त्यसैले पनि फेसबुक पेजलाई विश्वसनीय बनाउनमा सामाजिक सञ्जाल प्रयोगकर्ता केन्द्रित हुन्थे ।
तर, अहिले अवस्था फेरिएको छ । कन्टेन्ट मनिटाइजेसन कार्यक्रम अन्तर्गत फेसबुकले नै सिधै नेपाली खातामा पैसा दिन थालेपछि फलोअरभन्दा पनि पोस्टमा आउने इङ्गेजमेन्ट (लाइक, कमेन्ट र शेयर) को महत्त्व ह्वात्तै बढेको छ । जति धेरै मान्छेले पोस्ट हेर्छन्, त्यसमा कमेन्ट गर्छन् वा भनौँ अन्तर्क्रिया गर्छन्, उति धेरै कमाइ हुन्छ र फलोअर पनि बढ्छन् भन्ने बुझाइले गर्दा मानिस जे पनि पोस्ट गर्न थालेका छन् ।
यही ‘एक-दुई सय डलर’ कमाउने लोभमा फेसबुकमा अहिले भ्रामक तथा मिथ्या सूचनाको बाढी नै आउन थालेको छ । हालै भएको जेन-जी प्रदर्शन, प्राकृतिक विपद् जस्ता विषम परिस्थितिमा पनि भ्रामक तथा मिथ्या सूचना कसरी फैलिए भन्ने विषय जगजाहेर नै छ ।
चर्चित राजनीतिज्ञ वा पब्लिक फिगर (सार्वजनिक व्यक्तित्व) का समर्थकलाई जुधाएर इङ्गेजमेन्ट बढाएर आम्दानी गर्न ‘यो मान्छेलाई समर्थन गर्नेले ‘क’ र फलानो मान्छेलाई समर्थन गर्नेले ‘ख’ लेखौँ’ वा ‘यो कुरा ठीक कि बेठीक ?’ भन्दै जबरजस्ती कमेन्ट गराउने खालका पोस्ट पनि छ्यापछ्याप्ती देखिन्छन् । अरूको युट्युब वा टिकटकको भिडिओ, पोस्ट र स्टाटस कपी गरेर हाल्ने, एआईले बनाएका नक्कली भिडिओ वा समाचारलाई सक्कली भन्दै फैलाउने प्रवृत्ति पनि बढेको छ । चलेका र व्यावसायिक कलाकार तथा सार्वजनिक व्यक्तित्वले त आफ्नो इज्जतका लागि यस्तो गर्दैनन् । तर धेरै जसो अन्य पेजले, अझ केही युट्युबरले समेत थोरै लाइक र कमेन्टको लोभमा समाजमा आतङ्क र भ्रम फैलाइरहेका छन् ।
धेरैलाई लाग्दो हो, फेसबुकलाई के थाहा हुन्छ र ? तर, यो सोचाइ एकदमै गलत हो । तपाईँले हालेको कुरा तपाईँको आफ्नै मेहनतको हो कि अरूको चोरेको हो, त्यो साचो हो कि झुटो हो भनेर छुट्ट्याउने प्रविधि फेसबुकसँग छ । आज नहोला, तर भोलि वा एक वर्षपछि पनि फेसबुकले तपाईँका पुराना पोस्ट जाँचेर गल्ती पत्ता लगाउन सक्छ । अरूको कन्टेन्ट चोर्दा, नक्कली कुरालाई सक्कली भनेर हाल्दा वा गलत तरिकाले लाइक–कमेन्ट बढाउन खोज्दा फेसबुकले नियम मिचेको (कम्युनिटी गाइडलाइन्स वा कपीराइटको कुरा उठाएर) भन्दै पैसा आउने बाटो (मनिटाइजेसन) सधैँका लागि बन्द गरिदिन सक्छ ।
पेजको रिच (अरूको फिडमा पुग्ने क्षमता) घटाइदिन सक्छ । कतिपय अवस्थामा त गलत सूचना र साइबर अपराध बढ्यो भनेर सरकारी निकायले नै फेसबुकलाई अनुरोध गरेर त्यस्ता पेजको मनिटाइजेसन रोकिदिएका उदाहरण नेपालमा पनि प्रशस्तै छन् ।
यसमा सबैभन्दा बुझ्नैपर्ने र डरलाग्दो प्राविधिक कुरा अर्को पनि छ । फेसबुकबाट कमाएको पैसा झिक्न हामीले बैँक खाता जोडेर एउटा सेटिङ मिलाउँछौँ, जसलाई ‘पेआउट अकाउन्ट’ भनिन्छ । मानौँ तपाईँसँग पाँच वटा अलग-अलग फेसबुक पेज छन् र ती सबै पेजको पैसा एउटै खातामा आउने बनाउनुभएको छ । यदि ती पाँचमध्ये एउटा पेजले मात्रै पनि गलत वा भ्रामक पोस्ट हाल्यो र फेसबुकको कारबाहीमा पर्यो भने त्यसको असर बाँकी चार ओटा राम्रा पेजमा पनि पर्छ । फेसबुकले एउटाको गल्तीका कारण त्यो खातासँग जोडिएका सबै पेजको पैसा रोकिदिन सक्छ । एउटा पेजमा गरेको सानो लोभले वर्षौँदेखि मेहनत गरेका अरू राम्रा पेजहरू पनि डुब्न सक्छन् ।
त्यसैले फेसबुकले दिएको यो पैसा कमाउने अवसरलाई गलत तरिकाले प्रयोग नगरौँ । आज भाइरल हुने र केही डलर कमाउने लोभमा भ्रामक, उत्तेजक वा चोरीका पोस्ट हाल्दा भोलि सधैँका लागि पछुताउनुपर्ने हुन सक्छ । आफ्नै चोखो मेहनतले बनाएका, सिर्जनात्मक र साचो कुराहरू मात्र पोस्ट गरौँ । थोरै लाइक र कमेन्टको लागि आतङ्क मच्चाउन बन्द गरौँ ।
(लेखक अर्याल नेपालमा चर्चित कलाकारका सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका एक प्राविधिक हुन् ।)
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १८:५९
