१० दिनमै एनसेलका २० वटा नयाँ टावर सञ्चालनमा, दुई महिनामा थप १७० वटा तयार हुने
कात्तिक १३, २०८२ ११:१५
काठमाडौँ । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्क मार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने छन् ।
सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा फोरजी सेवा थप टावरहरूका साथ सुधार गरिएको जनाएको छ । लामो समयसम्म रोकिएको उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा नयाँ टावर जडानको कामलाई अघि बढाएको उल्लेख छ ।
कम्पनीका अनुसार नयाँ टावरहरू सञ्चालनमा आएसँगै ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ ।
जसअनुसार बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगन्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायणमा नयाँ टावर सञ्चालनमा आएका छन् । त्यसैगरी कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार तथा मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् ।
बागमती प्रदेशको हेटौँडा (मकवानपुर) मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । “हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
“आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ । यसले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आम ग्राहकहरूलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ ।”
यसअघि नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरूका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको उल्लेख छ ।
फोरजी सेवा विस्तार र सुधार योजना अनुसार अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरू जडानका लागि काम भइरहेको एनसेलले जनाएको छ । कम्पनीले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ जेठदेखि फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र कूल जनसङ्ख्याको ९५ प्रतिशत भन्दा बढी जनता माझ यो सेवा पुगेको उल्लेख छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ ११:१५
