काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो आधिकारिक टिकटक अकाउन्ट खोलेकी छन् । सोमबारदेखि प्रधानमन्त्री कार्कीको टिकटक आईडी सञ्चालनमा आएको उनको सचिवालयले जनाएको हो ।
नक्कली अकाउन्टको बिगबिगी भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट सार्वजनिक गरेको थियो । जसअनुसार प्रधानमन्त्री कार्यालयले कार्कीको एक्स, फेसबुक र इन्स्टाग्राम अकाउन्ट यसअघि नै सञ्चालनमा ल्याइसकेको छ ।
अब भने प्रधानमन्त्री कार्कीको आधिकारिक टिकटक एकाउन्ट पनि थपिएको छ । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्कीको टिकटक एकाउन्टमा १० वटा भिडिओसहितका पोस्ट अपलोड गरिएका छन् ।
नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा प्रधानमन्त्री कार्कीको साप्ताहिक कार्य-प्रगति विवरण, प्रधानमन्त्रीको डायरी आदि भिडिओ अपलोड गरिएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) र नयाँ मतदाता नामावली दर्तासम्बन्धी भिडिओ पनि प्रधानमन्त्री कार्कीको टिकटक एकाउन्टबाट पोस्ट गरिएका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १३:३२
