close

बजारमा ‘बारफोन’ को पुनरागमन, के स्मार्टफोनको लतबाट छुट्कारा देला ?

टेकपाना टेकपाना

असोज २९, २०८२ २२:४३

बजारमा ‘बारफोन’ को पुनरागमन, के स्मार्टफोनको लतबाट छुट्कारा देला ?

काठमाडौँ । सम्भवतः तपाईं यो लेख आफ्नो स्मार्टफोनमा पढ्दै हुनुहुन्छ । तपाईं सामाजिक सञ्जाल, कुनै समाचार एप, ईमेल वा ब्राउजर हुँदै यहाँसम्म आइपुग्नुभएको हुनसक्छ । पक्कै पनि तपाईंले यही समाचार पढ्ने नियतले आफ्नो स्मार्टफोन खोल्नुभएको थिएन । तर, अन्ततः यहीं आइपुग्नुभयो ।

यसलाई आवश्यकता, बानी वा लत जे भनेर पनि परिभाषित गर्न सकिन्छ । जेजस्तो भए पनि हामी सबै आफ्नो फोनमा व्यस्त छौं । स्मार्टफोनको लत र यसले हाम्रो निद्रा, कार्यक्षमता र समग्र मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे भएका अध्ययन र तथ्याङ्क डरलाग्दा छन् । 

हामीले फोन प्रयोग नगर्दा पनि यदि त्यो हाम्रो कोठामा मात्र छ भने पनि त्यसले हाम्रो मस्तिष्कलाई असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । तैपनि एक पुस्ताभन्दा कम समयमै स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ ।

यद्यपि धेरै मानिस यसबाट छुट्कारा पाउन विभिन्न उपायहरू खोजिरहेका छन् । कोही आफ्नो कार्यक्षमता र स्वास्थ्य सुधार गर्न ‘डिजिटल डिटक्स’ चाहन्छन्, कोही आफ्ना छोराछोरीको भविष्यलाई लिएर चिन्तित छन्, कोही डेटा गोपनीयताको डरले यसबाट टाढा रहन खोजिरहेका छन् । केही भने कोही ‘एटेन्सन इकोनोमी’ (ध्यान खिचेर पैसा कमाउने व्यापार) बाट आफूलाई अलग राख्न चाहन्छन् । कतिपय युवा त प्रविधिबाट पूर्ण रूपमा टाढिएर आफूलाई गर्वका साथ ‘लुडाइट्स’ (प्रविधि विरोधी) भनेर चिनाइरहेका छन् ।

यस्तो अवस्थामा धेरैले ‘डम्बफोन’ (बारफोन/फिचरफोन) लाई विकल्पका रूपमा रोजिरहेका छन् । डम्बफोन अर्थात् स्मार्टफोन आउनुअघिका पुराना फोन वा सीमित सुविधा भएका नयाँ मोडल जसलाई कहिलेकाहीँ ‘फिचर फोन’ पनि भनिन्छ । यस्ता फोनका प्रयोगकर्ताको एउटा सानो, तर सक्रिय समुदाय अनलाइनमा छ जसले पुराना तर उत्पादन बन्द भइसकेका ह्यान्डसेट कहाँ किन्ने र हालका मोडेलका विशेषता के-के हुन् भन्नेबारे विस्तृत जानकारी र सल्लाह आदानप्रदान गर्छन् ।

काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक याङ वाङले सीएनएनलाई भने अनुसार फिचर फोनको बजार अझै पनि ठुलो छ । यद्यपि विकासोन्मुख देशमा स्मार्टफोन प्रयोगकर्ता बढेसँगै यो क्रमशः घट्दै गएको छ । गत वर्ष विश्वभर बेचिएका कुल ह्यान्डसेटमध्ये करिब १५ प्रतिशत फिचर फोन थिए जसको संख्या लगभग २१ करोड र मूल्य ३.२ अर्ब डलर थियो । 

