काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पनि ‘पावर्ड बाइ पार्टनर’ को रूपमा जोडिएको मोबाइल सेवाप्रदायक एनसेलले गत वर्ष सुरु गरेको शिक्षासम्बन्धी पहललाई निरन्तरता दिने भएको छ । भोलि सोमबारदेखि सुरु हुने प्रतियोगिताको रोमाञ्चकतालाई शैक्षिक सुधारसँग जोड्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनमार्फत उक्त कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिएको हो ।
यसअनुसार एनपीएल सिजनमा प्रत्येक चौका (4s) प्रहार भएबापत सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार ओटा शैक्षिक किट उपलब्ध गराइनेछ । यो पहलले स्रोतसाधन सीमित भएका, तर असीमित सपना बोकेका विद्यार्थीहरूको कक्षाकोठालाई मजबुत बनाउन आफ्नो प्रतिबद्धतालाई बल पुर्याएको एनसेलको भनाइ छ ।
गत वर्षको एनपीएल सिजनमा हानिएका ६५३ चौका वापत एनसेलले २,६०० बढी शैक्षिक सामग्री वितरण गरेको थियो ।
शैक्षिक सामग्रीको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने फाउन्डेसनले जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १३:१२
