close

युवा तथा खेलकुद मन्त्रालय मातहत निकायका सबै बैठक लाइभ गर्न पत्राचार

टेकपाना टेकपाना

कात्तिक १२, २०८२ १७:२४

युवा तथा खेलकुद मन्त्रालय मातहत निकायका सबै बैठक लाइभ गर्न पत्राचार

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आफू अन्तर्गतका निकायहरूलाई बैठकको प्रत्यक्ष प्रसारण गर्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले विभिन्न सात निकायहरूलाई पत्राचार गर्दै हाल उपलब्ध स्रोत साधनको नै प्रयोग गरेर लाइभ गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप), राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एन्टि डोम्पिङ एजेन्सी, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति धनगढीलाई उक्त पत्राचार गरेको छ । मन्त्रालय र मातहतका निकायहरूका प्रशासनिक कार्यहरूमा पारदर्शिता कायम गर्नका लागि प्रत्यक्ष प्रसारण गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहणका क्रममा मन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायका बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्री स्तरीय सोही निर्णयका आधारमा सबै बैठकको प्रत्यक्ष प्रसारण गर्न मातहतका निकायलाई पत्राचार गरिएको हो ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १७:२४