१७ वर्षका २ किशोरले बनाए आँखा नदेख्नेलाई आवाजबाटै वरिपरिको दृश्यबारे बताउने चस्मा
मंसिर १, २०८२ ७:१३
काठमाडौँ । कक्षा १२ मा अध्ययनरत १७ वर्षका दुई किशोरले दृष्टिविहीन व्यक्तिले आवाजको माध्यमबाट आफ्नो वरपरको दृश्यको बारेमा जानकारी लिन सक्ने प्रविधि बनाएका छन् । रातो बङ्गला स्कुलमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत लाराक याकथुम्बा र शालीन अधिकारीले ‘भक्स भिजन’ नामक प्रविधि तयार पारेका हुन् ।
यो प्रविधि दृष्टिविहीन तथा दृश्य क्षमता कमजोर भएका व्यक्तिहरूलाई वरपरको वातावरणको बारेमा बुझ्न र सोही अनुसार क्रियाकलाप गर्न सघाउने उद्देश्यले बनाइएको हो । यसका लागि बिच भागमा क्यामेरा जडान गरिएको चस्मा तयार पारिएको छ ।
सो चस्मा लगाएपछि चस्मालाई ‘अगाडि भएको वस्तु के हो’ भनेर सोध्नुपर्छ । त्यसपछि चस्मामा भएको क्यामेरा ब्लुटुथ हुँदै स्पिकरमा कनेक्ट भएर आवाजमार्फत अगाडि भएको वस्तुको बारेमा आवाजमा जानकारी दिन्छ ।
तर क्यामेराले जुनसुकै समयमा पनि खिच्ने काम भने नगर्ने लाराक बताउँछन् । उनी भन्छन्, “यसलाई सुरु गर्न भन्दा अगाडि ‘स्टार्ड रेकर्डिङ’ भन्नु पर्छ । त्यसपछि ‘मेरो अगाडि के छ?’ भनेर सोध्नुपर्छ । त्यसपछि ‘स्टप रेकर्डिङ’ भनेर रेकर्डिङ गर्न रोकेपछि मात्र यसले जवाफ दिन्छ ।”
रेकर्डिङपछि स्पिकरमार्फत चस्माले खिचेको दृश्यको बारेमा आवाज निकालेर जानकारी दिन्छ । अङ्ग्रेजी, नेपालीसहित विभिन्न भाषाहरूको प्रयोगबाट निर्देशन दिन सक्ने गरि प्रणाली तयार पारिएको उनी बताउँछन् ।
चस्मामा भएको क्यामेरा अगाडि स्थिर वस्तु भएमा राम्रो गुणस्तरको र चलायमान भएमा कम क्वालिटिको तस्बिर क्यामेराले खिच्ने उनले सुनाए । उनले थपे, “थोरै समयलाई मात्र खिच्ने निर्देशन दियो भने जवाफ दिन चार पाँच सेकेन्ड लगाउँछ । तर जति लामो प्रम्प्ट छ, नतिजा दिन त्यति नै समय लगाउँछ ।”
हाल भक्स भिजनले स्टार्टअप कम्पनीहरूलाई प्रदान गरिने आईसीटी अवार्डको राइजिङ विधामा प्रतिस्पर्धा गरिरहेको छ । जहाँ यो प्रविधिलाई डेमोको रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएको डेमोमा चस्माको बिच भागमा क्यामेरा र त्यसलाई ब्लुटुथमार्फत कनेक्ट गरिएको छ । उक्त ब्लुटुथ डिभाइस स्पिकरसँग कनेक्ट गरेर आवाज निकाल्ने गरि यसलाई तयार पारिएको छ ।
भविष्यमा भने यो प्रणालीलाई मोबाइल र एयरबडमा नै इन्ट्रिगेट गर्ने योजना रहेको उनले बताए । भोइस लकको सुविधा समेत राखेर चस्मा लगाइरहेको व्यक्तिले दिएको निर्देशनलाई मात्र रेकर्ड गर्ने बनाउने योजना उनीहरूले सुनाए ।
ह्याकाथनबाट सुरु भएको आइडिया
भक्स भिजनको यात्रा सुरु भएको भने लामो समय भएको छैन । गत ३ देखि ५ अगस्टसम्म काठमाडौँ विश्वविद्यालयमा वर्ल्ड युथ फेस्ट ह्याकाथनमा सञ्चालन भएको ४८ घण्टे ह्याकाथनमा यो प्रणाली तयार पारिएको हो । तर फन्डिङको समस्या भन्दै ह्याकाथन २४ घण्टामा नै स्थगित भएको शालीन अधिकारीले बताए ।
उनले भने, “ह्याकाथन बिचैमा रोकियो । विजेताहरू छुट्याउने काम केही पनि भएन । तर हामीले २४ घण्टामा नै प्रोजेक्ट तयार पारिसकेका थियौँ ।”
अन्य ह्याकाथनमा श्रव्य क्षमता कमजोर भएका व्यक्तिहरूका लागि तयार पारिएको परियोजनाबाट प्रेरित भएर सो प्रविधि बनाइएको उनले सुनाए । उनले, “एउटा ह्याकाथनमा बहिरा मान्छेहरूको लागि वरिपरिका सबै आवाजहरू स्क्रिनमा देखाउने डिभाइस बनाएको देखेका थियौँ । त्यहीँबाट प्रेरित भएर हामीले आँखा नदेख्नेहरूका लागि यो परियोजना तयार पारेका हौँ ।”
तर ह्याकाथनपछि कक्षा १२ को आन्तरिक परीक्षाको तयारीमा लाग्नु परेकाले भक्स भिजनलाई तयार पार्न धेरै समय दिन नसकेको उनीहरू बताउँछन् । हाल भने सोही ह्याकाथनमा तयार पारिरहेको प्रोजेक्टलाई नै केही परिवर्तन गरेर उनीहरूले आईसीटी अवार्ड २०२५ का लागि राइजिङ स्टार अवार्डका लागि आफ्नो नाम दर्ता गराएका हुन् । अहिले उनीहरू आफ्नो विधाबाट उत्कृष्ट १२ मा छनोट भएका छन् ।
भक्स भिजनको प्रविधिमा ईएसपी ३२ मिनिकन्ट्रोलर सहित क्यामेरा राखिएको छ । यो मोड्युललाई पावर दिन कन्ट्रोलर राखिएको छ । क्यामेराले खिचेको तस्बिरलाई प्रोसेस गर्ने, पहिचान गर्ने लगायतका कामका लागि पाइथनबाट कोडिङ गरिएको छ भने फ्रन्ट एन्डमा एचटीएमएल, सीएसएस र जाभा स्क्रिप्ट प्रयोग गरिएको छ ।
भक्स भिजनलाई वास्तविक जीवनमा नै प्रयोगमा ल्याउन चस्मा र मोबाइललाई ब्लुटुथबाट एक अर्कासँग सोझै जोड्न सकिने शालीनले बताए । साथै, ब्लुटुथ एयरफोन/एयरबड मार्फत मोबाइल आफूसँग नभएको समयमा पनि चस्मालाई सिधै कनेक्ट गर्न मिल्ने बनाउन सकिने उनको भनाई छ ।
यो प्रोजेक्टलाई भविष्यमा व्यावसायिक रूपमा पनि लाने योजना उनीहरूको छ । तर, हाल भने पढाइमा नै बढी ध्यान दिँदै प्रोजेक्टमा सुधार गर्दै लैजाने उनीहरूले बताए ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ ७:१६
