close

दिल्लीमा कृत्रिम वर्षा गराउने भारतका ३ ओटै प्रयास असफल, पौने २ करोड स्वाहा

टेकपाना टेकपाना

कात्तिक १३, २०८२ १५:५६

दिल्लीमा कृत्रिम वर्षा गराउने भारतका ३ ओटै प्रयास असफल, पौने २ करोड स्वाहा

काठमाडौँ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि गरिएको क्लाउड सिडिङ (कृत्रिम वर्षा) को परीक्षण आद्रताको पर्याप्त मात्रा नहुँदा पूर्णतया असफल भएको छ । क्लाउड सिडिङका तीन ओटा परीक्षण सम्पन्न भइसक्दा पनि राजधानीमा कुनै महत्त्वपूर्ण वर्षा हुन नसकेको हो ।

दिल्ली सरकार र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरको टोलीले घना धुवाँले ढाकेको सहर आसपासका विभिन्न क्षेत्रहरूमा क्लाउड सिडिङको परीक्षण गरेको थियो । २३ अक्टोबरमा एक र २८ अक्टोबरमा दुई गरी जम्मा तीन ओटा परीक्षण गरिएका थिए । यो ५३ वर्षमा गरिएको पहिलो प्रयास थियो ।

आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले हावामा आद्रताको कमीका कारण यो प्रयास पूर्णतया सफल नभएको र वर्षा नभएको बताएका छन् । परीक्षणका क्रममा बादलमा आद्रताको मात्रा निकै कम, केवल १० देखि १५% देखि १५ देखि २०% मात्र थियो ।

सफल क्लाउड सिडिङबाट वर्षा गराउनका लागि न्यूनतम ५० देखि ६०% आर्द्रता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडो महिनाहरूमा दिल्ली सामान्यतया धेरै सुक्खा हुन्छ र पश्चिमी अवरोधले मात्र आर्द्रतायुक्त बादल ल्याउने हुनाले जाडोमा वर्षा गराउन सक्ने आर्द्रतायुक्त बादल पाउनु निकै दुर्लभ हुन्छ ।

वर्षा नभए तापनि क्लाउड सिडिङ निकै महँगो साबित भएको छ । २८ अक्टोबरमा ३०० वर्ग किलोमिटर क्षेत्रमा गरिएका दुई परीक्षणको कूल लागत करिब ६० लाख भारु थियो ।

जाडोयाममा ९ ओटासम्म परीक्षण गर्नका लागि दिल्ली सरकारले ३ करोड २१ लाख भारु बजेट छुट्याएको थियो ।

एक करोड सात लाख भारु (एक करोड ७१ लाख २० हजार रुपैयाँ) खर्चमा तीन परीक्षण पूरा हुँदा अहिलेसम्म दिल्लीले एक थोपा पानी पनि देख्न पाएको छैन । आईआईटी कानपुरका निर्देशक अग्रवालले हाल प्रति प्रयास लागत उच्च हुनुको कारण कानपुर र दिल्ली (करिब ४०० किलोमिटर टाढा) बीचको उडानका लागि लाग्ने निश्चित खर्चहरू, जस्तै विमान मर्मत सम्भार, पाइलट शुल्क र उच्च इन्धन लागत रहेको बताएका छन् ।

यद्यपि उनले परीक्षणहरू पूरै जाडो मौसममा गरिएमा करिब २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरे । जुन दिल्लीको समग्र प्रदूषण नियन्त्रण बजेट (करिब ३०० करोड रुपैयाँ) को सन्दर्भमा धेरै ठुलो रकम नभएको उनको भनाई छ ।

अधिकारीहरूले परीक्षणका लागि एउटा सेस्ना विमान प्रयोग गरेका थिए । विमानबाट वातावरणमा सिल्भर आयोडाइड (silver iodide) र सोडियम क्लोराइड (sodium chloride) युक्त फ्लेयरहरू छाडिएका थिए । क्लाउड सिडिङले बादलमा रहेका आद्रतालाई सघन गराए वर्षा गराउन सहयोग पुर्‍याउँछ ।

वर्षा नभए पनि आईआईटी कानपुरले मङ्गलबारको प्रयोगपछि कणिकीय पदार्थ (particulate matter) मा मापनयोग्य कमी आएको दाबी गरेको छ । यसले सीमित आद्रताको अवस्थामा पनि क्लाउड सिडिङले वायुको गुणस्तर सुधार गर्न योगदान दिन सक्ने सङ्केत गरेको संस्थानले बताएको छ । दिल्लीका अधिकारीहरूले यस परीक्षणलाई आंशिक सफलता भनिरहेका छन् ।

विज्ञहरूले क्लाउड सिडिङलाई दीर्घकालीन प्रदूषण नियन्त्रण उपायको रूपमा प्रभावकारी हुनेमा शङ्का व्यक्त गरेका छन् । आईआईटी कानपुरका निर्देशक अग्रवालले पनि क्लाउड सिडिङ दिल्लीको दीर्घकालीन प्रदूषण समस्याको समाधान हुन नसक्ने स्वीकार गरेका छन् । उनले यसलाई चरम अवस्थामा मात्र प्रयोग गरिने एसओएस समाधान भनेका छन् ।

जलवायु परिवर्तन सम्बन्धी विशेषज्ञहरूले क्लाउड सिडिङबाट वायु गुणस्तर सूचकाङ्क (AQI) कति कम गर्न सकिन्छ भन्नेबारे पर्याप्त आनुभविक प्रमाण नभएको बताएका छन् ।

पर्यावरणविद्हरूले क्लाउड सिडिङलाई शासनको नाममा एउटा तमासा भन्दै आलोचना गरेका छन् । जसले प्रति पटक १५ करोड रुपैयाँ खर्च गरेर प्रदूषणलाई एक वा दुई दिनका लागि मात्रै कम गर्न सक्ने बताएका छन् ।

विशेषज्ञहरूले वास्तविक वा कृत्रिम वर्षाले केवल समय किन्न मात्रै सक्ने र वास्तविक समाधान जमिनबाट सुरु हुनुपर्ने चेतावनी दिएका छन् । दिल्लीमा सन् १९५७ र १९७२ मा पनि क्लाउड सिडिङको परीक्षण गरिएको थियो, तर ती प्रयासहरू खडेरी व्यवस्थापनका लागि लक्षित थिए । प्रदूषण नियन्त्रणका लागि गरिएको भारतको यो पहिलो प्रयास हो ।

दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिरसाले बादलमा आद्रताको स्तर फेरि बढेपछि आगामी हप्ताहरूमा परीक्षण दोहोर्‍याइने सम्भावना रहेको बताएका छन् । गत वर्ष दुबईमा कृत्रिम वर्षा गराउँदा डुबानको अवस्था सिर्जना भएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १५:५६