close

अब हाम्रो पात्रोमा बुक गरेर घरमै इन्फ्लुएन्जा खोप लगाउन सकिने

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ ९:५०

अब हाम्रो पात्रोमा बुक गरेर घरमै इन्फ्लुएन्जा खोप लगाउन सकिने

काठमाडौँ । हाम्रो पात्रोले प्रयोगकर्ताको घरमै इन्फ्लुएन्जा खोप दिने सेवाको सुरुवात गरेको छ । नेपालकै लोकप्रिय मोबाइल एपले प्रमाणित स्वास्थ्यकर्मीबाट सुरक्षित रूपमा घरमै खोप उपलब्ध गराउन यसको सुरुवात गरेको हो ।

हाम्रो पात्रोका अनुसार यो सेवा सर्वोनिदान क्लिनिक प्रालिसँगको सकार्य र समन्वयमा सञ्चालन हुनेछ । प्रयोगकर्तालाई थप व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको उल्लेख छ ।

हाम्रो पात्रोले लामो समदेखि विशेषज्ञ डाक्टरहरूलाई आबद्ध गरेर अडियो तथा भिडिओ कल मार्फत प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवा पर्दान गर्दै आइरहेको छ । “हाम्रो प्राथमिकता नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु हो । घरमै खोप सेवा सुरु गर्नु हाम्रो यही यात्राको अर्को महत्त्वपूर्ण कदम हो,” हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले भनेकी छिन् ।

“सर्वोनिदान क्लिनिकसँगको समन्वयले सेवा अझ सुरक्षित र चिकित्सकीय रूपमा व्यवस्थित बन्न मद्दत गरेको छ।”

जाडो याम सुरु भएसँगै फ्लु सङ्क्रमणको जोखिम बढ्ने भएकाले बृद्ध-बृद्धा, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका संवेदनशील  व्यक्तिहरूका लागि समयमै खोप लगाउनु लाभदायक हुन्छ । तर अस्पताल वा क्लिनिक जान नसक्ने धेरै परिवारका लागि खोपको पहुँच चुनौतीपूर्ण छ ।

हाम्रो पात्रोको 'घरमै खोप सेवा'ले सुरक्षित, छिटो, भरपर्दो सेवा प्रदान गरेर इच्छुक प्रयोगकर्ताहरूको यस समस्यालाई समाधान गर्छ । प्रयोगकर्ताले हाम्रो पात्रो एपमार्फत खोप सेवा सहजै बुक गर्न सक्नेछन् ।

 

कसरी प्राप्त गर्ने सेवा ?


सबैभन्दा पहिला हाम्रो पात्रो एप खोलेर होमपेजमा भएको 'Vaccine at Home' लेखेको ठाउँमा क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो नाम, फोन नम्बर र ठेगाना भर्नुहोस् । यति गरेर खोप लगाउन चाहने समय छानेपछि प्रमाणित नर्स/ स्वास्थ्यकर्मी तपाईँको घरमै आउने हाम्रो पात्रोले जनाएको छ ।

सेवा सम्पूर्ण रूपमा सुरक्षित र विश्वसनीय रहेको भन्दै हाम्रो पात्रोले आश्वस्त हुन आग्रह गरेको छ । खोप कसले लगाउन मिल्छ, कसलाई नलगाउनु राम्रो, साइड इफेक्ट, सम्पर्क आदि जस्ता महत्त्वपूर्ण जानकारी एपमा स्पष्ट रूपमा राखिएको छ । घरमै सेवा लिँदा खोपका लागि ३ हजार ९०० रुपैयाँ शुल्क तिर्नुपर्ने हाम्रो पात्रोले जनाएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ ९:५२