एमएडब्लूले सञ्चालनमा ल्यायो १४० सीसीएस२ फास्ट चार्जिङ स्टेसन, यसै वर्ष अरू १०० स्टेसन थपिने
कात्तिक २३, २०८२ १३:४०
काठमाडौँ । एमएडब्लू वृद्धिले नेपालभर १४० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कम्पनीले फराकिलो पूर्वाधार तयार पारेको हो ।
कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी सीसीएस२ फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ । जसले ईभी धनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउनेछ ।
आफ्नो चार्जिङ नेटवर्कले देशका प्रमुख सहरी केन्द्र, क्षेत्रीय सहरहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको कम्पनीले जनाएको छ । जसले ईभी प्रयोगकर्ताको यात्रा झन्झट मुक्त र निश्चिन्त बनाउन सहयोग पुर्याएको छ ।
चार्जिङ स्टेसनहरूमा धेरै ब्रान्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएस २ चार्जरहरू छन्। यी स्टेसनहरू पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटकीय मार्ग र नाका क्षेत्रजस्ता रणनीतिक स्थानमा राखिएका छन् । जसले २४ सै घण्टा सातै दिन पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्ने बताइएको छ ।
सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेसनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले रियल टाइम निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ । ग्राहकहरूले एमएडब्लू स्पिड चार्जर्स एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेसन सजिलै पत्ता लगाउन सक्छन् ।
बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज प्रति आत्मविश्वासी बनाउन र व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ताबिच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्छ । निरन्तर विस्तार भइरहेको यो पूर्वाधार नेपालकै सबैभन्दा ठुलो र भरपर्दो ईभी चार्जिङ नेटवर्कको रूपमा निर्माण गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।
एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदीले देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिङ स्टेसन मार्फत नेपालको ईभी विकासमा योगदान दिन पाउनु गर्वको विषय भएको बताए । “हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो,” उनले भने ।
यो अभियान नेपाल सरकारले अघि सारेको ईभी प्रवर्धन लक्ष्य र दिगो यातायात विकास सम्बन्धी योजनासँग निकट छ । भरपर्दो ईभी चार्जिङ पूर्वाधारमा लगानी गरेर एमएडब्लू वृद्धिले इको-फ्रेन्ड्ली मोबिलिटीलाई सशक्त बनाउँदै नेपाललाई ग्रिन र स्मार्ट भविष्यतर्फ अघि बढाइरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १३:४१
