आईपीओ ल्याउने भन्दै पब्लिक बनेको इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कको लाइसेन्स खारेज
मंसिर २, २०८२ ११:५५
काठमाडौँ । कम्पनी सञ्चालन गर्न नसकेको भन्दै सरेन्डर गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्क्सले पाएको दुईवटा लाइसेन्स नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । लुप नेटवर्क्सले पाएको इन्टरनेट (ईमेलसहित) र नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राधिकरणले खारेज गरिदिएको हो ।
गत वर्ष २०८१ कै ३० कात्तिकदेखि लागु हुने गरि प्राधिकरणले लुप नेटवर्क्सको इन्टरनेट (ईमेलसहित) र नेटवर्क सेवा प्रदायक दुवै लाइसेन्स खारेज गरेको जनाइएको छ । प्राधिकरणले २ साउन २०७३ मा लुप नेटवर्क्सलाई इन्टरनेट सेवा सञ्चालनको लाइसेन्स दिएको थियो । यस्तै, सो कम्पनीले ४ साउन २०७९ मा नेटवर्क सेवा प्रदायकको अर्को लाइसेन्स पनि पाएको थियो ।
प्राधिकरणकाअनुसार उक्त कम्पनीले गत वर्ष नै कम्पनी सञ्चालन गर्न नसक्ने ब्यहोरासहितको निवेदन पेस गरेको थियो । उक्त कम्पनीले तिर्नुपर्ने वा बुझाउनुपर्ने रकमको सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नुपर्नेछ । प्राधिकरणका अनुसार उक्त कम्पनीले बुझाउनुपर्ने बक्यौता बाँकी छैन । केही बाँकी रहे ३० दिनभित्र राफसाफ गर्नका लागि प्राधिकरणको सम्पर्कमा आउन अनुरोध गरिएको छ ।
सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने योजनासहित लुप नेटवर्क्स पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । तर, सञ्चालन हुनै नसकेपछि लाइसेन्स नै खारेज भएको हो ।
कम्पनी सञ्चालन हुँदासम्म फाइबर र वायरलेस गरेर लुप नेटवर्कमा १० हजारभन्दा कम ग्राहक थिए । कम्पनीको आधिकारिक फेसबुक पेजमा २१ डिसेम्बर २०२२ देखि कुनै पोस्ट राखिएको छैन ।
विभिन्न अफर भन्दै कम्पनीले १३ प्रतिशत भ्याटबाहेक मासिक ५५० रुपैयाँमा २५ एमबीपीएस इन्टरनेटसमेत बिक्री गरेको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ ११:५९
