काठमाडौँ । क्रियटरको सुरक्षाका लागि टिकटकमा नयाँ फिचर आएको छ । कमेन्ट सेक्सन र लाइभ च्याटका क्रममा आउने अश्लील, अपाच्य र दुर्व्यवहारयुक्त कमेन्ट हटाउन टिकटकले ‘क्रियटर केयर मोड’ फिचर सुरु गरेको हो ।
कम्पनीका अनुसार यो फिचर एक्टिभेट गरिसकेपछि क्रियटरले पहिले नै रिपोर्ट गरेका वा हटाइएका कमेन्टका आधारमा अर्को पटक आउने त्यस्ता अपमानजनक, धम्कीपूर्ण र अभद्र कमेन्ट टिकटकले आफैँ हाइड गरिदिन्छ ।
“यसले क्रियटरको कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस फिचरले क्रियटरलाई कस्ता कमेन्ट मन पर्दैनन् भन्ने विश्लेषण गर्छ र उनीहरूका लागि सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्छ ।”
कम्पनीका अनुसार लाइभ स्ट्रिमर टिकटकरका लागि लाइभ म्युटिङ टुललाई पनि स्तरीय बनाएको छ । यससँगै अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्य वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्युट वा ब्लक गर्न सक्छन् । यस टुलमा क्रियटरले आफूलाई अनुपयुक्त लाग्ने शब्द, वाक्य वा ईमोजी राख्न सक्छन् । यसले गर्दा अर्को पटक च्याटमा कसैले यस्तो कमेन्ट गर्नासाथ उक्त कमेन्ट हाइड हुन्छ ।
यससँगै टिकटकले कन्टेन्ट चेक लाइट टुल पनि उपलब्ध गराएको छ । यो त्यस्तो टुल हो, जसले क्रियटरलाई आफ्नो भिडिओ फर यु पेजमा जाँदा समस्या पर्छ कि पर्दैन भन्ने पहिले नै जाँच गर्न गर्छन् । त्यसबेला केही समस्या देखियो भने क्रियटरले समस्या समाधान गरेर भिडिओ पुनः अपलोड गर्न सक्छन् ।
यसैगरी टिकटकमा क्रियटर इनबक्सको सुविधा पनि उपलब्ध भएको छ । यससँगै क्रियटरले आफ्ना समर्थक वा अडियन्सलाई डिफल्ट मेसेज पठाउन सक्छन् । त्यसबाहेक अनरिड वा स्टार गरिएका मेसेजका लागि पनि टिकटकले छुट्टै फोल्डर उपलब्ध गराएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ १३:९