विकसित देशमा भने केही विशेष कम्पनीले प्रिमियम डम्बफोन बनाइरहेका छन् । उनीहरूले #BringBackBlackberry, #BringBackFlipPhones जस्ता अनलाइन अभियान र ‘स्मार्टफोन फ्री चाइल्डहुड’ जस्ता अभियानबाट प्रेरित भएर नयाँ बजार सिर्जना गरिरहेका छन् ।

पङ्क्त: डिजिटल मिनिमलिज्मको अवधारणा

स्वीस कम्पनी पङ्क्त (Punkt) का संस्थापक पेटर नेबीले सन् २००८ मा यो कम्पनी स्थापना गरेका थिए । उनलाई यो कम्पनी खोल्ने प्रेरणा सन् २००० को दशकमा आफ्नो ब्ल्याकबेरी फोनसँगको सम्बन्धबाट मिलेको थियो । उनी भन्छन्, “म त्यसको लतमा फसिसकेको थिएँ । शनिबारको दिन, तपाईंले आफ्नी श्रीमतीलाई ‘म ढिलो हुन्छु र आइसक्रिम किनेर आउँछु’ भनेर एउटा मेसेज पठाउन खोज्नुभएको हुन्छ । तर अचानक तीन ओटा ईमेल लेखिसक्नुहुन्छ । यो समस्या हो ।”

पङ्क्त (Punkt.) फोन

पङ्क्तको पहिलो फोन एमपी०१ (MP01) सन् २०१५ मा सार्वजनिक भएको थियो । यसमा बटन भएको किप्याड, बलियो डिजाइन, कल र टेक्स्ट मेसेजका साथै क्यालेन्डर र अलार्म जस्ता आधारभूत फिचर थिए । नेबी यसलाई ‘डिजिटल मिनिमलिज्म’ भन्छन् । यसले प्रयोगकर्तालाई स्मार्टफोनबाट एक्कासी पूर्ण रूपमा छुट्कारा पाउन बाध्य पार्नुको सट्टा विकल्प दिनेमा जोड दिन्छ ।

लाइट फोन: ध्यान भंग हुन नदिने फोन

मोबाइल फोन कम्पनी लाइट (Light)का सह-संस्थापक काइवेई ताङका अनुसार यो कम्पनी सन् २०१४ मा गुगलको एक ल्याबबाट सुरु भएको थियो । उनले सीएनएनलाई भने, “समस्या डिभाइस होइन, व्यापारिक मोडेल हो, ‘एटेन्सन इकोनोमी’ हो । हरेक निःशुल्क एप, हरेक सामाजिक सञ्जाल प्लेटफर्मले प्रयोगकर्ताको ध्यान खिचेर उनीहरूको डेटा संकलन गरी विज्ञापनदातालाई बेचेर पैसा कमाउन खोज्छ ।”

लाइट फोन यही ‘एटेन्सन इकोनोमी’ लाई बन्द गर्न डिजाइन गरिएको उनको भनाइ छ । ताङका अनुसार यसमा कुनै विज्ञापन देखिँदैन, कुनै पनि अन्तरक्रियाको स्पष्ट अन्त्य हुन्छ र कहिल्यै नसकिने फिड स्क्रोल गर्नुपर्दैन । यसको प्रयोगकर्ता अनुभवलाई ‘बोरिङ’ बनाउन खोजिएको छ र यसमा ब्ल्याक एन्ड ह्वाइट डिस्प्ले प्रयोग गरिएको छ । 

अनुसन्धानले के देखाएको छ भने ‘ग्रेस्केल (ब्ल्याक एन्ड ह्वाइट) डिस्प्लेले स्क्रिन समय घटाउन मद्दत गर्छ । लाइट फोनले टु फ्याक्टर अथेन्टिकेसन, कन्ट्याक्टलेस पेमेन्ट र एआई असिस्टेन्ट जस्ता फिचर समावेश गर्ने परियोजनामा काम गरिरहेको छ । 

लाइट फोन आईआईआई

ताङ अगाडि भन्छन्, “हामी प्रविधि-विरोधी होइनौं । हामीले स्मार्टफोन-केन्द्रित जीवनशैलीभन्दा फरक जीवनशैलीलाई प्रवर्द्धन गरेका हौं ।” ‘लाइट फोन आईआईआई’ सार्वजनिक भएको केही समयमै विश्वभर एक लाख युनिट बिक्री भएको ताङको दाबी छ । उनका अनुसार महँगो विज्ञापन नगरी प्रिमियम मूल्यमै बिक्री गर्दा यो उपलब्धी हासिल भएको हो ।

किन महँगा छन् यी ‘डम्बफोन ?’

