close

बोटलमा भेटिए प्रथम विश्व युद्धका अस्ट्रेलियाली सिपाहीका १०० वर्ष पुराना चिट्ठी

टेकपाना टेकपाना

कात्तिक १३, २०८२ १२:१३

बोटलमा भेटिए प्रथम विश्व युद्धका अस्ट्रेलियाली सिपाहीका १०० वर्ष पुराना चिट्ठी

काठमाडौँ । अस्ट्रेलियाको दक्षिण-पश्चिमी तटमा प्रथम विश्व युद्धमा सहभागी हुन गएका दुई अस्ट्रेलियाली सिपाहीहरूले १९१६ मा लेखेका चिट्‍ठीसहितको बोटल शताब्दीभन्दा लामो समयपछि फेला परेको छ । यी चिट्‍ठीमा सिपाहीहरूले फ्रान्सको युद्ध मैदानतर्फको यात्रा सुरु गरेको केही दिनपछिका नोटहरू समावेश छन् ।

कागज भिजेको भए पनि दुवै चिट्‍ठी पढ्न सकिने अवस्थामा थिए । फेला परेपछि ती पत्रहरू सिपाहीका वंशजहरूलाई हस्तान्तरण गरिएको छ, जो यो खोजबाट दङ्ग परेका छन् ।

यो बोटल यसै महिनाको सुरुमा पश्चिमी अस्ट्रेलियाको एस्पेरेन्स नजिकैको दुर्गम ह्वार्टन तटमा स्थानीय बासिन्दा डेब ब्राउन र उनको परिवारले फेला पारेका थिए । डेब ब्राउनले आफ्नो श्रीमान् र छोरीसँग फोहोर उठाउन नियमित क्वाड बाइक यात्रामा जाँदा बालुवामा एउटा बाक्लो सिसाको बोटल देखेको मङ्गलबार बताइन् ।

उनले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई बताए अनुसार उनीहरूले समुद्री तटमा सरसफाईको काम गर्ने हुनाले कुनै पनि फोहोरको टुक्रालाई पार गर्दैनन् । त्यसैले यो सानो बोटल त्यहाँ टिपिने पर्खाइमा थियो ।

दुवै चिट्‍ठी पढ्न सकिने भएपछि ब्राउनले ती सिपाहीका परिवारहरू पत्ता लगाउन सुरु गरेकी थिइन् । सिपाही माल्कम नेभिलले आफ्नो चिट्‍ठीमा आमालाई जहाजमा खाना साच्चिकै राम्रो रहेको र उनीहरू धेरै खुसी रहेको बताएका थिए ।

नेभिलको पत्रमा बोटल फेला पार्ने व्यक्तिलाई यो सन्देश आमालाई पुर्‍याइदिन आग्रह गरिएको थियो । चिट्‍ठी लेखेको केही महिनापछि २८ वर्षको उमेरमा नेभिल युद्धकै क्रममा मारिएका थिए ।

डेब ब्राउनले नेभिलको नाम र उनी बस्ने सहरको ठेगाना प्रयोग गरेर अनलाइन सर्च गरी उनका नाति (ग्रेट-नेफ्यु) हर्बी नेभिललाई पत्ता लगाइन् । हर्बी नेभिलले एबीसी न्यूजलाई यो अनुभव आफ्नो परिवारका लागि अविश्वसनीय रहेको बताए ।

नेभिलकी भान्जी मरियन डेभिसलाई आफ्ना मामा युद्धमा जान हिँडेको र कहिल्यै नफर्केको याद छ । उनी पनि यो खोजबाट प्रभावित भएकी छिन् ।

अर्का सिपाही ३७ वर्षीय प्राइभेट विलियम हार्ले भने युद्धबाट बाँचेर घर फर्किए । उनको सन्देश भने केवल बोटल फेला पार्ने जोसुकैलाई सम्बोधन गरिएको थियो, किनभने उनकी आमाको धेरै वर्ष पहिले नै मृत्यु भइसकेको थियो ।

हार्लेको पत्रमा बोटललाई कतै बाइटमा फालिएको उल्लेख थियो । बाइटले देशको दक्षिणी तटमा रहेको ग्रेट अस्ट्रेलियान बाइटलाई जनाउँछ ।

प्राइभेट हार्लेकी नातिनी एन टर्नर र उनका बाँकी चार नातिनातिनाहरू सन्देशले एकदमै स्तब्ध भएको बताएका छन् । टर्नरले एबीसीलाई भनेकी छिन्, "यो साँच्चै चमत्कार जस्तो महसुस हुन्छ र हामीलाई हाम्रा हजुरबुबाले चिहानबाट हामीसम्म पुग्न खोज्नुभएको जस्तो लाग्छ ।"

टर्नरले अर्का युवाले आमालाई लेख्ने ठाउँ पाएकोमा आफू भावनात्मक भएको बताइन् । जबकि आफ्ना हजुरबुबाले आमा गुमाइसकेकाले त्यो सन्देश बोटल फेला पार्नेलाई लेखेका थिए ।

समुद्र विज्ञानका एक प्रोफेसरले एबीसीलाई बताएअनुसार बोटल ह्वार्टन बिचमा अवतरण हुनुअघि केही हप्ता मात्र पानीमा रहेको हुन सक्छ । जहाँ यो त्यसपछि १०० वर्षसम्म बालुवामा दबिएको हुन सक्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १२:१३