डम्बफोन वा सीमित सुविधा भएका फोन भन्दैमा यी सधैँ सस्ता हुँदैनन् । साना कम्पनीले थोरै संख्यामा उत्पादन गर्दा कच्चा पदार्थ महँगो पर्न जान्छ ।

पङ्क्तको ‘MP02’ को मूल्य २९९ डलर छ भने लाइट फोन (Light Phone III) को मूल्य ६९९ डलर छ । ताङ यो मूल्यलाई सही ठहर्‍याउँदै भन्छन्, “आफ्नो समय र ध्यानका कैयौं घण्टा फिर्ता पाउन ६९९ डलर ठुलो लगानी होइन । यो फोन ५-१० वर्ष टिक्ने गरी बनाइएको छ ।”

एचएमडी (नोकिया): बालबालिकाका लागि नयाँ विकल्प

नोकिया ब्रान्डको स्वामित्व लिएको फिनल्यान्डको एचएमडी ग्लोबलले भने एउटा फरक बाटो अपनाएको छ । उसले नोकिया ३२१० र २६६० फ्लिप जस्ता क्लासिक मोडललाई पुनर्जीवित गरेको छ । सन् २०२२ देखि २०२३ को बीचमा यसको फ्लिप फोनको बिक्री दोब्बर भएको थियो ।

एचएमसीले बालबालिकाका लागि एचएमडी फ्युज (HMD Fuse) नामक नयाँ फोन पनि ल्याएको छ जसलाई अभिभावकले नियन्त्रण गर्न सक्छन् । सुरुमा यो फोन एउटा सामान्य ‘ब्रिक फोन’ जस्तै हुन्छ र बच्चाको उमेर बढ्दै जाँदा अभिभावकले नयाँ सुविधा अनलक गरिदिन सक्छन् । यसमा हार्मब्लक (HarmBlock) नामक एआई सिस्टम छ जसले स्क्रिनमा देखिने नग्नतालाई स्वतः पत्ता लगाएर ब्लक गरिदिन्छ । यसले बच्चाले यौनजन्य तस्बिर खिच्न खोजेमा क्यामेरा बन्द गरिदिन्छ वा ब्राउजरमा त्यस्ता सामग्री देखिएमा त्यसलाई छेकिदिन्छ ।

सीएनएनका अनुसार पङ्क्त र लाइटका सामान्य ग्राहक २० देखि ३० वर्षका युवा छन् । यता एचएमडी फ्युज (HMD Fuse) ले जेन-जी र जेन-अल्फाका प्रयोगकर्तालाई लक्षित गरेको छ । यसले के देखाउँछ भने अब उपभोक्ता फोनबाट के चाहन्छन् भन्ने सोच फराकिलो हुँदैछ ।

के एप्पल वा सामसङ जस्ता ठुला कम्पनीले पनि ‘डम्बफोन’ बनाउलान् ? विश्लेषक वाङका अनुसार यो सम्भव छैन किनभने यो उनीहरूको व्यापारिक मोडेलको ठीक विपरीत छ ।

‘डम्बफोन’ को यो नयाँ लहरले बजारमा ठुलो परिवर्तन नल्याए पनि यसले स्मार्टफोनको लत र डिजिटल जीवनशैलीबारे एउटा महत्वपूर्ण बहस भने अवश्य छेडेको छ । यो प्रवृत्तिले मानिसहरूलाई प्रविधिसँगको आफ्नो सम्बन्धबारे पुनर्विचार गर्न र आफ्नो समय र ध्यानमाथि पुनः नियन्त्रण कायम गर्न एउटा विकल्प दिएको छ।

-सीएनएनको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ २२:५३